अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

जस नेपाल

७ साउन २०८३

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको पनि सक्रियता बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिलेसमेत तिव्रता पाउन थालेको छ । यिनै सन्दर्भमा आज दिनभर भएका अदालती तथा न्यायिक गतिविधि जस नेपालले प्रस्तुत गरेको छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । कार्कीको नैतिकतामाथि प्रश्न उठाउँदै पाल्पाका भेषराज लुईंटेलले उजुरी दिएका हुन् । उजुरीमा सर्वोच्च अदालतका रजिस्ट्रार रहँदा सार्वजनिक हितसँग सम्बन्धित रिट दर्ता हुन नदिएको निर्णयले संविधानले अपेक्षा गरेको ‘उच्च नैतिक चरित्र’को मापदण्ड पूरा नगरेको दाबी गरिएको छ । प्रस्तावित आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी परेको छैन । संसदीय समितिले साउन १२ र १३ गते सुनुवाइ गर्ने तयारी गरेको छ ।

‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

सरकारले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन उच्चस्तरीय कानून सुधार समिति गठन गरेको छ । कानूनमन्त्री सोविता गौतमको अध्यक्षतामा गठन भएको समितिले प्रचलित कानूनको पुनरावलोकन, संशोधन, खारेज तथा नयाँ कानून निर्माणका लागि सिफारिस गर्नेछ । सरकारले संविधानअनुकूल, जनमैत्री र समयसापेक्ष कानूनी प्रणाली विकास गर्ने लक्ष्यसहित यो अभियान अघि बढाएको जनाएको छ ।

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

झापा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा सात हजार पाँच सय ४९ मुद्दामध्ये चार हजार पाँच सय ३५ वटा मुद्दा फर्छ्योट गर्दै ६० दशमलव शून्य २ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतले ६५ प्रतिशत फर्छ्योट गर्ने लक्ष्य राखे पनि विभिन्न कारणले लक्ष्य पूरा हुन नसकेको प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए । उत्कृष्ट कार्यसम्पादन गर्दै ६२७ मुद्दा फैसला गरेका न्यायाधीश पारसमणि पोखरेल सम्मानित भएका छन् । अदालतले अनलाइन सुनुवाइ, अनलाइन तारेख, स्वचालित पेशी प्रणाली र गोलाप्रथामार्फत इजलास छनोटजस्ता प्रविधिमैत्री व्यवस्था लागू गरी न्याय सेवा थप छिटो, सरल र पारदर्शी बनाइएको जनाएको छ ।

मधेशका तत्कालीन अर्थमन्त्रीसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाहीको बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनामा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले करिब ३९ करोड ३९ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको दाबी गर्दै विगो असुल, कैद र जरिवानाको माग गरेको छ ।

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) का क्रममा घुस मागिएको उजुरीपछि निगरानी गरिएको थियो ।

दिपक भट्टसँग नाम जोडिएका नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीईओ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । व्यवसायी दिपक भट्टसँगको सम्बन्धबारे अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको हो । बिमा ऐन र धितोपत्र ऐनअन्तर्गत दर्ता भएको मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अभियन्ता वेदिका केसी पक्राउ

धर्मभित्रका विकृतिविरुद्ध अभियान चलाउँदै आएकी अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी मुद्दामा बिहीबार उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ । प्रहरीका अनुसार केसीविरुद्ध कथावाचिका राधिका दासीको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको छ ।

कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

कैलालीमा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका एक हजार नौ सय २९ अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधका आठ सय छ मुद्दा रहेका छन् । प्रहरीले एक हजार चार सय ३४ मुद्दाका एक हजार नौ सय ५० प्रतिवादी पक्राउ गरेको जनाएको छ भने फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा पनि उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । यसैबीच ट्राफिक कारबाहीबाट एक करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको र भन्सार छली नियन्त्रण अभियानमा सात करोड ३२ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँमा दुई जनाको साथबाट १३६ ग्राम खैरो हेरोइन, नगद एक लाख रुपैयाँ तथा ठूलो परिमाणमा ट्रामाडोल, टापेन्टाडोल, नाइट्राजेपाम र प्रिग्याबालिन बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, मोरङको रङ्गेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व एसएसपीकाे जग्गा घिताे राखेर चार कराेड ऋण, तीन जना पक्राउ

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गोविन्दकुमार साहले आफ्नो धितोमा रहेको जग्गा पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको भन्दै ठगीमा परेको बताएका छन् । उनले दिएको जाहेरीका आधारमा धनुषा प्रहरीले गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह र छोरा हरेराम साहलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीकाे बयान 

बैंकिङ कसुर मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान लिइएकाे छ । उच्च सरकारी वकिल कार्यालयले चालु पुँजी कर्जा दुरुपयोग गरी ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी रकम अन्य प्रयोजनमा प्रयोग गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । फरार रहेका शङ्करलाल अग्रवाललाई सीआईबीले बुधबार पक्राउ गरी अदालतमा उपस्थित गराएपछि बयान प्रक्रिया अघि बढाइएको हाे ।

भिडियाेमा पनि हेर्नुहाेस् : 

सम्बन्धित खवर

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा उजुरी परेको...