काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त पीडितहरूको मागप्रति नेपाल बार एसोसिएशनको मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिले सरकारलाई उनीहरूको समस्या बुझेर तत्काल सम्बोधन गर्न र मानव अधिकारको उच्च सम्मान गर्न आग्रह गरेको छ।
समितिले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार लघुवित्तको ऋण तथा ब्याज मिनाहा हुनुपर्ने र ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने लगायतका माग राखेर देशका विभिन्न जिल्लाबाट काठमाडौँसम्म पैदलै आएका पीडितहरूले मध्य वर्षायाममा घाम-पानीको ख्याल नगरी शान्तिपूर्ण रूपमा अभियान सञ्चालन गरिरहेका छन् । उनीहरूले माइतीघर मण्डला तथा पुलचोकमा धर्ना गरिरहेका छन्। समितिले समस्या समाधानका लागि सरकारलाई तत्काल चासो दिन र उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमार्फत यसअघि गठन भएका समितिहरूको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष अनुरोध समेत गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति –


