सर्वोच्चद्वारा न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति पारित, न्याय प्रशासनमा एआई प्रयोगको औपचारिक बाटो खुल्याे

जस नेपाल

१९ असार २०८३

सर्वोच्चद्वारा न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति पारित, न्याय प्रशासनमा एआई प्रयोगको औपचारिक बाटो खुल्याे

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले बिहीबार न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ पारित गर्दै न्याय प्रशासनमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगको औपचारिक बाटो खोलेको छ । नीतिमा मस्यौदा लेखन, कानुनी अध्ययन-अनुसन्धान र मुद्दा व्यवस्थापनमा एआईको सहयोगी भूमिका बढाउने उल्लेख छ । तर न्यायिक निर्णयमा प्रत्यक्ष दख्खल पुग्ने गरी एआई प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

यो नीति न्यायपालिकालाई डिजिटल रूपान्तरणको दिशामा महत्वपूर्ण कोसेढुंगा मानिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले नियुक्तिअघि नै ‘ई-कोर्ट’ र एआई नीतिको वाचा गरेका थिए । फुल कोर्टले पारित गरेको यो नीतिले त्यही प्रतिबद्धतालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ ।

नीतिको सबैभन्दा चर्चित प्रावधान रणनीति बुँदा नं ५.२ मा स्पष्ट रूपमा उल्लेख छ । जहाँ भनिएकाे छ – ‘न्यायिक कार्यप्रक्रियामा कृत्रिम बुद्धिमत्ता (एआई) लाई नवप्रवर्तनको औजारको रूपमा यसको उपयोगका सम्भावित क्षेत्रहरू पहिचान गरी लागू गरिनेछ ।’

कार्यनीतिहरू :

नीतिको बुँदा नं ५.२.१ मा न्यायिक कामकारवाहीसम्बन्धी मस्यौदा लेखन, अध्ययन अनुसन्धानलगायतका कार्यमा सहयोग पुग्ने गरी कृत्रिम बौद्धिकतामा आधारित प्रणाली विकास गरी प्रयोग बढाइने उल्लेख छ भने  प्रत्यक्ष रुपमा न्यायिक निर्णयमा दखल पुग्ने गरी कृत्रिम बुद्धिमत्ताको प्रयोग नगरिने स्पष्ट पारिएको छ ।

नीतिको बुँदा नं ५.२.२ मा  न्यायिक कामकारवाहीमा आन्तरिक वा बाह्य निकायबाट विकास गरिएका कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रणाली (Third Party System) को प्रयोग गर्दा त्यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रहरहितता र कार्य सञ्चालनको ढाँचा (Algorithmic processes) लगायतका पक्षमा विश्लेषण गरी उपयुक्तताको आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

त्यसैगरी नीतिको बुँदा नं  ५.२.३ मा मुद्दा व्यवस्थापन प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा कृत्रिम बुद्धिमत्ता प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने (Machine Readable/Searchable) ढाँचामा डाटाबेस तयार गरिने कुरा उल्लेख छ ।

त्यस्तै नीतिको बुँदा नं ५.२.४ अन्तर्गत अदालतको कामकारवाहीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, यसको उपयोगिता, जोखिमलगायतका विषयमा आन्तरिक तथा बाह्य प्रयोगकर्ता तथा सरोकारवालाहरुमा सचेतना बढाउने कार्यक्रम संचालन गरिने कुरा लेखिएको छ ।

नीतिको दूरदृष्टि  ‘सूचना तथा सञ्चार प्रविधिमा आधारित सुदृढ न्यायपालिका’रहेको छ भने  सूचना प्रविधि र डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह र कार्यसम्पादनमा उत्कृष्टता (Service Excellence) हासिल गर्ने नीतिको परिलक्ष्य रहेको छ।

नीतिमा अदालत व्यवस्थापन र न्यायिक सेवा प्रवाहमा डिजिटलाइजेसनलाई प्राथमिकता दिइएको छ । एकीकृत मुद्दा व्यवस्थापन प्रणाली (CMS) लाई थप सुदृढ बनाउने, ई-फाइलिङ, अनलाइन दर्ता, डिजिटल हस्ताक्षर, बायोमेट्रिक प्रमाणीकरण, अनलाइन अदालत (Online Courts) जस्ता व्यवस्थाहरू विस्तार गर्ने समेत योजनाहरु छन् ।

परिच्छेद १ मा गरिएको विश्लेषणमा न्यायपालिकाको सूचना प्रविधि क्षेत्रका बल, कमजोरी, अवसर र चुनौतीलाई समेटिएको छ । दीर्घकालीन डिजिटल पूर्वाधार रणनीतिको अभाव, बजेट सीमितता, जनशक्ति विकास र डाटा सेन्टरको कमी जस्ता कमजोरी औंल्याइएको छ भने डिजिटल नेपाल फ्रेमवर्क, अन्तर्राष्ट्रिय सहयोग र निजी क्षेत्रसँगको साझेदारीलाई अवसरका रूपमा चित्रण गरिएको छ ।

नीतिले स्रोत व्यवस्थापन, जोखिम न्यूनीकरण, परिवर्तन व्यवस्थापन र अनुगमनको व्यवस्था गरेको छ । सरकारी स्रोतका साथै स्वदेशी निजी तथा प्राज्ञिक क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारसँग साझेदारी गर्न सकिने उल्लेख छ । सूचना प्रविधि समितिले आवश्यक निर्णय लिने व्यवस्था पनि गरिएको  छ ।

नीतिले डिजिटल समावेशितालाई पनि जोड दिएको छ । ग्रामीण क्षेत्र र इन्टरनेट पहुँच नभएका ठाउँमा हाइब्रिड मोडालिटी (ऑफलाइन/मोबाइल फर्स्ट) अपनाउने रणनीति छ ।

नेपालको न्यायपालिकामा सूचना प्रविधिको प्रयोग वि.सं. २०५५ देखि सुरु भएको थियो । पहिलो र दोस्रो चरणमा आधारभूत पूर्वाधार र प्रणाली विकास भयो भने तेस्रो चरण (२०७२ देखि २०८१) मा एकीकृत मुद्दा व्यवस्थापन प्रणाली, डाटा सेन्टर, डिजास्टर रिकभरी, जस्ता पूर्वाधार बनेका छन्  ।

न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सम्बन्धित खवर

न्यायपालिका र सञ्चार माध्यम

न्यायपालिका र सञ्चार माध्यम

काठमाडौँ । सर्वोच्च अदालतले गतसाता सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा...