काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। कर लेखापरीक्षणका नाममा सेवाग्राहीलाई दुःख दिएर पाँच लाख रुपैयाँ घुस माग्ने र लिने गरेको आरोप उनीहरूमाथि छ।
जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पालले आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात मिलेन भन्दै सेवाग्राहीलाई हैरान पार्दै घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो। उक्त टोलीले निजलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धान अनुसार पालले २०७८/७९ देखिको लेखापरीक्षण र कर निर्धारण गर्दा बिल-बिजक मिलेन, मिलाउनुपर्छ नत्र काम हुँदैन भन्दै विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म कम्पनीहरूलाई दबाब दिएका थिए। उनले चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवमार्फत बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस लिएका थिए।
अख्तियारले यो कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर मानेको छ। त्यसैले निजविरुद्ध बिगो पाँच लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र विगोबमोजिम जरिवाना मागदाबी लिइएको छ।
त्यस्तै चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवले प्रतिवादी पालसँग मिलेमतो गरी सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेका र घुस दिन लगाई दुरुत्साहन गरेको देखिएकाले उनीमाथि दफा ३ को उपदफा (४) बमोजिमको कसुर कायम गरिएको छ। उनलाई पनि उक्त ऐनअनुसार कैद र जरिवाना मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति –


