बलेलाई जाहेरीबिना नै हिरासतमा किन ?

जस नेपाल

२३ चैत २०८२

बलेलाई जाहेरीबिना नै हिरासतमा किन ?

काठमाडौँ । शनिबार कपनको बालुवाखानीबाट पक्राउ परेका हास्यकलाकार सागर लम्साल ‘बले’लाई जिल्ला प्रशासनले अभद्र व्यवहार कसुरमा पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुक स्टाटस लेख्दै बलेले एक वर्षअघि आफूलाई बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले तत्कालै उनीमाथि कारबाही अघि बढाएको हो ।

तर, रोचक कुरा के छ भने बलेले बलात्कार गरेको भनी प्रहरीमा औपचारिक जाहेरी परेको छैन । एउटा सामाजिक सञ्जालको पोस्टलाई मात्र आधार बनाएर प्रहरीले पक्राउ गरेको छ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शान्ति सुरक्षा कसुरमा अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप दिएका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ । बलात्कारजस्तो अनुसूची-१ को कसुरमा पीडितले लिखित/मौखिक/विद्युतीय जाहेरी दिनुपर्छ । तर सो ऐनको दफा ४ को उपदफा (४) मा प्रहरीले अन्य कुनै स्रोतबाट सूचना पाएमा पनि प्रतिवेदन खडा गरेर अनुसन्धान गर्न सक्छ भनी उल्लेख छ ।

युवतीको फेसबुक पोस्टलाई प्रहरीले ‘विद्युतीय सूचना’ मानेर सोही आधारमा मुद्दा दर्ता गरेको हो । अनि बलात्कार मुद्दा नखोलेर ‘अभद्र व्यवहार’ (शान्ति सुरक्षा विरुद्धको कसुर) मा मात्र अनुसन्धान अघि बढाएको छ । यो कसुरमा जाहेरी अनिवार्य नहुने र प्रहरीले सूचनाकै भरमा पक्राउ गर्न सक्ने कानूनी छिद्र प्रयोग भएको देखिन्छ ।

उक्त ऐनको दफा ९ अनुसार ‘मनासिब कारण’ देखाएर (जस्तै : प्रमाण नष्ट हुने, भाग्ने, वा अनुसन्धानमा बाधा पुग्ने अवस्थामा) तत्काल पक्राउ गर्न सकिन्छ । २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गर्नुपर्ने नियम छ । त्यसपछि दफा १४ अनुसार सरकारी वकिलमार्फत्‌ मुद्दा हेर्ने अधिकारीसँग थप हिरासत माग्न सकिन्छ ।

जाहेरी नभए पनि ‘सूचना’ को नाममा प्रहरी स्वतः सक्रिय हुन सक्छ र प्रमुख जिल्ला अधिकारीले पाँच दिन (एकै पटक वा पटकपटक)सम्म हिरासतमा राख्न अनुमति दिन सक्छ । यो प्रावधान सामान्यतयाः प्रमाण लोप हुन सक्ने अवस्थामा प्रयोग हुन्छ ।

अहिलेसम्म प्रहरीले युवतीसँग समन्वय गरिरहेको दाबी गरेको छ, तर जाहेरी नआएको स्पष्ट छ । बलेलाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ । यदि युवतीले जाहेरी दिएर प्रमाण पेश गरिन् भने मात्र बलात्कार मुद्दा अघि बढ्न सक्छ, नत्र अभद्र व्यवहारको यो ‘सानो’ मुद्दामा बले छिट्टै छुट्ने सम्भावना छ ।

बले दोषी हुन् कि निर्दोष भन्ने कुरा अदालतले केही समयपछि मात्र फैसला गर्नेछ । तर आम मानिसले हत्कडीको फोटो र भिडियो शेयर गर्दै ‘एक स्टाटसले जीवन प्रभावित भयो’ भन्दै प्रमाणबिना नै एकतर्फी राय बनाउँदैछन्‌ ।

जाहेरीबिना नै अभद्र व्यवहार मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको यो घटनाले नेपालमा सोशल मिडिया ट्रायल कति छिटो र प्रभावशाली हुन सक्छ भन्ने देखाएको छ ।

सम्बन्धित खवर

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री भन्छन् – ‘आफै ठगिएँ’, जग्गाधनी भन्छन् – ‘सुधनले भाडा दिएनन्’

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री भन्छन् – ‘आफै ठगिएँ’, जग्गाधनी भन्छन् – ‘सुधनले भाडा दिएनन्’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको प्रतिक्रिया दिएका छन् ।...

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान...

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द...

सरी बाबा, म बलात्कृत भएँ !

सरी बाबा, म बलात्कृत भएँ !

काठमाडौं । ‘बले’ उर्फ सागर लम्साल क्षेत्री जबजजस्ती करणीको आरोपमा काठमाडौँको बूढानीलकण्ठबाट शनिबार पक्राउ ...