काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिएकी छन् ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै मन्त्री गौतमले घर वा विद्यालयमा बोलेर मात्र मातृभाषा जोगाउन नसकिने भएकाले पत्रकारिताका माध्यमबाट यसको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताइन् ।
नेपालका दूरदराजमा रहेका नागरिक अझै पनि राज्यका सूचनामा सहज पहुँचबाट टाढा रहेकाले त्यो दूरी मेटाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरिन् । पत्रकारिता क्षेत्रमा देखिएका समस्या तथा असन्तुष्टिका कारण पहिचान गरी आत्मसमीक्षासहित सुधारको बाटोमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।
मन्त्री गौतमले पत्रकारहरूलाई आफ्ना मातृभाषा र समुदायका नागरिकसम्म सूचना पुर्याउन गर्वका साथ आफ्नै भाषा प्रयोग गर्न आग्रह गरिन् ।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा मातृभाषा पत्रकारितालगायत विभिन्न विषयमा छलफल हुने आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले जनाएको छ ।

