महान्यायाधिवक्ताको कार्यालयले आफ्ना कार्यसम्पादनहरूलाई रणनीतिक योजनासँग आबद्ध गरेर कार्य सम्पादन गर्ने कुराको प्रारम्भ २०६८ सालको साउन महिनाबाट गरेको थियो । जुन २०६८/६९ देखि २०७२/७३ सम्म महान्यायाधिवक्ताको कार्यालयको प्रथम पञ्चवर्षीय रणनीतिक योजनाका रूपमा कार्यान्वयनमा रहेको थियो । यसरी योजनामा आबद्ध भएर कार्यसम्पादन गर्ने सन्दर्भमा यसले एउटा कोसेढुङ्गाको रूपमा काम गरेको थियो र केही अनुभवहरू पनि दिलाएको थियो ।
दोस्रो पञ्चवर्षीय रणनीतिक योजना, जुन संस्थागत सुदृढीकरण र व्यावसायिकता विकासमा केन्द्रित भएर कार्यान्वयनमा ल्याइएको थियाे । त्यो आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म कार्यान्वयनमा रहेको थियो ।
त्यसैगरी तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, जुन अभियोजनमा सुधार र व्यावसायिकता विकासमा केन्द्रित भएर कार्यान्वयनमा ल्याइएको थियो, त्यो आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/८३ सम्म कार्यान्वयनमा रहेको थियो । र अहिले हामीले यसै साउन १ गतेदेखि अथवा आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक वर्ष २०८७/८८ सम्मका लागि महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरेर कार्यान्वयन प्रारम्भ गरेका छौँ । यो रणनीतिक योजनाको मुख्य नारा वा विषय ‘फौजदारी न्यायको सुदृढीकरण’ मा केन्द्रित रहने गरी त्यतातर्फ लक्षित गरेर तर्जुमा गरिएको छ ।
यो रणनीतिक योजना महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिबाट मिति २०८०/०३/१५ को निर्णयबाट स्वीकृत भएर कार्यान्वयनमा आएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिमा माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा चार जना नायब महान्यायाधिवक्ताज्यूहरू सदस्य र प्रशासन महाशाखा हेर्ने सहन्यायाधिवक्ता सदस्य-सचिव रहनुहुन्छ । यद्यपि, यो तर्जुमा गर्ने क्रममा सम्पूर्ण सरकारी वकिलहरूलगायत सबैसँग छलफल गरेर अन्तिममा निर्णय गरी स्वीकृत गर्ने गरिन्छ ।
तेस्रो रणनीतिक योजनाको बारेमा, जसको अवधि भर्खरै सम्पन्न भएको छ । म थोरै निवेदन गर्न चाहन्छु । तेस्रो रणनीतिक योजनाले जम्मा पाँचवटा लक्ष्यहरू निर्धारण गरेको थियो ।
१. अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउने ।
२. मुद्दा तथा रिटको प्रभावकारी प्रतिरक्षा गर्ने ।
३. संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्ने ।
४. सरकारी वकिल सेवालाई व्यावसायिक बनाउने ।
५. संस्थागत सुदृढीकरण गर्ने ।
ती पाँचवटा लक्ष्यहरूअन्तर्गत २९ वटा रणनीतिहरू र कार्यान्वयनका लागि २०४ वटा क्रियाकलापहरू प्रक्षेपण गरिएको थियो । तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मूल्याङ्कनअनुसार ती लक्ष्य, क्रियाकलाप र रणनीतिक उद्देश्यहरूको समग्र कार्यान्वयन अवस्था ७१.०८ प्रतिशत रहेको छ । कार्यान्वयन हुन नसकेका बाँकी अंशमा बजेटलगायत विभिन्न पक्षहरूले असर पारेका हुन् ।
अब म चौथो पञ्चवर्षीय रणनीतिक योजनाको बारेमा थोरै जानकारी गराउँछु । यो रणनीतिक योजना तर्जुमाका लागि मुख्यतः तीनवटा संयन्त्रहरू रहेका थिए ।
पहिलाे योजना तर्जुमा निर्देशक समिति: माननीय महान्यायाधिवक्ताज्यूको संयोजकत्वमा रहेको यस समितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू र नायब महान्यायाधिवक्ताज्यूहरू हुनुहुन्थ्यो ।
दाेस्राे योजना तर्जुमा समिति: महान्यायाधिवक्ताको कार्यालयको योजना विभाग हेर्ने नायब महान्यायाधिवक्ताको संयोजकत्वमा गठन भएको थियो । (अहिले यो जिम्मेवारीमा म नायब महान्यायाधिवक्ता, लोकराज पराजुली आफैँ रहेकाले यसको संयोजक म थिएँ।)
र तेस्राे योजना तर्जुमा कार्य समूह : सहन्यायाधिवक्ताको संयोजकत्वमा गठन भएको थियो ।
यी तीन संयन्त्रमध्ये योजना तर्जुमा कार्य समूहले प्रारम्भिक मस्यौदा तयार गर्ने, त्यसपछि योजना तर्जुमा समितिले सरोकारवालाहरूसँग विहङ्गम छलफल गरी मस्यौदालाई निर्देशक समितिमा पेस गर्ने रूप दिने, र निर्देशक समितिबाट प्राप्त निर्देशन तथा सुझावहरू समावेश गरी अन्तिम रूप दिएपछि व्यवस्थापन समितिबाट स्वीकृत हुने पद्धति अपनाइएको थियो ।
- यस चौथो पञ्चवर्षीय रणनीतिक योजनाको:
- नारा : ‘फौजदारी न्यायको सुदृढीकरण’
- परिदृश्य (Vision) : ‘कानुनी शासनको सुनिश्चितता’
- परिलक्ष्य (Mission) : ‘वैज्ञानिक प्रमाणमा आधारित अभियोजन तथा प्रभावकारी प्रतिरक्षा गर्ने व्यावसायिक संस्थाका रूपमा स्थापित हुनु’
- मूल्यहरू (Values) : कानुन तथा न्यायका मान्य सिद्धान्तको पालना :
- १. जिम्मेवारी तथा उत्तरदायित्व बोध
- २. पारदर्शी तथा प्रभावकारी सेवा प्रवाह
- ३. पेसागत निष्पक्षता, व्यावसायिक स्वतन्त्रता तथा दक्षता अभिवृद्धि
- ४. निरन्तर सिकाइ तथा प्रक्रियागत सुधार
- ५. मानव अधिकारको संरक्षण
- ६. लैङ्गिक र कमजोर वर्गप्रति संवेदनशीलता
- ७. अपराध पीडित तथा साक्षी संरक्षण
यस योजनाका प्राथमिकताका पाँच क्षेत्रहरू :
१. वस्तुनिष्ठ अभियोजन
२. प्रभावकारी प्रतिरक्षा
३. संवैधानिक तथा कानुनी जिम्मेवारी
४. सूचना प्रविधि
५. मानव संसाधन र भौतिक पूर्वाधार
यी प्राथमिकताका क्षेत्रहरूअन्तर्गत निर्धारण गरिएका लक्ष्य, रणनीतिक उद्देश्य र क्रियाकलापहरू यस प्रकार छन्:
१. वस्तुनिष्ठ अभियोजन :
- लक्ष्य:अभियोजनलाई वैज्ञानिक र भौतिक प्रमाणमा आधारित बनाउने।
- रणनीतिक उद्देश्य : ७ वटा
- क्रियाकलाप : ४५ वटा
२. प्रभावकारी प्रतिरक्षा :
- लक्ष्य:बहस, पैरवी र प्रतिरक्षा प्रभावकारी रूपमा गर्ने ।
- रणनीतिक उद्देश्य : ४ वटा
- क्रियाकलाप :२२ वटा
३.संवैधानिक तथा कानुनी जिम्मेवारी :
- लक्ष्य:संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्ने।
- रणनीतिक उद्देश्य : ६ वटा
- क्रियाकलाप : २३ वटा
४. सूचना प्रविधि :
- लक्ष्य : सूचना प्रविधिमा आधारित कार्यसम्पादन गर्ने।
- रणनीतिक उद्देश्य : ४ वटा
- क्रियाकलाप : २१ वटा
५. मानव संसाधन र भौतिक पूर्वाधार :
- लक्ष्य : सरकारी वकिल संस्थाको सुदृढीकरण गर्ने ।
- रणनीतिक उद्देश्य : ७ वटा
- क्रियाकलाप : ४३ वटा
यसरी चौथो पञ्चवर्षीय रणनीतिक योजनामा प्राथमिकताका क्षेत्र ५ वटा, लक्ष्य ५ वटा, रणनीतिक उद्देश्य २८ वटा र क्रियाकलाप १५५ वटा रहेका छन् भने प्रक्षेपित बजेट रु. ३ अर्ब ४० करोड ४१ लाख ३० हजार रहेकाे छ ।
यस योजनाको विस्तृत विवरण महान्यायाधिवक्ताको कार्यालयको वेबसाइटको ‘रणनीतिक योजना’ (Strategic Plan) पोर्टलमा उपलब्ध गराइनेछ ।
(महान्यायाधिवक्ता कार्यालयले सोमबार आयोजना गरेको चौथो रणनीतिक पञ्चवर्षीय योजना सार्वजनिकीकरण कार्यक्रममा नायब महान्यायाधिवक्ता पराजुलीद्वारा गरिएको संक्षिप्त संवोधनको सम्पादित अंश)
भिडियाेमा हेर्नुहाेस् :

