जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

२६ मंसिर २०८२

जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

काठमाडौं । तीन महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलनबाट बार र बेञ्च दुबै प्रभावित बने । उक्त आन्दोलनमा के–कति क्षति भयो भन्ने विवरण बुधबार र विहीबार जनकपुरधाममा आयोजित दुई दिने कार्यक्रममा न्यायाधीश र कानून व्यवसायी दुबैतर्फबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा जनाइएअनुसार देशभरि २३ वटा अदालत जलेका छन् । नेपाल बार एशोसिएन केन्द्रीय कार्यालय भवन र ११ वटा बार एकाईका भवनहरुमा क्षति पुगेको छ । करिब ९ लाख ३६ हजार मिसिल र कागजात जलेर खरानीमा परिणत भएका छन् ।

कार्यक्रममा बुधबार बोल्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भने, ‘गएको भाद्र २४ गते हाम्रा अदालतका भवनहरु जलाइए । मिसिलहरु जले । बार एशोसिएसन पनि जलाइयो । ती जनताका मिसिलहरु, जनताका धरोहर र सम्पत्ति थिए । हजारौं मिसिलहरु खरानी भए ।’

प्रधानन्यायाधीश राउतले क्षतिको विवरण प्रस्तुत गर्दै भने, ‘झण्डै–झण्डै ३६ हजार चलेका मुद्दाका मिसिलहरु जलेका छन् । करिब ९ लाख अभिलेखका मिसिलहरु जलेका छन् ।’

प्रधानन्यायाधीश राउत थप्छन्, ‘९ लाखमा सर्वोच्चका मात्रै १ लाख ९७ हजार मिसिल जलेका छन् । काठमाडौं जिल्ला अदालतका १९९० सालदेखिका ३ लाख ५० हजार मिसिल जलेका छन् । देशभर गरेर जम्मा ९ लाख मिसिल जलेको छ ।’

बारलाई कति भयो क्षति ?

जनकपुरधाममा विहीबार आयोजित नेपाल बार एशोसिएसनको ५१ औं केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महासचिव बरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले प्रतिवेदन प्रस्तुत गर्दै जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पेश गरेका छन् ।

महासचिव कोइरालाको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीमा आम नागरिकहरुको आस्थाको धरोहरका रुपमा रहेको सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतहरु लगायत २३ वटा अदालत र नेपाल बार एशोसिएन केन्द्रीय कार्यालय भवन एवं ११ वटा बार एकाईका भवनहरुमा क्षति भएको छ ।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालयको भुईंतलामा रहेको सर्वोच्च अदालत बारको कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको छ । भौतिक क्षतिको विवरण मुचुल्का गरी राखिएको छ ।’

काठमाडौं उपत्यकामा तीनवटा ल फर्म र उपत्यका बाहिर १२ वटा ल फर्महरुमा आगजनी, तोडफोड र लुटपाट भएको प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा विभिन्न स्थानमा कानून व्यवसायीहरुको निजी निवास पूर्णरुपमा आगजनीबाट क्षति भएको र ६ वटा सवारी साधनमा आगजनी भई नष्ट भएको प्रतिवेदनमा जनाइएको छ । नेपाल बार एशोसिएसनको एउटा सवारी साधन कार्यालय परिसरमै आगजनी गरी पूर्णरुपमा नष्ट गरिएको महासचिवको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पाँचवटा जिल्ला कानूनी सहायता समितिको कार्यालय र नेपाल कानून व्यवसायी परिषदको गण्डकी सम्पर्क कार्यालय समेतमा क्षति पुगेको जनाइएको छ ।

प्रदर्शनकै क्रममा कानूनी व्यवसायी हरिहर सिलवाल घाइते भएको र वीर अस्पतालमा उपचार भई निको भएको बार एशोसिएसनले जनाएको छ ।

कानून व्यवसायीहरुका क्षतिग्रस्त निजी निवास एवं ल फर्महरुको नेपाल बार एशोसिएसन कार्यसमितिबाट अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरिएको महासचिव कोइरालाले बताएका छन् ।

नेपाल बार एशोसिएसनद्वारा जनकपुरधाममा आयोजित दुई दिने कार्यक्रमका सम्पूर्ण दस्तावेज जस नेपालमा पढ्नुहोस्–

जनकपुरमा प्रधानन्यायाधीशको सम्वोधन : अदालतका ९ लाख मिसिल जले, हाम्रो संकल्प जलेको छैन

वकिलको पेसागत हित र न्यायालयको सुधारका सन्दर्भमा बारको १९ पन्ने प्रतिवेदन (पूर्णपाठ)

जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

जनकपुर घोषणापत्र : ओलीलाई स्थान हद तोकेकोमा बारको आपत्ति (पूर्णपाठ )

शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

आज म उग्र छैन, पदको गरिमा थाहा छ !

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

 

सम्बन्धित खवर

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...