नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

जस नेपाल

२४ जेठ २०८३

नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल-भारत सीमा मुद्दामा दिएको अभिव्यक्तिले हालै नेपालमा ठूलो विवाद निम्त्याएको छ। सीमा अतिक्रमण एकतर्फी नभई दुवैतर्फबाट भएको र तथ्यगत अध्ययन गरी द्विपक्षीय समाधान खोज्नुपर्ने भन्ने उनको भनाइले राजनीतिक तथा कूटनीतिक वृत्तमा तीव्र बहस छेडेको छ ।

यसै सन्दर्भमा सर्वोच्च अदालतले वि.सं. २०७८ वैशाख १२ गते जारी गरेको परमादेश अझ बढी सान्दर्भिक बनेको छ। अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले दायर गरेको रिटमा संयुक्त इजलास (न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी) ले सरकारलाई स्पष्ट दायित्व तोकेको थियो ।

परमादेशका प्रमुख बुँदाहरू

सर्वोच्च अदालतले नेपाल-भारतबीचको खुला सीमाको दुरुपयोगबाट उत्पन्न सुरक्षा चुनौतीलाई स्पष्ट रूपमा स्वीकार गर्दै सरकारका नाममा महत्वपूर्ण परमादेश जारी गरेको छ । अदालतले खुला सीमालाई व्यवस्थित र नियमन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

अदालतको पहिलो प्रमुख निर्देशनमा सीमा क्षेत्रमा हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न र आवतजावत प्रणालीलाई व्यवस्थित बनाउन नेपालको संविधान, प्रचलित कानून, अन्तर्राष्ट्रिय कानून तथा दुई देशबीच भएका सन्धि सम्झौताको आधारमा राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्ने उल्लेख छ । 

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नागरिकको हकहितको रक्षा गर्दै आपसी समानता, सम्मान र पारस्परिक हितका आधारमा खुला सीमाको व्यवस्थापन तथा नियमन गर्न र आवश्यक परे थप सन्धि सम्झौता गर्न सरकारलाई निर्देशन दिइएको छ ।

दोस्रो महत्वपूर्ण बुँदामा अदालतले खुला सीमाको प्रभावकारी व्यवस्थापनका लागि ड्रोन, सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षा निकायको निगरानी प्रणाली चुस्त बनाउन जोड दिएको छ। यसका साथै नेपाल-भारत सीमा वारपारका लागि निश्चित स्थलमार्गहरू निर्धारण गर्न, सीमा नाकाका अध्यागमन कार्यालय र सुरक्षा निकायमा कार्यरत जनशक्तिलाई भाषागत तालिम दिन, यात्रुहरूबाट आधिकारिक परिचयपत्र जाँच गरी अभिलेख राख्ने व्यवस्था मिलाउन र सीमा क्षेत्रको आवतजावतलाई पूर्ण रूपमा नियमन तथा व्यवस्थित गर्न अदालतले आदेश दिएको छ ।

तेस्रो बुँदामा अदालतले नेपालको संविधान तथा कानूनको अधीनमा रही विगतका सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजहरूका आधारमा मिचिएका सीमा क्षेत्रको स्पष्टता र अंकनका लागि भारतसँग कूटनीतिक पहल गर्न निर्देशन दिएको छ । 

समझदारी कायम गरी उचित प्रक्रियाबाट पुनः विवाद नआउने गरी विवादित क्षेत्रको सीमा अंकन गरेर स्थायी समाधान निकाल्न सरकारलाई भनिएको छ ।

यसका साथै अदालतले हराएका सीमा स्तम्भहरूको निर्माण तथा पुनर्स्थापना गर्ने र दशगजा क्षेत्र खाली गराउने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाई सम्पन्न गर्न पनि सरकारलाई स्पष्ट निर्देशन दिएको छ ।

अदालतले स्पष्ट रूपमा उल्लेख गरेको छ कि सीमा निर्धारण र अंकन गर्ने विषय कार्यकारीको क्षेत्राधिकारभित्र पर्छ । अदालतले ‘यो वा त्यो ठाउँबाट सीमा अंकन गर्नू’ भनी प्रत्यक्ष आदेश दिन सक्दैन । 

तर नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएको यो संवेदनशील मुद्दामा सरकारले नागरिकप्रति आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्ने भन्दै सकारात्मक कदम चाल्न परमादेश जारी गरेको हो ।

फैसलाको पृष्ठभूमि

फैसलामा भनिएको छ`नेपाल र भारतबिच करिब १,८०० किलोमिटर लामो सिमाना छ, जसलाई “खुला सिमाना” भन्ने गरिन्छ । तथापि नेपालको कानूनलगायत कुनै दस्ताबेज र नेपाल भारतबिच भएका सन्धि सम्झौतासमेतले दुई देशबिच खुला सिमाना रहने भनी उल्लेख गरेको भने पाइँदैन । नेपाल-भारत सीमारेखाको दशगजा क्षेत्रबाट अनेकौ सीमास्तम्भ हराइरहेका, विभिन्न स्थानमा सीमा अतिक्रमण, मिचान, वादविवाद, तेरो–मेरो, दावा–विरोध, अन्तर–सीमा जोत–कमोत दखल रहेको भन्ने विभिन्न अध्ययन प्रतिवेदनबाट देखिन्छ । भारतसँग नेपालको भौगोलिक हिसाबले खुला सिमाना रहेको छ । 

कहीँकतै तारबार, बन्देज तथा अन्य कुनै प्रकारले सीमा बन्देज गरिएको पाइँदैन । तोकिएका नाका (मार्ग) बाहेक अन्यत्रबाट पनि सहज रूपमा एक देशबाट अर्को देशमा आवत-जावत गर्न पाइने, कुनै प्रयोजन खुलाउन नपर्ने, समय सीमा निर्धारण तथा भ्रमण गर्ने स्थान खुलाउन नपर्ने अवस्था रहेको पाइन्छ । 

वि .सं. २००९ साल बैशाख ९ गतेको नेपाल गजेट हेर्दा, “अब उप्रान्त भारतबाट भारतीयहरूले काठमाण्डू आउँदा जिल्ला या सिटी म्याजिष्ट्रेटबाट पर्मिट अथवा आइडेन्टिटी कार्ड लिई आउनुपर्नेछ । सो लिई आएमा नेपाल सरकारको राहदानी चाहिँदैन । सो पर्मिट अथवा आइडेन्टिटी कार्ड नेपाल सरकारका पुलिस विभागका मानिसले अनुरोध गरेमा उनीहरूलाई देखाउनु पर्दछ । नेपालीहरूले भारतबाट काठमाण्डू आउँदा र यताबाट भारततर्फ जाँदासमेत दोहोरो राहदानी लिई आउनु जानु पर्दछ” भन्ने उल्लेख भएको देखिन्छ । जसबाट नेपाल भारतबिचमा खुला सिमाना रहेको भए पनि केही हदसम्म व्यवस्थित गरी नियमन गरिएको थियो भन्ने बुझ्न सकिन्छ।`

फैसलाले विश्वका विभिन्न देशहरूको सीमा व्यवस्थापन उदाहरण (खुला, नियमन र बन्द प्रणाली) दिँदै नेपाल-भारत खुला सीमालाई समयानुकूल नियमन गर्नुपर्नेमा जोड दिएको छ। साथै, दुवै देशबीच आपसी समन्वय, सद्भाव र वार्ताबाटै सीमा विवाद (कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत) समाधान गर्नुपर्ने सिद्धान्त अघि सारेको छ ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि यो फैसला फेरि चर्चामा आएको छ । अदालतले सीमा व्यवस्थापनलाई ‘द्विपक्षीय संवाद र कूटनीतिको बाटो’ भने पनि सरकारको सक्रियतामा जोड दिएको छ । यो मुद्दा नेपालको सार्वभौमिक अखण्डता र छिमेकी सम्बन्ध दुवैसँग जोडिएको छ ।

सम्बन्धित खवर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...