नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

जस नेपाल

२७ जेठ २०८३

नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

एजेन्सी । क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर क्यानडामा कार्यरत एक पूर्व पाइलटले करिब १७ वर्षसम्म नक्कली पाइलट लाइसेन्सका आधारमा सयौं अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सञ्चालन गरेको खुलासा भएको छ ।

क्यानडाको क्षेत्रीय प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै पूर्व पाइलट जेफ्री वालविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको जानकारी दिएको हो । उनलाई जुन १ मा पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार वालले सन् २००९ देखि २०२५ सम्म ९०० भन्दा बढी उडानमा क्याप्टेन (पाइलट इन कमाण्ड) को भूमिका निर्वाह गरेका थिए । यस अवधिमा उनले दशौं हजार यात्रु बोकेका बोइङ ७६७, ७७७ र ७८७ विमान उडाएका थिए । तर उनीसँग क्याप्टेन बन्नका लागि अनिवार्य मानिने ‘एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स फर एरोप्लेन्स’ (ATPL-A) भने कहिल्यै नभएको प्रहरीको दाबी छ ।

घटनालाई ‘चलचित्रको कथाजस्तै’ भन्दै वालले झण्डै १७ वर्षसम्म झूटो योग्यता देखाएर विमान चालकको उच्च पदमा पुगेको बताए ।

‘यो घटनालाई त्यस्तो चिकित्सकसँग तुलना गर्न सकिन्छ, जसले सामान्य उपचार गर्ने अनुमति त पाएको छ, तर अतिरिक्त योग्यता बिना मस्तिष्कको शल्यक्रिया गरिरहेको छ,’ पिल क्षेत्रीय प्रहरीका डेपुटी चिफ निक मिलिनोभिचले भने ।

अनुसन्धानका अनुसार वालसँग व्यावसायिक विमान उडाउन पाउने लाइसेन्स भने थियो । तर सन् २००९ मा क्याप्टेनमा पदोन्नति भएपछि आवश्यक पर्ने उच्चस्तरीय ATPL-A लाइसेन्स उनीसँग थिएन । प्रहरीले उनले आफ्नो योग्यतासम्बन्धी विवरण एयर क्यानडा र नियामक निकाय दुवैसमक्ष गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ ।

यो विषय सन् २०२५ मा उनको कागजातको नियमित परीक्षणका क्रममा शंकास्पद विवरण फेला परेपछि बाहिर आएको थियो । त्यसपछि एयर क्यानडाले नियामक निकायलाई जानकारी गराएको थियो । वाल भने सोही वर्ष सेवानिवृत्त भएका थिए । घटनापछि ‘प्रोजेक्ट आइकारस’ नाम दिएर जनवरी २०२५ मा फौजदारी अनुसन्धान सुरु गरिएको थियो ।

यद्यपि एयर क्यानडाले यात्रुको सुरक्षामा कुनै सम्झौता नभएको दाबी गरेको छ । एयरलाइन्सका अनुसार सबै पाइलटले हरेक ६ महिनामा अनिवार्य पुनःप्रशिक्षण र प्रत्येक १२ महिनामा प्रमाणित परीक्षकबाट उडान परीक्षण पास गर्नुपर्ने व्यवस्था छ, जसमा वाल पनि सहभागी हुँदै आएका थिए ।

‘उनीसँग आवश्यक लाइसेन्स नभए पनि उनले विमान सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने क्षमता नियमित परीक्षणमार्फत प्रमाणित गर्दै आएका थिए’, एयर क्यानडाले जनाएको छ । तर उचित लाइसेन्स हवाई सुरक्षाको महत्वपूर्ण आधार भएकाले घटनालाई गम्भीर रूपमा लिइएको कम्पनीको भनाइ छ ।

वालविरुद्ध पाँच हजार क्यानेडियन डलरभन्दा बढीको ठगी, नक्कली कागजात प्रयोग, जालसाजीसम्बन्धी चिन्हको प्रयोग तथा स्वामित्वलगायत सात वटा आपराधिक अभियोग लगाइएको छ ।

उनी आगामी जुन २९ मा अदालतमा उपस्थित हुने तय भएको प्रहरीले जनाएको छ । (सीएनएनबाट साभार)

सम्बन्धित खवर

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका छन् ।...

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

काठमाडौँ । नेपालमा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेका बेला साइबर...

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ...

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...