साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

जस नेपाल

२४ असार २०८३

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

अवधेश कुशवाहा
नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन प्रहरी प्रशासनसमेत लाग्ने प्रवृत्ति बन्यो । अहिलेको अवस्थामा पनि राज्यले पटक–पटक मिटर ब्याज पीडितहरूलाई ठग्ने काम गरेको छ ।

राज्यले पीडितहरुसँग गरेका सहमति र अहिलेसम्म गरिएका दाबीहरु वास्तविकरूपमा कार्यान्वयन भएका छैनन् । मिटर ब्याजसम्बन्धी समस्याको पहिचान र समाधानका निम्ति राज्यले बनाएका विभिन्न आयोगका सुझाव र कानुनहरू कार्यान्वयमा गएको देखिएको छैन ।

सरकारमा जो बस्नुभएको छ, उहाँहरुले मिटरब्याजको समस्या समाधानको निम्ति तीनचोटि आयोग बनाउनुभयो । कार्यदल बनाउनुभयो । ती आयोग र कार्यदलले समाधानका निम्ति बाटो देखाएका छन् । तर, त्यो अहिलेसम्म कार्यान्वयन गर्नुहुन्न । विगतका सरकारहरूले जसरी ठगिरहेका थिए, यो सरकारले पनि ठगिरहेको छ, यसमा हामीले कुनै अन्तर देखेनौँ ।

यो देशमा नयाँ सरकार बनेपछि एक किसिमले जनता खुसी पनि भए कि यो सरकारले चाहिँ अब केही गर्छ । पीडितहरूले यसमा आश पनि राखेका हुन् । तर, यो सरकार समस्याको समाधान खोज्नबाट भागिरहेको छ ।

यसबीचमा हामीले सरकारसँग समन्वय गर्न खोज्यौं । तर, गृहमा कुरा गर्‍यो भने राजनीतिक दलसँग कुरा गर्नु भन्छ, राजनीतिक दलको मान्छेसँग कुरा गर्‍यो भने प्रधानमन्त्रीको सचिवालयको नम्बर दिन्छ तर तिनीहरूको फोन नै उठ्दैन ।
यता पीडितहरू अलपत्र परेर यो जिल्लाबाट त्यो जिल्लामा भागिरहेका छन्। आफ्नो ज्यान बचाउने कहाँ जाने ? कतिपय पीडितहरू त भागेर इन्डिया गइसक्नुभएको छ । पक्राउ पुर्जी आइसकेको छ । रातिराति प्रहरीले पक्रेर पीडितहरूलाई जेल लगिरहेको छ ।

तराई–मधेसमा आमरूपमा प्रथाकै रुपमा तीन गुणाको कागज बनेको हुन्छ । जस्तै– धनुषाकी सुनीता साहको २ लाखको लेनदेन हो, उनलाई पक्राउ गरेर प्रहरीले सिन्धुली कारागारमा लगिसक्यो ।

यो विषयमा हामीलाई समाजका अगुवा, न्यायप्रेमी एवं सञ्चारकर्मीहरुबाट हामीलाई धेरै टाढा राख्ने प्रयास पनि भइरहेको छ । तर, हामीले भनेका छौँ कि यो जुन आन्दोलन र सङ्घर्ष छ, यो भुइँ तहका पीडितहरूबाट उठेको आन्दोलन हो ।

बालेन सरकारले सुनेन

बाहिर चाहिँ बालेनजीले जनकपुरको चुनावी सभामा मिटर ब्याजको सन्दर्भमा म मेयर हुँदाखेरि केही गर्न सकिनँ, सबैसँग माफी माग्छु भन्नुभयो । अब केन्द्रमा गएपछि सम्पूर्ण कुराको समाधान गर्छु भनेर ठूलो आश्वासन दिनुभयो । अब, रबिजी त श्याम परदेशीको मुद्दादेखि नै फलो गरेको मान्छे हो । उहाँहरूको पार्टीको घोषणापत्रमा पनि मिटरब्याजीहरूको मुद्दा छ । तर, अहिले उहाँहरू पुरै मौन बस्नुभएको छ ।

उहाँहरू साहु आउँदाखेरि फोटो खिचाउने, चिया खाने, सबै कुराका लागि टाइम मिलिरहेको छ, तर आम पीडितहरू पक्राउ हुने, घरजग्गा लिलामी हुने ।

अहिले प्रहरी पुरै तानाशाह बनेको छ । सरकार यसमा मौनमा रहेको छ । त्यो प्रहरीलाई पनि थाहा छैन कि हाम्रो सिडिओ कार्यालयमा मुद्दा परेको छ, निवेदन छ। त्यो प्रहरी गृह मन्त्रालयको मातहतमा चल्छ कि आफ्नै मनोमानीमा चलिरहेको छ ? यो पनि हामीलाई थाहा हुन सकेको छैन । किनभने, हामीले गृह मन्त्रालयले बनाइदिएको आयोगभित्रै निवेदन दिएका हौँ। तर एकलौटी रूपमा साहु महाजनको कागज हेरेर, अदालतको फैसला मात्रै हेरेर अहिले प्रहरीले व्यवहार गरिरहेको छ, यो धेरै डरलाग्दो छ ।

सुतेका बेलामा गएर मिटरब्याज पीडितलाई उठाएर रातारात जेल पठाउने काम भइरहेको छ । कतिपय पीडितहरू हामीसँग सम्पर्कविहीन भइसकेका छन् । मैले ३०० को हाराहारी भनेँ, हजारौँको संख्यामा मिटरब्याज पीडितहरु पक्राउ परेका छन्, जो हामीसँग सम्पर्क आएका छैनन् । यो किसिमको डरको माहौल बनेको छ ।

हामी त आफ्नो तरिकाले लड्छौँ । जुन हाम्रो क्षमता र शक्ति छ, त्यही अनुसार अगाडि बढ्छौँ । हामी धेरै बुझेका व्यक्ति पनि होइनौँ। हामी आफ्नो समस्या बोकेर जसरी हिजोका दिनमा जुनसुकै सरकार आए पनि समाधानका निम्ति लड्दै आयौँ । यो मिटर ब्याजको शोषणको प्रथाविरुद्ध यो समितिले एउटा वाचा गरिसकेको छ, जबसम्म प्रत्येक पीडितले न्याय पाउँदैनन्, हामी निरन्तर लडाइँमै छौँ ।

आज देशमा आतङ्क मच्चिएको छ । विभिन्न तहमा आन्दोलन उठिरहेका छन् । हाम्रो जेन्जीका नाममा सरकार बन्यो तर सरकारले उल्टोपुल्टो काम गरिरहेको छ । गरिब निमुखाहरूको घरबास उठाइदिने, बैंकका माफियाहरू घरघरमा गएर यस्तै गरेर पैसा उठाउने नाममा ज्यादती गरिहेका छन् ।

आजको दिनमा जति पनि आम पीडितका मुद्दा र आन्दोलनहरू छन्, यसमा हामी मिटर ब्याजविरुद्ध किसान मजदुर सङ्घर्ष समिति नेपालका तर्फबाट पूर्णरूपले ऐक्यवद्धता जनाउन चाहन्छौँ । हामी सम्पूर्ण पीडितको समस्या बोकेर हिँड्ने व्यक्तित्वहरूमा ऐक्यवद्धताको आह्वान पनि गर्न चाहन्छौँ । यसका निमित्त हामी मिलेर कसरी लड्ने हो, कसरी जाने हो, सबै अब तयारी अवस्थामा चाहिँ बस्नुपर्छ ।

यो सरकार भनेको देशको नागरिक पनि सरकार हो । यो कुरा सरकारमा बस्नेहरुलार्ई हेक्का हुनुपर्छ ।

हामीलाई ‘मिटरब्याज’ भन्ने थाहा थिएन

सुरुवाती चरणमा हामी काठमाडौँ आउँदाखेरि हामीलाई यो ‘मिटर ब्याज’ भन्ने शब्द पनि थाहा थिएन । हामी खासमा भ्रष्टाचारविरुद्ध भनेर आन्दोलन गर्न आएका हौँ । आन्दोलन भन्दा पनि शुरुमा सम्पत्ति शुद्धीकरणमा मुद्दा हालिएको थियो । सिडियोकहाँ गयौँ, एसपीकहाँ गयौँ, तर सबैले हामीलाई लखेटे । त्यसपछि मुद्दा हालेर पो समाधान हुन्छ कि भनेर हामी सम्पत्ति शुद्धीकरणमा गएका थियौँ । त्यसपछि खासमा हामी मुद्दाबारे बुझ्न काठमाडौँ आएका थियौँ कि हाम्रो सम्पत्ति शुद्धीकरणको मुद्दा कहाँ पुग्यो ? तर, कसैले नसुनेपछि माइतीघर भन्ने ठाउँ रहेछ, त्यहीँ आन्दोलन गरिन्छ भनेर हामी त्यहाँ बस्यौँ ।

माइतीघरमा बस्ने क्रममा मिडिया, सञ्चारकर्मी साथीहरूबाट र समाजका अगुवा साथीहरू एवं न्यायप्रेमी ज्यूहरूले यो मुद्दालाई ‘मिटर ब्याज’ हो भन्नुभयो । हामी एक किसिमले कन्फ्युज्ड पनि भयौँ कि ‘मिटरवाला ब्याज’ भनेको के होला ? हामी पीडितहरु आफैँ अलमलियौँ , यो मिटर ब्याज भनेको के हो ?

आखिर, यो विषयलाई बुझ्दै जाँदाखेरि हामीले २०७९ असार ६ गते आधिकारिकरूपमा ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति’ गठन गर्‍यौँ ।

त्यसबेलासम्म हामीलाई सिडिओ, एसपी एवं जिल्लाका प्रहरीले कार्यालयभित्र जान दिँदैनथे । हाम्रा कुरै नसुन्ने । त्यतिखेर गृहमन्त्री बालकृष्ण खाण हुनुहुन्थ्यो, उहाँले अन्तर समन्वय गर्दिनू भनेर एउटा चिठी दिनुभयो, त्यो नै सबभन्दा ठूलो न्याय हो भन्ने हामीलाई लाग्यो । किनभने, त्यो चिठी लिएर जाँदा सिडिओले पनि छिर्न दिए । एसपीले पनि हामीलाई ‘सर’ भनेर बोलाए । तर, छलफलको त्यो वातावरणले मात्रै समस्याको समाधान भएन ।

जब साहु महाजनसँग छलफल भयो, हामीलाई उनीहरुले कसरी कागजीरूपमा ठगेका रहेछन् भन्ने बल्ल थाहा भयो । हामीसँग गरिएका तमसुक, दृष्टिबन्धक, छिनुवा, यी कुनै पनि विषयमा हामीमाथि कसरी ठगी भइरहेको छ, भन्ने विषय हामीले बुझ्न थाल्यौँ ।

खोजतलास गर्दै जाँदाखेरि यो शोषण देशका अन्य ठाउँमा पनि रहेछन् भन्ने थाहा भयो । विभिन्न किसिमले आन्दोलनहरु उठिरहेका छन् भन्ने पन िबुझ्यौँ । ०७१ सालतिर सुनसरीमा सामूहिकरूपमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दिइएको रहेछ । सर्लाही जिल्लामा श्याम परदेशी, रामबाबु राय, सञ्जय रौनियार लगायतका विरुद्ध मुद्दाहरू चलेका रहेछन् । अहिले त रामबाबु राय पनि एक किसिमले चाहिँ फेमस मान्छे भइसकेका छन् । त्यतिखेर तत्कालीन गृहमन्त्रीज्यूले हामीलाई भेट्न चाहनुभएन तर उहाँसँग मजाले फोटो खिचाउनुभयो, चिया खानुभयो । उहाँहरुको के सम्बन्ध हो, त्यो पनि खोजतलास गर्नलाई हामीसँग फोटो पनि छन् ।

त्यस्ता–त्यस्ता कुख्यात साहुहरूले ठाउँ–ठाउँबाट हामीलाई लुटिरहेका थिए। हाम्रो आन्दोलन एउटा सम्बन्धित साहुसँग मात्रै उठेको थियो । तर, यो विषय राष्ट्रियरूपमा आउँदाखेरि र खोजतलास गर्दाखेरि अहिले आम नेपाली, भूमिहीन, सुकुम्बासी वस्तीका साथीहरूलाई जसरी काठमाडौँको सुकुम्बासीको पीडा काठमाडौँको मात्रै नभएर देशभरिको चाहिँ पीडा हो भन्ने परेको छ र अहिले देशभरिमा सुकुम्बासीको आन्दोलन उठिरहेको छ, त्यसरी नै हामी मिटरब्याज पीडितको पीडा पनि एउटा साहुसँग मात्रै सम्बन्धित होइन भनेर हामीले देशैभरिका पीडित साथीहरूसँग आवद्ध भएर संगठनको विस्तार गरेका छौँ ।

मैले सुरुमै भनेँ कि साहु महाजनहरुसँग छलफलको बाटोबाट समस्याको समाधान भएन । अनि हामीले दोस्रो चरणको आन्दोलन १६ साउन २०७९ बाट शुरु गर्‍यौँ ।

आफ्नो घरबाट त्रिपाल, खाना र भाँडाकुँडा लिएर हामी आन्दोलनमा आयौँ । साउन १८ गतेदेखि निरन्तर धर्ना बस्न लाग्यौँ ।

त्यस क्रममा सरकारबाट ‘मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ भनेर डा. भीष्मकुमार भुसालको संयोजकत्वमा एउटा कार्यदल बन्यो । त्यो कार्यदलले देशभरिबाट उजुरी, निवेदन लियो । त्यसबेला लगभग ३५०० को हाराहारीमा पीडितहरुको निवेदन परेको थियो । भदौ २७ गते मिटर ब्याज आर्थिक अपराधसम्बन्धी प्रतिवेदन सार्वजनिक भयो । र, त्यो प्रतिवेदनमा टेकेर हामीले असोज १ गते राज्यसँग ५ बुँदे सहमति पनि गर्‍यौँ ।

पाँचबुँदे सहमति अनुसार सरकारले यसको कानुन छिटोभन्दा छिटो पठाउँछौँ भन्यो । तर नेताहरूलाई चुनाव लागिसकेको थियो, हाम्रो समस्या हेर्न सकेनन् । हाम्रो सङ्घर्ष समितिले त्यतिबेला आफ्नो मत बहिष्कार गरेको थियो । किनभने हामी संख्यामा कम, क्षमतामा पनि कम, हामीलाई त्यतिका दलले सहयोग नगरेपछि हामीले आफ्नो मत कसलाई दिने ? हामीले मत बहिष्कार गर्‍यौँ ।

बर्दिबास–काठमाडौँ पैदलयात्रा

त्यसपछि हाम्रो बर्दिबास–काठमाडौँ पैदल यात्रा शुरु भयो । पैदल यात्रापछि १८ गते अर्को सम्झौता भयो । त्यो सम्झौतास्वरूप राज्यले आयोग गठन गर्‍यो र करिब २८ हजार निवेदन पनि लियो । गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको त्यो आयोगले एउटा ठूलो दाबी र हल्लाखोर प्रचार पनि गर्‍यो कि ५५ सय मुद्दाहरू मिलिसकेका छन्, जग्गाहरू पनि फिर्ता भइसकेका छन्।

तर, त्यो आयोगमा जति पनि मिलापत्र भएका थिए, त्यो एउटा सहमतिमात्रै थियो, जुन सहमतिलाई अहिलेको न अदालतले टेर्छ, न कहीँ कतै लागु नै हुन्छ । हरेक जिल्लाका सिडिओ आफैँ भन्नुहुन्छ कि, या त यो मुद्दालाई राज्यले फिर्ता लिएको घोषणा गर्दिनुपर्‍यो, कि त मिटर ब्याजको समस्या यो देशमै छैन भन्नुपर्‍यो । होइन भने समाधान गर्ने किसिमको नीति, विधि, कार्यविधि पठाएर पठाउनुपर्‍यो । माथिबाट त्यो नआउँदा अहिले सिडिओहरूलाई पनि अप्ठ्यारो भइरहेको छ ।

एकातिर आयोगमा निवेदन परेको हुन्छ, सिडिओमा छलफल राखिन्छ, तर त्यो कुनै काम लाग्दैन । अर्कोतिर अदालतमा पनि मुद्दा परेको हुन्छ । यहाँनेर सबभन्दा बढी अदालत र सरकारबीच द्वन्द्व भइरहेको छ । यस बीचमा मिटर ब्याज पीडितहरू थप समस्यामा परिरहेका छन् ।

अघि नै मैले भनेँ, धनुषामा हाम्रो पीडित पक्राउ परिसक्नुभयो र जेल पनि पठाइसके । यो सरकार (बालेन सरकार) आएलगत्तै लगभग ३०० को हाराहारीमा हाम्रा पीडितहरू जेल गइसकेका छन् ।

योभन्दा पहिला एक किसिमको सानोतिनो समन्वय पनि हुन्थ्यो, छलफलमा बोलाइन्थ्यो, पीडितको समस्या के छ, साहुको समस्या के हो, के छ भनेर सोधिन्थ्यो । तर, अहिले बोलाउने पनि काम हुँदैन। आयोगमा परेको ७० हजार पीडितका उजुरीहरू र प्रहरी प्रशासनले लुकाएर राखेको निवेदनहरू जगाउने र पीडितको डाटा सङ्कलन गरेर पक्रने काम मात्रै गरिरहेको छ अहिलेको सरकारले । जेलमा पठाउने काम मात्रै भइरहेको छ ।

यसले गर्दा, हिजोका जति पनि आयोग बन्यो, नीति नियम आयो, कानुन आयो, हामीलाई के लागेको छ भने एक किसिमको टार्ने काम मात्रै भइरहेको छ ।

हामीले सुरुदेखि नै यो समस्यालाई गम्भीरतापूर्वक लिएको हो । मैले सुरुमै भनेँ कि यो आन्दोलनको जुन विकासक्रम थियो, यो पीडाबाट उठेको आन्दोलन हो । पीडाबाट जुन आन्दोलन उठ्छ, त्यो कहिल्यै हार मान्ने आन्दोलन हुँदैन ।

हामीले यो सरकारलाई भनिसकेका छौँ कि मिटर ब्याज पीडितहरूमाथि हिजोको दिनमा धेरै दमन भयो । हाम्रा पीडित साथीहरूको हात भाँचियो । टाउको फुट्यो । पक्राउ गर्ने र जेलमा हाल्ने लगायत राज्यले विभिन्न किसिमको दमन गर्‍यो । ती सबै दमनका बावजुद पनि हाम्रा पीडित साथीहरूले, हाम्रा योद्धा साथीहरूले हार मानेनन् । समाजमा जुन प्रकारको शोषण भइरहेको छ, त्यसलाई चिरेर अगाडि ल्याए । आगामी दिनमा पनि समाधानको बाटो निस्केन भने हामी आन्दोलनमा नै आउनेवाला छौँ।

(कुशवाहा मिटरब्याज विरुद्ध किसान मजदुर सङ्घर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष हुन्)

यो पनि-

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

 

ताजा अपडेट

Discover Playzee Casino Sister Sites Where Thrilling Adventures Await

२४ असार २०८३

Thor Fortune svela opportunità irresistibili nel mondo del trading

२४ असार २०८३

Gamblerina Nederland Ontketent je Winnaarsmentaliteit en Durf

२४ असार २०८३

सम्बन्धित खवर

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...