‘राइड सेयरिङ’का लागि छुट्टै कानून बन्दै

जस नेपाल

२८ जेठ २०८३

‘राइड सेयरिङ’का लागि छुट्टै कानून बन्दै

काठमाडौँ । नेपालमा राइड सेयरिङ व्यवसाय सुरु भएको झण्डै एक दशकपछि यस क्षेत्रलाई कानुनी दायरामा ल्याउने तयारी सुरु भएको छ । सरकारले सार्वजनिक गरेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ (मस्यौदा)’ लाई व्यवसायीहरूले स्वागत गरे पनि केही प्रावधान व्यावहारिक नभएको भन्दै संशोधन गर्न सुझाव दिएका छन् ।

नेपालमा राइड सेयरिङ सेवा रोजगारी, उद्यमशीलता र डिजिटल अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भएको छ । टुटल, पठाओ, याङ्गो र ट्याक्सीमाण्डुजस्ता प्लेटफर्ममार्फत लाखौँ उपभोक्ताले दैनिक सेवा लिइरहेका छन् भने हजारौँ युवाले आम्दानीको स्रोत बनाएका छन् ।

टुटल नेपालका संस्थापक शिक्षित भट्टले व्यवसाय सुरु भएको एक दशकपछि कानून निर्माणको प्रक्रिया सकारात्मक भएको बताए । विगतमा राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने बहसदेखि चालक पक्राउसम्मका अवस्था पार गर्दै कानुनी मान्यता दिने प्रयास स्वागतयोग्य भए पनि मस्यौदामा समेटिएका केही व्यवस्था कार्यान्वयनका दृष्टिले चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

विशेषगरी चालकलाई अनिवार्य पोसाक लगाउनुपर्ने व्यवस्थाले आंशिक रूपमा काम गर्ने चालकहरूलाई असर पुग्न सक्ने उनले बताए । उनका अनुसार राइड सेयरिङको अवधारणा नै कामकाजी व्यक्तिले अतिरिक्त समयमा आम्दानी गर्न सक्ने गरी विकास भएको हो ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले पनि मस्यौदाका केही व्यवस्थाले ठूलो संख्यामा चालकलाई विस्थापित गर्न सक्ने बताए । उनका अनुसार हाल राइड सेयरिङमा आबद्धमध्ये ७० प्रतिशतभन्दा बढी चालक आंशिक रूपमा काम गरिरहेका छन् । पोसाक अनिवार्य गरिएमा उनीहरू सेवा क्षेत्रबाट बाहिरिन सक्ने जोखिम रहेको उनले बताए ।

मस्यौदामा सेवाप्रदायकले अधिकतम १० प्रतिशत मात्रै कमिसन लिन पाउने व्यवस्था पनि व्यवसायीहरूको असन्तुष्टिको विषय बनेको छ । उनीहरूको तर्क छ कि यस्तो ‘क्याप’ ले स्वदेशी तथा विदेशी लगानीकर्तालाई निरुत्साहित गर्न सक्छ । प्रारम्भिक चरणमा डिजिटल प्लेटफर्म सञ्चालनका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रतिफल प्राप्त गर्न कठिन हुने उनीहरूको भनाइ छ ।

पठाओ नेपालका प्रमुख कार्यकारी अधिकृत यशु थकालीले चालक तथा यात्रुको सुरक्षा, बीमा र डेटा सुरक्षासम्बन्धी व्यवस्था सकारात्मक भए पनि बजार प्रतिस्पर्धालाई सीमित गर्ने प्रावधान उपयुक्त नभएको बताए । खुला बजार अर्थतन्त्रमा मूल्य र कमिसन निर्धारण बजारले नै गर्नुपर्ने उनको तर्क छ ।

थकालीले सरकारले प्रस्ताव गरेको भाडादर पनि न्यून रहेको बताए । इन्धन मूल्य, महँगी तथा सञ्चालन खर्च बढिरहेका बेला प्रस्तावित भाडादर व्यवहारिक नदेखिएको उनको भनाइ छ । ‘सर्जचार्ज’ र रात्रिकालीन सेवासम्बन्धी शुल्कको सीमा पनि पुनर्विचार गर्नुपर्ने उनले बताए ।

ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसीले भने कानून निर्माणको पहललाई उपलब्धिमूलक कदमको रूपमा लिनुपर्ने बताए । झण्डै एक दशकदेखि स्पष्ट कानूनविना सञ्चालन भइरहेको क्षेत्रलाई नियमन गर्ने प्रयास स्वागतयोग्य रहेको उनको भनाइ छ ।

उनले कानून कार्यान्वयनमा आएपछि आवश्यक संशोधन गर्न सकिने भएकाले अहिले यसको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए । भविष्यमा सेवाप्रदायक कम्पनीले आफैँ सवारीसाधन उपलब्ध गराउनेजस्ता नयाँ अभ्यास पनि आउन सक्ने भएकाले कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राइड सेयरिङ सेवामा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरिसकेको छ । यससँगै राइड सेयरिङ क्षेत्रलाई औपचारिक कानुनी ढाँचाभित्र ल्याउने प्रक्रिया थप अघि बढेको छ । व्यवसायीहरूले भने कानून बनाउँदा गिग अर्थतन्त्रको मूल मर्म र व्यवहारिक पक्षलाई ध्यान दिन आग्रह गरेका छन् ।

सम्बन्धित खवर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...