फैसला कार्यान्वयनको दयनीय अवस्था

२२ असार २०८३

फैसला कार्यान्वयनको दयनीय अवस्था

विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यता बोकेको मुलुकका लागि न्यायालय अन्तिम भरोसाको केन्द्र हो । नेपालको न्यायिक इतिहास र वर्तमानको यथार्थलाई मिहीन ढंगले केलाउने हो भने एउटा कष्टकर तस्बिर सामुन्ने आउँछ- नेपालमा न्याय पाउनु त महाभारत छँदै छ, पाइहाले पनि त्यसको उपभोग गर्न पाउनु धेरै गाह्रो छ ।

न्यायपालिकाको वास्तविक सामर्थ्य अदालतको इजलासबाट सुनाउने फैसलाको भाषामा होइन, त्यो फैसला कति सहज रुपमा कार्यान्वयन भएको भन्ने कुरामा मापन गरिनुपर्छ । जसबाट भुइँतहका नागरिकले सहज र सरल तरिकाले न्याय पाएको महसुस गरुन् ।

अदालतको ढड्डामा फैसलाको चाङ थपिँदै जानु तर पीडितको हातमा न्यायको प्रतिफल नपुग्नुले हाम्रो राज्य संयन्त्रकै असक्षमतालाई गिज्याइरहेको छ । सर्वोच्च अदालत र महान्यायाधिवक्ता कार्यालयका वार्षिक प्रतिवेदनहरू पल्टाउने हो भने असुल हुन बाँकी अर्बौँ रुपैयाँको जरिवाना र लाखौँ वर्षको कैद सजायको लगत जस्ताको तस्तै बसिरहेको भेटिन्छ । गम्भीर फौजदारी मुद्दाका कसूरदारहरू समाजमा खुला रूपमा छाती फैलाएर हिँडिरहेका छन् भने देवानी मुद्दामा आफ्नो अंश वा बिगो दाबी गर्ने सर्वसाधारण न्यायको कागज बोकेर अदालतको चौखटमै दिन कटाइरहेका छन् ।

आखिर किन नेपालमा फैसला कार्यान्वयन यसरी थला परेको छ ? यसका बहुआयामिक चुनौतीहरूको विश्लेषणात्मक चिरफार यस आलेखमा गर्ने प्रयास गरिएको छ ।

उपेक्षामा तहसिल शाखा

नेपालको न्यायिक इतिहासमा अदालतको सुदृढीकरणका लागि ठूला–ठूला प्रतिवेदनहरू बने, बजेटहरू विनियोजन गरिए । तर, न्यायालयको सबैभन्दा महत्त्वपूर्ण अङ्ग मानिने ‘फैसला कार्यान्वयन निर्देशनालय’ र जिल्ला अदालतहरूमा रहेका ‘तहसिल शाखाहरू’ सधैँ राज्यको उपेक्षाको सिकार बने । संरचनागत र जनशक्तिको अभावले नै फैसला कार्यान्वयन फितलो हुनु पहिलो र मुख्य कारण हो ।

जिल्ला अदालतका तहसिल शाखाहरूलाई हेर्ने हो भने त्यहाँ पर्याप्त जनशक्ति नै छैनन् । भएका कर्मचारीहरू पनि दक्ष र प्रशिक्षित छैनन् । सबैभन्दा गम्भीर कुरा, फैसला कार्यान्वयन गर्ने कर्मचारीहरू (तहसिलदार र नासुहरू) को भौतिक सुरक्षाको अवस्था दयनीय छ । भूमाफिया, गुण्डा वा समाजका प्रभावशाली व्यक्तिहरू विरुद्धको फैसला कार्यान्वयन गराउन कार्यक्षेत्रमा जाँदा कर्मचारीहरूले धम्कीको सामना गर्नुपर्छ । तिनीहरूका लागि न त पर्याप्त सवारी साधनको व्यवस्था छ, न त परिचालन खर्च नै दिइन्छ ।

हालैका वर्षहरूमा नेपाल प्रहरी मार्फत केही मात्रामा ‘सुरक्षा बल’ को व्यवस्था त गरिएको छ, तर त्यो ऊँटको मुखमा जिरा जस्तै साबित भएको छ । काठमाडौँ वा केही सुगम जिल्लाबाहेकका अदालतमा सुरक्षा बलको उपस्थिति नाम मात्रको छ । जब फैसला कार्यान्वयन गराउने कमान्डर नै असुरक्षित र साधनस्रोतविहीन हुन्छ, तब राज्यको दण्ड बुझाउने परिकल्पना केवल कागजमै सीमित हुन पुग्छ ।

अन्तर-निकाय समन्वयको खडेरी

फैसला कार्यान्वयन अदालत एक्लैको प्रयासले सम्भव हुने विषय नै होइन । यो एक अन्तर-निकाय शृङ्खला हो, जहाँ अदालतले आदेश दिन्छ र बाँकी कार्य राज्यका अन्य कार्यकारी अङ्गहरूले गर्नुपर्छ । तर, नेपालको प्रशासनिक संयन्त्रमा ‘अन्तर-निकाय समन्वय’ को यति ठूलो खडेरी छ कि एउटा निकायले अर्को निकायलाई सहयोग गर्नु आफ्नो क्षेत्राधिकार माथिको हस्तक्षेप ठान्छ ।

अदालतले फैसला गरेपछि दोषी पक्राउ गर्न नेपाल प्रहरी, उसको घरजग्गा रोक्का गर्न मालपोत कार्यालय, बैंक खाता फ्रिज गर्न बैंक तथा वित्तीय संस्थाहरू, व्यवसाय बन्द गर्न स्थानीय तह र विदेश पलायन रोक्न अध्यागमन विभागबीच २४ सै घण्टा जीवन्त र तीव्र समन्वय हुनुपर्ने हो । तर, व्यवहारमा यी निकायहरूबीच सूचनाको आदानप्रदान र उत्तरदायित्वको भावना शून्य प्रायः छ ।

अदालतले कुनै फरार कसूरदारको सम्पत्ति रोक्का गर्न मालपोत कार्यालयलाई पत्र लेख्छ । त्यो पत्र सम्बन्धित मालपोत कार्यालय पुग्नै हप्तौँ लाग्छ । उदाहरणका लागि कास्की जिल्ला अदालत र मालपोत कार्यालय कास्कीको पैदल दुरी ५ देखी ७ मिनेटको छ । तर अदालते सम्पत्ति रोक्का राख्न गरेको आदेश यहाँ पुग्न हप्ताको कुरै छैन महिनौ लाग्छ । केही गरि आदेश पुगे पनि मालपोतका कर्मचारीले “व्यस्तता” को बहाना बनाएर टेबलमुनि थन्क्याइदिन्छन् । त्यसको जवाफ तत्कालै दिनुपर्ने दरकार सम्झदैनन् । यही सुस्तताको फाइदा उठाउँदै कसूरदारले आफ्नो सम्पत्ति अर्कैको नाममा नामसारी गरिसकेको हुन्छ ।

नेपाल प्रहरीले आफ्नै ढङ्गले अपराधी खोज्छ, तर अदालतको लगतसँग उसको दैनिक समन्वय हुँदैन । अध्यागमन विभागसँग अदालतको फैसलाको प्रत्यक्ष विवरण पुग्ने संयन्त्र नै छैन, जसका कारण अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै विदेश उड्न सफल हुन्छ । जबसम्म राज्यका यी अंगहरूले अदालतको फैसला कार्यान्वयन गर्नु आफ्नो पनि संवैधानिक दायित्व हो भन्ने कुरा महसुस गर्दैनन्, तबसम्म न्याय सधैँ अङ्गभङ्ग भइरहनेछ ।

डिजिटल युगमा ‘कागजी’ काम

हामी डिजिटल नेपाल र सूचना प्रविधिको चर्को नारा लगाइरहेका छौँ । तर, हाम्रा अदालतहरूको आन्तरिक प्रणाली अझै पनि मध्ययुगीन ढर्रा र ढड्डा संस्कृतिबाट मुक्त हुन सकेको छैन । कसूरदार वा ऋणीहरूको लगत प्रणाली पूर्ण रूपमा डिजिटल र एकीकृत (Integrated) हुन नसक्नु फैसला कार्यान्वयनको अर्को ठूलो प्राविधिक कमजोरी हो ।

आजको मितिमा पनि एउटा जिल्ला अदालतले दोषी ठहर गरेको व्यक्तिको रेकर्ड अर्को जिल्लाको अदालत वा प्रहरी चौकीलाई थाहै हुँदैन । केन्द्रीय तहमा एउटै क्लिकमा देशैभरिका अपराधी, जरिवाना नतिरेका व्यक्ति वा देवानी मुद्दाका ऋणीहरूको विवरण हेर्न मिल्ने ‘एकीकृत राष्ट्रिय लगत प्रणाली’ (Centralized Database) को अभाव छ ।

यही प्राविधिक कमजोरीको फाइदा उठाउँदै दोषीहरूले आफ्नो नाम, ठेगाना वा पहिचानको सामान्य अंश बदलेर (जस्तै: नागरिकताको केही विवरण सच्याएर वा दोहोरो नागरिकता लिएर) राज्यबाट सजिलै राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), सामाजिक सुरक्षा भत्ता र व्यापार व्यवसायको दर्ता जस्ता सेवा–सुविधा लिइरहेका हुन्छन् । सुरक्षा निकायले प्रविधिको अभावमा तिनलाई ट्र्याक गर्नै सक्दैन । प्रविधिको यो अनुपस्थिति अपराधीका लागि वरदान र पीडितका लागि अभिशाप बनेको छ । व्यक्तिको ठेगानामा चिठ्ठीपत्र र भौतिक म्याद टाँस्ने कार्यलाई इमेल, एसएमएस र सामाजिक सञ्जाल लगायतबाट ईम्याद जारी गर्न सकिन्छ ।

यसैगरी मालपोत र बैंकलाई पत्र पठाएर हप्तौँ कुर्नुभन्दा सिधै अनलाइन प्रणालीबाट चिठी पठाएर त्यहाँ रहेका सूचना अधिकारीमार्फत मेल पुगे नपुगेको पक्का गरेर १ मिनेटमै रोक्का राख्नुपर्ने व्यक्तिको खाता र जग्गा रोक्का राख्न सकिन्छ । यसो गर्दा सेवाग्राहीलाई सजिलो मात्र हैन काम छिटो हुने र जनशक्तिको बचत समेत हुन्छ । अदालतले म्यानुअल ढड्डामा अपराधीको लगत राख्ने मात्रै हैन राष्ट्रिय परिचयपत्रसँग आबद्ध एकीकृत डाटाबेसमा समावेश गर्न सकिन्छ । यसो गर्दा फैसला कार्यान्वयन सहज र छरितो हुन जान्छ ।

खुला सिमाना र भौगोलिक जटिलता

नेपालको विशिष्ट भू–राजनीति र भौगोलिक बनोट पनि फैसला कार्यान्वयनको मार्गमा एउटा प्राकृतिक र कृत्रिम तगारो बनेर उभिएको छ । नेपाल र भारतबीचको लामो खुला सिमाना (Open Border) फौजदारी मुद्दाका दोषीहरूका लागि सबैभन्दा सुरक्षित “एस्केप रूट” (Escape Route) बनेको छ ।

अदालतबाट फैसला आउने सुइँको पाउनासाथ वा फैसला लगत्तै अपराधीहरू खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न सहरहरूमा गएर पहिचान लुकाई बस्ने गर्छन् । दुई देशबीच सुपुर्दगी सन्धि (Extradition Treaty) र कानुनी सहायतासम्बन्धी व्यावहारिक संयन्त्र चुस्त नहुँदा साना–तिना र मध्यमस्तरका फौजदारी मुद्दाका अपराधीहरूलाई भारतबाट समातेर ल्याउन नेपाल प्रहरीका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ ।

अर्कोतर्फ, नेपालको आन्तरिक भौगोलिक विकटता उत्तिकै चुनौतीपूर्ण छ । कर्णाली र हिमाली जिल्लाहरूका विकट गाउँहरूमा कुनै देवानी मुद्दाको फैसला कार्यान्वयनका लागि सर्जमिन गर्न, जग्गाको साँध–सिमाना छुट्याउन वा सम्पत्ति रोक्का गर्न अदालतको टोली खटिनु पर्दा हप्तौँ समय लाग्छ ।

वर्षायाममा बाटोघाटो अवरुद्ध हुनु, सञ्चार सम्पर्क विच्छेद हुनु र विकट क्षेत्रमा प्रहरीको न्यून उपस्थितिका कारण समयमै अदालतको टोली पुग्न सक्दैन । यो भौगोलिक जटिलताले गर्दा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रका नागरिकहरू फैसला कार्यान्वयनको अधिकारबाट झन् बढी वञ्चित भएका छन् ।

अबको बाटो : कानुनी र संरचनागत शल्यक्रिया

यो बहुआयामिक संकटबाट न्याय प्रणालीलाई मुक्त गर्न अब स–साना खुद्रे सुधारले पुग्नेवाला छैन । यसका लागि राज्यले दृढ राजनीतिक इच्छाशक्तिका साथ कानुनी र संरचनागत शल्यक्रिया (Structural Surgery) गर्नु आवश्यक छ । अदालतको दण्ड, जरिवाना वा बिगो नतिर्ने व्यक्तिलाई राज्यले दिने नागरिकता, राहदानी, लाइसेन्स, बैंक ऋण र स्थानीय तहका सबै सिफारिसहरू स्वतः रोक्का हुने गरी ‘फैसला कार्यान्वयन ऐन’ बनाइनुपर्छ ।

अदालतको लगतलाई राष्ट्रिय परिचयपत्र (NID), भूमिसुधारको LRIMS, नेपाल राष्ट्र बैंक र अध्यागमनको सफ्टवेयरसँग इन्टरलिङ्क गरी ‘एक क्लिक’ मा सम्पत्ति र बैंक खाता फ्रिज गर्ने प्रविधि तत्काल लागू गरिनुपर्छ । यसैगरि गृह मन्त्रालयको कृपामा चल्ने प्रहरी होइन, अदालतको आफ्नै प्रत्यक्ष कमान्ड र नियन्त्रणमा रहने गरी ‘न्यायिक प्रहरी’ को स्थायी र साधनस्रोतसम्पन्न संयन्त्र गठन गरिनुपर्छ, जसको एकमात्र काम फरार प्रतिवादी समात्ने र फैसला कार्यान्वयन गराउने मात्र हुनेछ ।

त्यसैगरी फैसला कार्यान्वयन गराउने कर्मचारीलाई थप पारिश्रामिकको व्यवस्थासहित आवश्यक सेवा सुविधा दिनुपर्छ । यसो गरिएमा फैसला कार्यान्वयनको अवस्थामा सुधार आउने देखिन्छ ।

निष्कर्ष

फैसला हुनु न्यायको सुरुवात मात्र हो, यसको पूर्णता त कार्यान्वयनमा मात्र सम्भव छ । फैसला कार्यान्वयन फितलो हुनु भनेको राज्यको सार्वभौम सत्ता र न्यायपालिकाको साख माथि भूइँतहबाटै प्रहार हुनु हो । यदि समयमै संरचनागत सुधार, अन्तर–निकाय समन्वय र प्रविधिको प्रयोग मार्फत यो गतिरोधलाई तोडिएन भने, न्यायालयप्रतिको जनआस्था जगैदेखि भत्किनेछ ।

कागजमा कोरिएको न्यायले पीडितको आँसु पुछ्दैन । तसर्थ, राज्यले अब ‘कागजी न्याय’ को यो दण्डहीन विरासतलाई बदल्नै पर्छ, अन्यथा विधिको शासन केवल भाषणको विषय मात्र बनिरहनेछ ।

(लेखक नेपाल खुल्ला विश्वविद्यालयका अध्यापक हुन्)

सम्बन्धित खवर

अदालत र वकीलको सम्बन्ध : मुद्दा व्यवस्थापनमा कानून व्यवसायीको भूमिका

अदालत र वकीलको सम्बन्ध : मुद्दा व्यवस्थापनमा कानून व्यवसायीको भूमिका

उपलब्ध स्रोत र साधनहरूको व्यवस्थित, प्रणालीबद्ध, वैज्ञानिक र समुचित रूपमा परिचालन गरी उच्चतम् गुणस्तर...

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

असार २५ देखि सयौँ नागरिकहरू जनकपुरको तिरहुतिया गाछीदेखि हिँडेर काठमाडौँ आउँदैछन् । बसमा आए...

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडाज्यूले व्यक्त गर्नुभएका कुराहरु मैले सुन्ने अवसर पाएँ, संविधान संशोधनको...

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा...