काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार अभियुक्त टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छिन् । थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई नेपाल प्रहरीको टोलीले नेपाल ल्याएको हो ।
ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेर पछि बलात्कार आरोप फसाइदिने भन्दै निज अधिकारीले ब्ल्याकमेलिङ गरी करोडौँ रकम ठगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । आफूविरुद्ध सम्बन्धित पक्ष प्रहरीकहाँ पुगेको थाहा पाउनासाथ अधिकारीले नेपाल छाडेकी थिइन् ।
अधिकारीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)बाट रेड नोटिस नै जारी गरेको थियो । प्रहरीले अनुसन्धान सकेर अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी २०८२ चैत ६ मा जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर गरेको थियो ।
इन्टरपोलकै सहयोगमा समातिएकी अधिकारीलाई प्रहरीले थुनछेक निम्ति अदालतमा उपस्थित गराउँदैछ । हाल जिल्ला प्रहरी परिसर, ललितपुरको जिम्मामा रहेकी अधिकारीमाथि प्रहरीले बयान लिने, उनले गरेको आर्थिक लेनदेनको थप अनुसन्धान गर्ने तथा उनीसँग ठगीमा संलग्न भनिएका तथा पीडित भएका भनिएका अन्य व्यक्तिबारे अनुसन्धान गर्नेछ ।
अधिकारीविरुद्ध गएको साउनमा प्रहरी वृत्त सातदोबाटोमा ठगी र आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो । अधिकारीले टिकटिकबाट ब्ल्याकमेलिङ भन्दै ललितपुरको सातदोबाटोस्थित एक अटोमोबाइल्स (सवारीसाधन किनबेच गर्ने) व्यवसायीले प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीलाई लिएर अनुसन्धान गर्दा अधिकारीको खातामा ठूलो रकम कारोबार भएको भेटिएको थियो ।
चीनमा पटकपटक पुग्ने गरेकी अधिकारीको बैङ्क खातामा स्रोत खुल्न नसकेको करोडौँ रकम कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान अघि बढाइएको थियो ।
ताजा अपडेट
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
१७ जेठ २०८३बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध
१७ जेठ २०८३
