काठमाडौँ । देशका ठूला ठेक्का र वित्तीय प्रणालीमा बिचौलियाको काम गरेको आरोप खेपेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भट्टलाई काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको जानकारी दिएको छ ।
पाटनमा समातिएका भट्टमाथि सम्पत्ति शुद्धीकरण मामिलामा अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै भट्ट, उनको परिवार र साझेदारहरूको सम्पत्तिबारे अनुसन्धान थालिसकेको थियो ।
विभागले नै भट्टको राहदानी कालोसूचीमा राख्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अध्यागमन विभागले भट्टको राहदानी कालोसूचीमा राखेको छ ।

