काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट निवेदनहरूको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ ।
मुख्य मुद्दा दर्ता नम्बर ०८२-WO-१२९२ मा अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको उत्प्रेषणको रिटमा आज माननीय न्यायाधीशद्वय श्री टेकप्रसाद ढुङ्गाना र श्री श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको छ । यो मुद्दासँग सम्बन्धित अन्य रिटहरू ०८२-WO-१२०६ र ०८२-WO-१४०४ पनि विचाराधीन छन् ।
डा. सिलवालले आयोग गठनलाई असंवैधानिक, क्षेत्राधिकारविहीन र प्रचलित संवैधानिक व्यवस्थाविपरीत भएको दाबी गर्दै खारेजीको माग गरेका छन् । आयोगको अध्यक्षमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेशबहादुर केसी र प्रकाश लम्साल रहेका छन् ।
सरकारले वैशाखमा गठन गरेको यो आयोगले २०६२/६३ देखि हालसम्मका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ । रिट निवेदकले आयोगको गठन प्रक्रिया, क्षेत्राधिकार र संवैधानिक आधारमाथि नै प्रश्न उठाएका छन् ।
यो मुद्दामा यसअघि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

