१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

जस नेपाल

१ भदौ २०८३

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद र वितरणमा भएको अनियमिततामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आ.व. २०७९/८० मा सार्वजनिक खरिद ऐन र नियमावलीको विपरित  लागत अनुमानमै १५ प्रतिशत थप, खरिद टुक्र्याउने, मिलेमतोमा सोझै खरिद र दोहोरो भरपाईजस्ता गम्भीर अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार औरही नगरपालिकाले ह्याण्डपम्प खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को स्पष्ट उल्लंघन गर्दै मालसामानको दररेटमा कन्ट्र्याक्टर ओभरहेडका नाममा १५ प्रतिशत थप गरी लागत अनुमान स्वीकृत गराइएको थियो। एउटै वस्तुको खरिदलाई पटक-पटक टुक्र्याएर प्रतिस्पर्धा सीमित पार्ने, बोलपत्र मार्फत खरिद गर्नुपर्ने ठाउँमा सिलबन्दी दरभाउपत्र र सोझै खरिद गर्ने, आपूर्तिकर्तासँग मिलेमतो गर्ने तथा वितरण भएको भनिएका चापाकलहरूको भरपाईसमेत विश्वसनीय प्रमाण पेस गर्न नसक्ने अवस्था देखिएको हो । दोहोरो भरपाई तयार पारी भुक्तानीसमेत लिइएको र दिइएको भन्ने आरोप लगाइएको छ।

मुख्य प्रतिवादीहरूमा औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली (बिगो रु. ३६ लाख १३ हजार ३१), तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव (रु. २० लाख ४९ हजार ४५०), सव-इन्जिनियर बिपिन कुमार मण्डल (रु. २० लाख ४९ हजार ४५०), लेखापाल बिजय कुमार यादव (रु. ३६ लाख १३ हजार ३१), जिन्सी शाखा प्रमुख शिव शंकर यादव (रु. १५ लाख ६३ हजार ५८१) र योजना शाखा प्रमुख गंगाराम यादव (रु. ३६ लाख १३ हजार ३१) छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी लिइएको छ।

त्यसैगरी आपूर्तिकर्ता पक्षमा लिला आयरन स्टोर्स औरही र स्टोर्सका प्रोप्राइटर विनय कुमार यादव (रु. ५ लाख ३४ हजार ८७६.८१), डि.एम. जेनरल अर्डर सप्लायर्स जलेश्वर र सप्लायर्सका प्रोप्राइटर दुधनाथ कुमर (रु. ११ लाख ८९ हजार ४७१.३६),आपूर्तिकर्ता श्री राम इन्टरप्राइजेज जलेश्वर र इन्टरप्राइजेजका अमरनाथ कुमर (रु. २ लाख २० हजार १९७.३६ ),  जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स) औरही र निर्माण सेवाका प्रोप्राइटर रामबाबु चौधरी (रु. ७ लाख ९ हजार ६२३.९२) र क्वालिटी सोलुसन कम्पनी प्रा.लि. ललितपुर र कम्पनीका प्रबन्ध निर्देशक मनोज कुमार यादव (रु. ७ लाख ११ हजार ९००) लाई मतियारका रूपमा दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय र संस्थागत रूपमा दफा २३(क) बमोजिम सजायको मागदाबी लिइएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यी सबै प्रतिवादीहरूले नियमविपरीत खरिद प्रक्रिया अपनाई स्थानीय सरकार र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि भएकाले विशेष अदालत,काठमाडौँमा  आरोपपत्र दायर गरिएको हो।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा पुजारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा पुजारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा नक्कली कागजात तयार...

अदालतबाट सजाय पाएर पनि फरार राहेका चार जना पक्राउ

अदालतबाट सजाय पाएर पनि फरार राहेका चार जना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना...

अनलाइन ठगीका घटना नियन्त्रणमा म्याग्दी कमजाेर, एक वर्षमा ८४ लाख गुमाए

अनलाइन ठगीका घटना नियन्त्रणमा म्याग्दी कमजाेर, एक वर्षमा ८४ लाख गुमाए

म्याग्दी । आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै...

टिपेक्स लगाएर हाजिरी सच्याउने प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

टिपेक्स लगाएर हाजिरी सच्याउने प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका...