बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

जस नेपाल

१५ जेठ २०८३

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ लागि नेपालको बजेट सार्वजनिक गर्दैछन्‌ । वार्षिक बजेटसँगै सङ्घीय संसद्‌मा सरकारका तर्फबाट अर्थमन्त्री डा. वाग्लेले विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पनि पेश गर्दैछन्‌ ।

कुनै एक आर्थिक वर्षमा सरकारले गर्ने अनुमानित आम्दानी र खर्चको विस्तृत कानूनी विवरण नै बजेट हो । देशको मूल कानून (संविधान) र सम्बन्धित ऐनकानूनको अधीनमा रही ल्याउनुपर्ने भएकाले बजेटलाई कानूनी विवरण भनिएको हो ।

एक वर्षका लागि देश चलाउन आर्थिक जोहो गर्ने अर्थात्‌; कहाँको स्रोत (पैसा) कहाँ खर्च गर्ने भनी सरकारले तयार पार्ने गुरुयोजनालाई बजेट भनिन्छ । बजेटमा धेरैजसो अङ्कहरू प्रयोग भए पनि यसलाई सरकारको नीति तथा कार्यक्रम, प्राथमिकता र राजनीतिक परिवर्तनप्रतिको रुझान देखाउने ऐना मानिन्छ ।

बजेट ल्याउँदा सरकारले आम्दानी र खर्चको अनुमान गर्छ । त्यसैले यसलाई आय-व्ययको अनुमान पनि भनिन्छ । बजेट पुस्तिकाको अन्त्यमा आय-व्ययको विवरण समावेश भएको अनुसूची नै हुन्छ ।

आम्दानीको अनुमानतर्फ सरकारले देश चलाउन आवश्यक पैसा कहाँबाट जुटाउँदैछ भन्ने विवरण राख्छ । नागरिक र व्यवसायबाट उठाइने कर र सरकारी सेवा शुल्क तथा जरिवाना लगायत गैरकर बजेटको मुख्य स्रोत हो । वैदेशिक ऋण र अनुदान पनि सम्बन्धित आर्थिक वर्षमा राज्यका लागि आम्दानीका स्रोत हुन्‌ ।

आम्दानीको जोहो अनुमान गरेपछि सरकारले खर्चलाई तीन भागमा छुट्याउँछ । राज्य सञ्चालनका लागि गर्नुपर्ने नियमित खर्चलाई चालु खर्च भनिन्छ । यसमा कर्मचारीलाई दिनुपर्ने तलब, सामाजिक सुरक्षा खर्च र कार्यालय सञ्चालन खर्च लगायत पर्छन्‌ ।

देशमा विकास निर्माण र स्थायी सम्पत्ति सिर्जना गर्न गरिने खर्च पुँजीगत खर्च हो । राज्यले गर्ने बाटोघाटो, पुल, जलविद्युत आयोजना, र अस्पताल निर्माण लगायत काममा पुँजीगत खर्च हुने गर्छ । राज्यले विगतमा लिएको ऋणको सावाँब्याज फिर्ता गर्न वित्तीय व्यवस्था अन्तर्गत खर्च गर्छ ।

सामान्यतयाः आर्थिक स्थिरता कायम गर्न, साधन स्रोतको न्यायोचित वितरण गर्न, रोजगारी र आर्थिक वृद्धि गर्न र पारदर्शीतारजवाफदेहिता कायम गर्नु बजेटको मुख्य उद्देश्य हुने गर्छ । यसरी; सरकारले देशको ढुकुटीमा पैसा भित्र्याउने र त्यसलाई देशको विकास र नागरिकको हितका लागि खर्च गर्ने कानूनी र योजनाबद्ध खाका नै बजेट हो ।

बजेटको इतिहास

नेपालले पहिलो बजेट घोषणा गरेको ७५ वर्ष पुगिसकेको छ । राजनीतिक अस्थिरता, संसद्‌ अवरोध या सरकार परिवर्तन लगायत कारण बजेट पारित हुन नसकेर कहिलेकाहीँ सरकारले खर्च गर्न नसक्ने स्थिति (बजेट होलिडे) निम्तिए पनि बजेट नै नल्याइएको आर्थिक वर्ष भने छैन ।

संसारमा सबैभन्दा पहिले आधुनिक र ‍औपचारिक बजेट बेलायतले सन्‌ १७६० मा ल्याएको हो । बेलायतले नै संसद्‌बाट स्वीकृत गराएर मात्र कर उठाउनेगरी बजेटको प्रारम्भिक सिद्धान्त त्यसअघि १६८९ मै ‘बिल अफ राइट्स’ ल्याएर सुरु गरेको थियो ।

बेलायतको सिको गर्दै फ्रान्सले सन् १८१७ र अमेरिकाले सन् १९२१ मा पहिलो सङ्घीय बजेट प्रणाली लागू गरेका थिए । ‘बजेट’ शब्द त फ्रान्सबाटै उत्पत्ति भएको थियो । सन् १७३३ मा त्यहाँका अर्थमन्त्री सर रोबर्ट वालपोलले संसद्‌मा वित्तीय प्रस्ताव निकाल्दा ठट्टा गर्दै मानिसहरूले ‘द बुजेट ओपन्डू’ (झोला खुल्यो) भनेका थिए ।

बुजेटको अर्थ छालाको सानो झोला वा थैली भन्ने हुन्छ । त्यहीँबाट सुरु भएको ‘बुजेट’ शब्द अर्थशास्त्री र जनमानसको जिब्रोमा झुण्डिँदै ‘बजेट’का रूपमा स्थापित भयो । एक्काइसौँ शताब्दीको पहिलो चौथाई अवधि सकिँदासम्म हाल सबैजसो मुलुकले वार्षिक बजेट ल्याइरहेका छन्‌ । संयुक्त राष्ट्रसङ्घका सबै सदस्य देशमा राज्य सङ्कलन गर्न र खर्चनका लागि कानूनी रूपमै बजेट तयार पार्ने र पारित गर्ने अनिवार्य व्यवस्था छ ।

फरक सत्ताअभ्यास गरिरहेका उत्तर कोरिया, भ्याटिकन सिटी, साउदी अरेबिया र ब्रुनाईले पनि वार्षिक बजेट ल्याउने गरेका छन्‌ । तर, ती देशहरूमा आधुनिक खाकाकै बजेट सार्वजनिक भने गरिँदैछ । कतै नेता वा राजाको आदेशरघोषणा बमोजिम त कतै धार्मिक इकाइले आयव्ययको विवरण कार्यान्वयन गर्ने गर्छ ।

नेपालमा कानूनी व्यवस्था

नेपालमा बजेट निर्माण, प्रस्तुति र कार्यान्वयन व्यवस्थित गर्न आवश्यक संवैधानिक र कानूनी व्यवस्थाहरू छन् । देश संघीय संरचनामा गएसँगै अहिले संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहले नै बजेट ल्याउने कानूनी आधारहरू तय गरिएको छ ।

नेपालको संविधानको भाग १०, भाग १६ र भाग १९ मा क्रमशः संघ, प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणालीबारे स्पष्ट व्यवस्था गरिएको छ । भाग १० मा सङ्घीय आर्थिक कार्यप्रणालीबारे उल्लेख छ । यस भागमा सरकारले बजेट पेश गर्न निश्चित मिति नै तोकिएको छ ।

धारा ११९ (३) मा नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्रौँ दिन (जेठ १५ गते) संघीय संसद्‌मा पेश गर्ने लेखिएको छ ।

संवैधानिक प्रावधानहरूलाई प्रशासनिक र प्राविधिक रूपमा कार्यान्वयन गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ कार्यान्वयनमा छ । यो ऐन बजेट निर्माण र खर्चको मुख्य कानूनी मार्गदर्शक ऐन हो । यसले मध्यमकालीन खर्च संरचना तयार पार्नुपर्ने, बजेटको सीमा तोक्नुपर्ने र खर्चको पारदर्शिता कायम गर्नुपर्ने कानूनी दायित्व अर्थ मन्त्रालय र सम्बद्ध निकायहरूलाई दिएको छ ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम नेपालले हाल संघीयतामा तीन तहका सरकारबीच राजस्व कसरी बाँडफाँड गर्ने, प्राकृतिक स्रोतको रोयल्टी कसरी बाँड्ने, र संघले प्रदेश तथा स्थानीय तहलाई दिने चार प्रकारका वित्तीय अनुदानहरू (समपूरक, सशर्त, विशेष र वित्तीय समानीकरण) को आधार के हुने भनी निर्धारण गर्ने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह (गाउँपालिका र नगरपालिका) ले बजेट बनाउँदा पालना गर्नुपर्ने सात चरणहरू (बजेट तर्जुमा प्रक्रिया) र असार १० भित्र सभामा पेश गरी असार मसान्तभित्र पास गरिसक्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

तीन विधेयक

बजेट भाषणसँगै नेपाल सरकारका अर्थमन्त्रीले प्रतिनिधि सभामा विभिन्न तीन विधेयक सार्वजनिक गर्ने गर्छन्‌ । बजेटलाई कानूनी रूप दिन र सरकारलाई आम्दानी तथा खर्च गर्ने वैधानिक अधिकार दिलाउन यी तीनवटै विधेयकहरू अनिवार्य हुन्‌ ।

१. विनियोजन विधेयक : यो बजेटको सबैभन्दा मुख्य कानूनी पाटो हो । सरकारले आगामी आर्थिक वर्षमा कुन मन्त्रालय, विभाग वा आयोजनाका लागि कति रकम खर्च गर्ने हो, त्यसको विस्तृत विवरण यसमा हुन्छ । संसद्‌ले यो विधेयक पारित गरेपछि मात्र सरकारलाई राज्यकोष (सञ्चित कोष)बाट पैसा झिकेर खर्च गर्ने कानूनी अधिकार प्राप्त हुन्छ ।

२. आर्थिक विधेयक : सरकारले आगामी वर्ष कुन-कुन क्षेत्रबाट कति राजस्व संकलन गर्ने, कर का दरहरू के-कति बढाउने वा घटाउने, र भन्सार महशुल कसरी हेरफेर गर्ने भन्ने विवरण यस विधेयकमा उल्लेख गरिएको हुन्छ । बजेट भाषण सकिएलगत्तै यसका कतिपय करसम्बन्धी घोषणाहरू सामयिक कर असुल ऐन, २०१२ अनुसार तत्काल (त्यही रातिदेखि नै) लागू हुन्छन् र पछि संसद्‌बाट यो विधेयक पूर्ण रूपमा पारित भएपछि यसले (आर्थिक ऐन) को स्थायी रूप लिन्छ ।

३. राष्ट्र ऋण उठाउने विधेयक : बजेटमा सरकारको खर्च धेरै र आम्दानी (राजस्व) कम हुँदा घाटा बजेट सिर्जना हुन्छ । त्यो घाटा पूर्ति गर्न सरकारले आन्तरिक बजार (जनता, बैंक तथा वित्तीय संस्थाहरू)बाट कति ऋण उठाउने भन्ने सीमा र स्वीकृति यस विधेयकमा तोकिएको हुन्छ । संसद्‌ले अनुमति नदिई सरकारले आफूखुसी आन्तरिक ऋण उठाउन नपाउने हुनाले यो विधेयक पनि बजेटसँगै अनिवार्य रूपमा ल्याउने गर्छ ।

सम्बन्धित खवर

सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसिबसी नेपालमा पढ्ने मिल्ने व्यवस्था गर्ने...

रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन, खोज्न गएकी श्रीमतीकाे पनि उतै मृत्यु

रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन, खोज्न गएकी श्रीमतीकाे पनि उतै मृत्यु

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा...

अफगानीलाई जबर्जस्ती फिर्ता नपठाऊ : संयुक्त राष्ट्रसंघ

अफगानीलाई जबर्जस्ती फिर्ता नपठाऊ : संयुक्त राष्ट्रसंघ

काठमाडौँ । नेपालमा भुटानी शरणार्थी प्रकरण, तिब्बती शरणार्थीको अवस्था तथा अन्तर्राष्ट्रिय शरणार्थी अधिकारसम्बन्धी बहस...

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

काठमाडौं । अमेरिकी न्याय विभाग (DOJ) ले पत्रकार ई. जीन क्यारोलमाथि आपराधिक अनुसन्धान सुरु...