बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१४ माघ २०८२

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा भ्रष्टाचार गरेको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेशबहादुर अधिकारी, उक्त विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट र पालिकाकै तत्कालीन सब-इन्जिनियर किरण भण्डारीविरुद्ध आज (बुधबार) विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

विद्यालयको तीन तले १२ कोठे भवन निर्माणमा नेपाल सरकार एवं विद्यालयको गरी ५५ लाख ५४ हजार ६८३ रुपैयाँ १२ पैसा सम्पत्ति हानिनोक्सानी, हिनामिना तथा दुरूपयोग गरी उनीहरूले गैरकानूनी लाभ लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

विद्यालय भवन बनाउन सम्झौता अनुसार तीन करोड ५५ लाख ५१ हजार ४८२ रुपैयाँ ७५ पैसा रकमको लागत अनुमान तयार गरी नमूना विद्यालय कार्यक्रम कार्यान्वयनका लागि बित्थडचिर गाउँपालिका र सुनकुडा माध्यमिक विद्यालय बीच सम्झौता भएको थियो ।

आयोगका अनुसारस सम्झौतामा गाउँपालिकाले उपलब्ध गराउने रकमको हिस्सा तथा सम्झौता कहिले सम्पन्न भएको भन्ने समेतका मिति उल्लेख भएको नदेखिएको, गाउँपालिका र विद्यालयबीच भएको सम्झौता बमोजिम उक्त सुनकुडा माध्यमिक विद्यालयको तीन तले १२ कोठे नमूना विद्यालय भवन निर्माण गर्दा प्रचलित सार्वजनिक खरिद ऐन नियमका कानूनी व्यवस्थाहरूको अनिवार्य पालना गरी बोलपत्रमार्फत निर्माण गर्नुपर्नेमा सो नगरी विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गरिएको देखिएको हो ।

उक्त विद्यालयको भवन निर्माण कार्यको वास्तविक भएको निर्माण कार्यभन्दा अन्तिम बिलरनापी किताबमा बढी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि कारवाही अगाडि बढाएको देखिएको आयोगले जानकारी दिएको छ ।

यसरी कारवाही अगाडि बढाउँदा निर्माणस्थलको स्थलगत नापजाँच बमोजिमको फिल्डमा भएको निर्माण तथा लगानी खर्च परिमाणलाई पहिले तयार भएको काम तथा बिल भुक्तानीसँग तुलनात्मक अध्ययन विश्लेषण गरी सोही अनुसार परिमाणसँग प्रत्येक आइटमहरूको तुलना गर्दा सार्वजनिक निर्माणतर्फ वास्तविक निर्माण कार्यभन्दा १७ लाख ७५ हजार २७ रुपैयाँ १२ पैसा बढी मूल्याङ्कन गरी रकम भुक्तानी गरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि भएको पाइएको आयोगले जनाएको छ ।

यसैगरी वाइरिंग तथा मेसिनरी औजारमा सामाजिक लेखापरीक्षण अनुसार खर्च भएको वास्तविक रकमभन्दा बढी दुई लाख २६ हजार ७५२ रुपैयाँ बराबरको नभए नगरेको कामलाई भए गरेको देखाइएको पाइएको छ ।

साथै दुई आर्थिक वर्ष (२०७६/७७ र २०७७/७८) मा विद्यालयको लेखापरीक्षण प्रतिवेदनमा सुनकुडा माध्यमिक विद्यालय नमूना विद्यालयको रूपमा छनोट भई भवन निर्माणका लागि आवश्यक सामान खरिद गर्दा नियमानुसार लाग्ने अग्रीम आय सम्बन्धित सप्लायर्सबाट, सामाजिक सुरक्षा कर सम्बन्धित कामदारबाट र बहाल कर सम्बन्धित सवारीधनीबाट कट्टा गरी बाँकी रकम भुक्तानी दिनुपर्ने कानूनी दायित्व जिम्मेवारी र कर्तव्य हुँदाहुँदै गैरकानूनी लाभ लिने दिने उद्देश्यले सो नगरी कर बापतको रकम विद्यालयको आन्तरिक कोषबाट कर दाखिला गरेको देखिएको छ ।

प्रतिवादीहरूले २६ लाख ५४ हजार ६८३ रूपैयाँ १२ पैसा गैरकानूनी लाभ लिएको पुष्टि भएकोमा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर भएकोले आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको हो ।

सम्बन्धित खवर

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...