काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । डीनको कार्यालयका अनुसार २०८३ असार ४ गतेको सूचनाबमोजिम अनलाइन आवेदन फाराम भरेका आवेदकहरूको प्रवेश परीक्षा २०८३ साल साउन २३ गते सञ्चालन भएको थियो । जम्मा १६५४ जना परीक्षार्थीमध्ये १५०० जना परीक्षामा सहभागी भएका थिए भने १५४ जना अनुपस्थित रहेका थिए ।
उपस्थित परीक्षार्थीहरूमध्ये ३४५ जना अनुत्तीर्ण र ११५५ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षाको नतिजाका आधारमा कोटासहित योग्यताक्रम (मेरिट लिस्ट) मा रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको छ।
कुल ५७० सिटका लागि नतिजा सार्वजनिक गरिएको हो। जसअनुसार नेपाल ल क्याम्पस, काठमाडौंका लागि १६०, पृथ्वीनारायण क्याम्पस, पोखराका लागि ८०, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जका लागि ७०, बुटवल बहुमुखी क्याम्पस, बुटवलका लागि ७०, महेन्द्र बहुमुखी क्याम्पस, धरानका लागि ७० र त्रिविको सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपाका लागि १२० सिट गरी कुल ५७० सिट निर्धारण गरिएको छ।
त्रिवि सिमेस्टर प्रणाली विनियम, २०७४ र आंगिक क्याम्पसमा आरक्षणसम्बन्धी विनियम, २०७४ बमोजिम योग्यताक्रमअनुसार सम्बन्धित क्याम्पसले भर्नाका लागि सूचना प्रकाशित गरी तोकिएको मितिभित्र सम्पर्कमा आएका मेरिट लिस्टका परीक्षार्थीहरूमध्येबाट भर्ना लिनेछ। विपन्न समुदायका लागि आरक्षित सिटमा सम्बन्धित वर्गका बीचको प्रतिस्पर्धाका आधारमा योग्यताक्रमानुसार भर्ना लिइने व्यवस्था रहेको छ ।
हेर्नुहोस् नतिजा –

