काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दायर रिट दर्ता गर्न नमानेपछि कानून व्यवसायी (वकील)हरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सत्य र न्यायको खोजीका लागि भन्दै वकीलहरूले अदालत परिसरमै रहेको नेपाल बार एशोसिएशनको कार्यालयमा प्रदर्शन गरेका हुन् ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध दायर रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि हिजो (सोमबार) कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ती सबै रिट दर्ता गर्न आदेश दिएकी थिइन् । तर, अदालत प्रशासनले रिट दर्ता गरेको छैन ।
सर्वोच्च न्यायालयमा देखिएको पछिल्लो संस्थागत द्वन्द्व र तनावको विरोधमा वकीलहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन् । वकीलहरूको छाता संस्था बार एशोसिएशनले सोमबार नै बैठक राखेर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।
सर्वोच्च परिसरमा बारले प्रदर्शन गरिरहँदा सिंहदरबारमा प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ जारी छ । बारले प्रधानन्यायाधीश सिफारिसमा संस्थागत विरोध गरिररहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा संवैधानिक परिषद् बैठकबाट शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । शर्माले अन्य न्यायाधीशले भन्दा बढी मुद्दा फर्स्योट गरेको प्रधानमन्त्री शाहले दाबी गरेका थिए ।


