नेपालीलाई लाहुर पठाउने चन्द्रशमशेरको त्यो कडा आदेश

८ वैशाख २०८३

नेपालीलाई लाहुर पठाउने चन्द्रशमशेरको त्यो कडा आदेश

नेपालीहरु विश्वका अधिका‌ंश देशमा छरिएका छन् । विश्वभर छरिने क्रममा सबैभन्दा पहिले कोही ब्यापारी त कोही कलाकारका रुपमा तिब्बत तथा चीन पुगेका उदाहरण पाउँछौँ । यसका लागि सात सय वर्षअघि ८० जना कलाकारको नेतृत्त्व गर्दै अरनिको तिब्बत तथा चीन पुगेका थिए । त्यहाँको श्वेत चैत्य अरनिकोको अनुपम कृति हो ।

अहिले विदेशमा रहने नेपालीलाई ‘गैैरआवासीय नेपाली’ (एनआरएन) भनिन्छ । संस्कृतिविद् सत्यमोहन जोशीले अरनिको नै पहिलो गैरआवासीय नेपाली भएको ठहर गरेका थिए ।

नेपालीहरुलाई तत्कालिन इष्ट इण्डिया कम्पनीले सैन्य भर्तीमा लिन थालेपछि नेपालीहरुको पहिचान ‘वीर गोरखाली’को रुपमा संसारभर फैलियो । उनीहरुले कठीनतम् युद्धहरुमा साहसपूर्व लडेर बेलायतलाई ‘कहिल्यै सूर्यास्त नहुने’ देशका रुपमा स्थापित गर्न ठूलो योगदान गरे । वास्तवमा गैरआवासीय नेपालीको पहिचानलाई ब्यापकता दिनेहरुमा गोरखाली लाहुरेहरुकै ठूलो भूमिका रहेको देखिन्छ । आज परिस्थिति कस्तो बनेको छ भने उनै गैरआवासीय नेपालीहरुले विदेशमा कमाएर पठाउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको ठूलो आधार बन्न पुगेको छ ।

यस लेखमा भने गोरखाली लाहुरे र त्यसमा पनि तत्कालिन शासक चन्द्रशमशेरले नेपाली युवालाई लाहुर भर्तीका लागि रिक्रुट पठाउन गाउँका तालुकदारहरुलाई गरेको आदेशको बारेमा चर्चा गरिएको छ ।

लाहुर भर्तीको सुरुवात

नेपाल र अङ्ग्रेजबीच वि.सं. १८७१–७२ युद्ध हुँदा बुटवलको मोर्चामा बाहेक सबैतिर नेपाली पक्षले हार ब्यहोर्नु प¥यो । नेपाल सुगौली सन्धिसम्म आएर एक तिहाई भूभाग गुमाउँदै खुम्चनु परे पनि सिमित स्रोत, साधन र परम्परागत प्रविधिको आधारमा युद्ध लडेका नेपाली फौजले साधन सम्पन्न अङ्ग्रेजलाई राम्रैसँग आफ्नो पराक्रम र सौर्य प्रदर्शन गरेका थिए । त्यसैले अङ्ग्रेजहरु नेपालीहरुलाई आफ्नो सेनामा भर्ना गराउन लालायित हुन पुगे ।

खासगरी नेपालीहरुको इमान्दारिता र वीरताको परख अङ्ग्रेज जनरलहरुले गरेका थिए । तीमध्ये जनरल अक्टरलोनीले गोरखालीहरुलाई अङ्ग्रेज सेनामा भर्ती गर्न विशेष पहल र चातुर्यता देखाएको पाइन्छ ।

युद्धमा हार खाएपछि गोरखाली सेनामध्ये स्वयम् नेपाली सेनानायक अमरसिंह थापाका छोराहरु अर्जुनसिंह थापा र भुपालसिंह थापा तथा एक नाती पञ्जावकेशरी रणजित सिंहको फौजमा भर्ना भई लाहोर (हालः पाकिस्तान)मा पुगी लाहुरे कहलाई सकेका थिए (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ५– वैशाख २०२२ः ६३–७०) ।

नेपाल–अङ्ग्रेज युद्धका समयमा युद्धमैदानमा खटिएका गोरखाली सैन्य जवानमध्ये नालापानीका चर्चित योद्धा बलभद्र कुँवर पनि लाहोर गई लाहुरे बने । नालापानीको युद्धपछि उनी आफ्नो घर काठमाडौँ आएका थिए । उनलाई उनका मामाहरु अर्जुनसिंह थापा र भुपालसिंह थापाले लाहोर लगेका थिए । उनलाई उनका मामाहरुले रणजीत सिंहको सेनामा भर्ना गराएका हुन् (रामराजा कुँवर र डा. धनबहादुर कुँवर, ‘नालापानीका नायक बीर बलभद्र कुँवर’–२०६९ः ५१–५२)।

बलभद्रले आफ्ना मामाहरु अर्जुनसिंह र भुपालसिंह थापासँगको भेटपछि अन्य मूलुकमा जाने इच्छा जनाएका थिए ।

अर्कोतर्फ अक्टरलोनीसँग अमरसिंह थापाको वार्ता वा कुराकानी हुँदै थियो । जनरल अक्टरलोनीसँग अमरसिंंह थापाले गरेको सम्झौताअनुसार तीन बटालियनमा चार हजार ६ सय ५० जनालाई ब्रिटीश सेनामा भर्ना गरिइसकिएको थियो । यो सन्दर्भ थोमन्सम एडवार्डको ‘दि मेकिङ अफ् दि इन्डियन प्रिन्सेस’ र वि. वि. सक्सेनाको सम्पादनमा छापिएको ‘हिस्टोरिकल पेपर्स रिलेटिङ टु कुमाउ’मा उल्लेख छ (डा. तुलसीराम वैद्य र अरु, ‘नेपालको सैनिक इतिहास’–२०४९ः२२८–२९)

यसरी अमरसिंह थापाका छोरा–नाती कोही अङ्ग्रेज सेनामा त कोही पञ्जावी सेनामा भर्ना भई सेवा गर्न थाले पनि यता नेपालमा भने अङ्ग्रेज वा अन्य वैदेशिक सेनामा भर्ना गर्न बन्देज थियो । तत्कालिन मुख्तियार जनरल भीमसेन थापा अङ्ग्रेजको कट्टर विरोधी थिए ।

जङ्गबहादुर राणा र उनका उत्तराधिकारी बमबहादुर राणा पनि आफ्ना नौजवानहरुलाई विदेशी सेनामा भर्ना गर्न अनिच्छुक नै थिए ।

रणोद्दिप सिंहको समयमा भने नेपाली नौजवानलाई विदेशी सेनामा भर्नाका लागि केही उदारता देखाइयो । तर लाहुर गइसकेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न भने दिइदैनथ्यो । विश्वयुद्धको समयमा भने ब्रिटिशका लागि विभिन्न मूलुकका नौजवान सैन्य अत्यावश्यक भएकोले र तत्कालिन नेपालको राजनीतिक घटनाक्रममा भर्खरै बीरशमशेर गोत्रहत्या गरी सत्तामा पुगेकोले अनि आफ्नो शासनलाई अङ्ग्रेजबाट मान्यता पाउनका खातिर उनी अङ्ग्रेज सेनामा नेपालीहरुलाई भर्ती पठाउन उदार देखिए (वैद्य र अरु २०४९ः२४४–५३) । चन्द्रशमशेरको समयमा त नेपाली नौजवानलाई अँग्रेज सेनामा भर्ती गर्न ठुलै उदारता देखाइयो ।

वीरशमशेर प्रधानमन्त्री भएको ६ महिनाभित्रै उनले दुई हजार नेपाली युवालाई भारतमा रहेको बेलायती सेनामा भर्ती गराई पठाए । नेपाली रङ्गरुट सङ्कलनका लागि टोलीहरु गाउँ गाउँ छिरे । डोटी, दैलेख, धनकुटाबाट रङ्रुटहरु सङ्कलन गरी प्रधानमन्त्री वीरशमशेरले देशको अन्य भागबाट पनि रङ्रुटहरु बटुल्दै त्यसबारेको जानकारी नेपालमा रहेका अङ्ग्रेज रेजिडेन्ट बर्कलेलाई जानकारी गराउँदै गए । यसले गर्दा अङ्ग्रेज अधिकारीहरु वीरशमशेरप्रति कृतज्ञ हुँदै गए ।
त्यसपछि नेपाल–भारत सीमानजिकै अस्थायी डिपो तथा आउटपोस्ट डीपोहरुको ब्यवस्था गरेर ब्यापक सङ्ख्यामा नेपाली युवाहरुलाई रङ्रुटका रुपमा सङ्कलन गर्न थालियो (डा. सुरेन्द्र के.सी., ‘गोर्खाभर्तीः कथा, ब्यथा र आन्दोलन’–२०६२ः ७५–७६)

यसरी ब्यापक रुपमा नेपाली युवालाई छानी छानी शासकहरुले अङ्ग्रेजको सेवामा लाहुर भर्ती पठाउन थाल्यो ।

चन्द्रशमशेरको त्यो कडा आदेश

वि.सं. १९५७ फागुन २३ गते १५ वर्ष आठ महिना शासन गरेका वीरशमशेरको मृत्यू भएपछि रोलक्रमअनुसार देवशमशेर सत्तामा आए । अन्य राणा प्रधानमन्त्रीको तुलनामा उदार प्रवृत्तिका थिए । उनले केही सुधारका कामहरु पनि गरिरहेका थिए । तर उनलाई टिकिखान दिइएन । उनले केवल एक सय १४ दिन शासन चलाए । उनलाई जबरजस्ती पदच्यूत गरेर धनकुटा लखेटी चन्द्रशमशेर सत्तामा आए (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’–२०६८ः २२७–२८)

उनै चन्द्रशमशेर श्री ३ महाराज तथा प्रधानमन्त्रीका रुपमा २८ वर्ष सत्ता रहे । उनी सत्तामा रहेकै बेला सन् १९१४–१८ (वि.सं. १९७१–७५) मा पहिलो विश्वयुद्ध भयो । उनकै पालामा भएको प्रथम विश्वयुद्धको बेला भारतीय अङ्ग्रेज सेनामा भर्ना भएका पाँच लाख एक हजार सैनिकमध्ये ५५ हजार जना त नेपाली थिए । त्यो समय त्यो सङ्ख्या नेपाली पुरुषको जनसङ्ख्याको २५ प्रतिशत थियो (वैद्य र अरु, २०४९ः २४४–५३)

विश्वयुद्धको बेला नेपाली युवाहरुलाई पनि ठूलो सङ्ख्यामा भर्ती गरी युद्धमा पठाउने काम चन्द्रशमशेरले गरे । यसका लागि उनले नेपालभर किपटिया, तालुकदार, मुखिया आदिका नाममा सनद नै जारी गरे । यो लेखकले प्र्राप्त गरेको सनदको सक्कलको छायाँप्रतिमा उल्लेख भएअनुसार यो सनद वि.सं. १९७२ असोज २२ गते शुक्रबार जारी गरिएको थियो ।

उनले जारी गरेको सनदमा नेपाली युवाहरुलाई लाहुर भर्ती पठाउनुको कारणबारे ‘…ब्रिटिश गोर्खा पल्टनमा भर्ना गर्नालाई आफूखुसी भर्ना आउने रिक्रुट थोर थोरै मात्रै भएकोले इके बखत पुरा गर्न नपुगेको हुनाले नेपाल सर्कारबाट बन्दोबस्त भया चाढो रिक्रुट चाडो भर्ना हुँदो हो भन्या दोस्तिकालिहाजले वृटिश सर्कारका तर्फबाट लेखि आयाको र आफुखुसि जानमा भन्दा सर्कार तर्फबाट बन्दोबस्त जानेलाई सबै कुराबाट सुबिस्ता र कदन पनि रहने ३ वर्ष नोकारीगरि सकेपछि छाडी आउने मन्सुवा हुनेले छाडी आउन पाइन्छ अथवा पुरा नोकरी गरि इङ्लिस पेन्सन लिइ आउनेले मन्सुवा हुनेले छाडी आउन पाइन्छ…’ भन्ने उल्लेख छ ।

भर्ती लाग्न चाहने नौजवानको योग्यतामा १८ वर्षदेखि २५ वर्षभित्रको उचाई पाँच फिट दुई इन्चको र छाती ३२ इञ्चको हुनुपर्ने सनदमा उल्लेख छ ।

यो सनदमा जातिगत योग्यता पनि जारी गरिएको छ । यसमा ठकुरी, क्षेत्री, गुरुङ, घले, मगर, लिम्बु किराती राई, सुनुवार, रानाभाट, नगरकोटी, मतवाली खस, तामाङ र शेर्पा सेनाका लागि योग्य जाति ठहरिने उल्लेख छ ।

पल्टनमा पठाउनेलाई उत्साहित बनाउन उनीहरुका लागि विशेष वक्सिसको ब्यवस्था गरिएको छ । यसअनुसार एक जनादेखि १० जना भर्ना गर्नेलाई तीन रुपैयाँ तीन मोहर, १० देखि २४ जना पठाउनेलाई चार रुपैयाँ दुई मोहर र त्योभन्दा बढि पठाउनेलाई पाँच रुपैयाँको बक्सिस दिइने ब्यवस्था चन्द्रशमशेरले गरेका थिए ।

सनदमा सबैभन्दा पहिले अङ्ग्रेजका लागि रिक्रुट भर्ती गरी पठाउनुको औचित्य पुष्टि गर्न खोजिएको छ । सनदमा ‘बृटिस सर्कार र नेपाल सर्कारको अघिदेखि दोस्तना रही आयाको तिमीहरु सबैलाई थाहै छ …पल्टनमा आफूखुसी भर्ना गर्न आउने रिक्रुट थोर थोरै मात्र भई येक बखत पुरा गर्न नपुगेको हुनाले नेपाल सरकारलाई बन्दोबस्तमा पुरा रिक्रुट चाँडो भर्ना हुँदो हो भन्या दोस्तिका हिसावले बृटिस सर्कारका तर्फबाट लेखि आयाको…’ भन्ने ब्यहोरा उल्लेख छ ।

यसबाट स्पष्ट हुन्छ, खुल्ला रुपमा भर्नाका लागि आफूखुसी नौजवानहरुले खासै इच्छा देखाएका थिएनन् । त्यसैले अङ्ग्रेजका लागि नेपाल सरकार नै लागेर नेपाली नौजवान सङ्कलन गरेर रिक्रुट भर्ती गरी पठाउनु परेको देखिन्छ । सनदमा उल्लेख भएको यस्तो अभिब्यक्तिबाट जबरजस्र्ती रिक्रुटका लागि नौजवान सङ्कलन गरिन्थ्यो भन्ने आधार मिल्छ ।

यसरी एक मित्रको हैसियतले अङ्ग्रेजलाई सहयोग गर्न योग्यता पुगेका नौजवानहरुलाई गाउँगाउँबाट सङ्कलन गरी रिक्रुटमा भर्ती गर्न स्थानीय संयन्त्रका रुपमा त्यसबेला स्थापित जिम्मावाल तालुकदारहरुलाई परिचालन गर्न चन्द्रशमशेरले यस्तो सनद पठाएका थिए ।

सनदमा रिक्रुटमा भर्ती हुन आउन चाहनेलाई आकर्षित गर्न बडो चिप्लो ढङ्गले लोभलालच पनि देखाइएको छ । सनदअनुसार भर्तीमा लागेर जानेलाई सबै सुविधा र कदर पनि मिल्नेछ भन्दै तीन वर्ष नोकरी गरिसकेपछि छाडिआउने मनसुवा भएकाले जागिर छाडी आउने सक्ने मात्रै होइन, पुरा नोकरी गरी पेन्सन पकाई आउनेले त इच्छा भए नेपालमा फर्केर आई सैन्य सेवामै सरकारी जागिर पाउने ग्यारेन्टी पनि गरिएको छ ।
विश्वयुद्धको विभिषिकाको समयमा त्यस्तो लडाईमा होमिने चाहना नेपाली नौजवानहरुलाई के हुन्थ्यो होला र ? नेपाली नौजवानहरुलाई युद्धको भयबाट मुक्त गराउन धेरै समय युद्ध लड्नु त के, सकेसम्म युद्धै लड्नु नपर्नेसम्मको कुरा पनि सनदमा ब्यक्त गरिएको छ ।

सनदमा तालिम नदिई युद्धमा नपठाइने, तालिम लिदा एक दुई वर्ष लागिहाल्ने र त्यतिबेलासम्म युद्ध पनि सकिसक्ने पनि उल्लेख छ । र भरसक युद्धमा जानु पनि नपर्ने भन्नेसमेत कुरा आफ्ना गाउँठाउँमा राखी गाउँलेहरुलाई सम्झाई बुझाई गरी नौजवानहरु रिक्रुटका लागि सङ्कलन गर्न तालुकदारहरुलाई आदेश दिइएको छ ।

रिक्रुटको योग्यता

यसअनुसार जिम्मावाल तालुकदारहरुले आफ्ना मौजाको गाउँ गाउँबाट एक दुई जना नघटाई सकेसम्म धेरै नौजवान रिक्रुटका लागि खोज्नुपर्ने भयो । रिक्रुटका लागि योग्यताको कसीमा निरोगी, बलिया, हात, खुट्टा, आँखा, कान सद्दे भएका मापदण्ड राखिएको थियो ।

जिल्ला गौंडा गोश्वाराबाट ‘रिक्रुटका लागि नौजवानहरुलाई ल्याउनु’ भन्ने उर्दी आएपछि सङ्कलन गरिएका नौजवानहरुलाई ल्याउनुपर्ने सनदमा उल्लेख छ । त्यहीँ हाजिर गराई जाँचपास गर्नू भन्ने आदेश पनि तालुकदारहरुले पाए ।

यहाँ अचम्म के भने यसअघि ‘मूर्मी भोट्या’ भनी हेलाहोचो गरी लाहुरभर्ती जान नदिइएका तामाङहरुका लागि पनि विश्वयुद्धजस्तो गाह्रो अफ्ठ्यारोको बेला रिक्रुट भर्ती खुलाइएको छ । उनीहरुको जात थर तामाङ उल्लेख गरिएको छ ।

युद्धको समयबाहेक सामान्य अवस्थामा भने तामाङहरुले चाहे विदेशको, चाहे स्वदेशको हतियारधारी सैन्यमा भर्ना पाएका देखिँदैन ।

के लेखिएको छ, आदेशमा ?

त्यो बेला रिक्रुटका लागि नौजवान बटुल्नु अङ्ग्रेजको एक मित्र भएकोले नेपाल सरकारको कर्तब्य भई आउँदा सरकारको काम सफल पार्नुपर्ने जिम्मा जिम्मावाल तालुकदारहरुको कर्तब्य हुनआएको भनी सनदमा उनीहरुलाई स्मरण गराइएको छ ।

यो कर्तब्य पुरा गर्नेलाई सरकारबाट कदर गरिने तर नौजवानहरु सङ्कलन गरी पु¥याउन नसके त्यस्तो कार्य अटेर गरेको ठहरिने चेतावनी पनि चन्द्रशमशेरले दिएका थिए । “रिक्रुट तसल्लह गरी पु¥याउन सकेनौं भने अटेर गरेको ठहरि तजविज माफिक सजाय र तिमीहरुले तालुकदारी समेत चलाउन नसकेको ठहरि तालुकदारि समेत झिकिनेछ” भन्नेसम्मको चेतावनी सनदमार्फत चन्द्रशमशेरले दिएका थिए ।

रिक्रुटका लागि नौजवानहरु सङ्कलन गरी बुझाएको अवस्थामा रिक्रुटको सङ्ख्या हेरी उनीहरुलाई नगद इनामको समेत ब्यवस्था गरिएको जानकारी गराएर तालुकदारहरुमा हौसला बढाइएको थियो ।

रिक्रुटका लागि आफै मञ्जुर भई आउनेलाई तीन रुपैयाँको ब्यवस्था गरिएको थियो । यस्तै एक जनादेखि १० जना पठाउनेलाई तीन रुपैयाँ तीन मोहर, ११ जनादेखि २४ जना पठाउनेलाई चार रुपैयाँ दुई मोहर र २४ देखि माथिको सङ्ख्यामा पठाउनेलाई पाँच रुपैयाँ इनामको ब्यवस्था गरिएको थियो ।

सनदको पूर्णपाठ

स्वस्तिश्री मदति प्रचण्ड भुजुदण्डेत्यादि श्रीश्रीश्री महाराज मेजन जनरल सर चन्द्रसम्सेर जङ्गबहादुरराणा जी.सी.बी., जी.सी. यस.आइ., जी.सी.भी.ओ. ऐण्ड डी.सी.यल. आनरेरि कर्णैल फोर्थ गोर्खाज थोङ् लि प्रिंम्माको काङेचाङ् स्यान् प्राइमिनिष्टर यान्ड मार्शेल कस्यरुक्का—————

स्वस्तिश्री मद्राज कुमार कुमारात्मज श्रीकम्याण्डर इनचीफ जनरल सर भीमसम्सेर जङ्गबहादूरराणा के. सी. भी. ओ. कस्यपत्रम्

आगे ————के यथोचित उप्रान्त बृटिससर्कारको र नेपालसर्कारको अघी देखि दोस्ताना रहि आयाको तिमिहरु सबैलाइ थाहैछ हाल बृटिसगोर्खापल्टन्मा भर्नागर्नलाइ आफुखुसि भर्नाहुन आउने रिकुट थोरथोरैमात्रभै यकैबखत् पूरा भर्नानपुगेकोहुनाले नेपालसर्कारबाट बन्दोबस्तभया पूरा रिक्रुट चाडो भर्नाहुँदोहो भन्न्या दोस्तिकालिहाजले बृटिससर्कार तर्फबाट लेखिआयाको र आफुखुसि जानेमा भन्दा सर्कारतर्फबाट बन्दोबस्तैभै जानेलाइ सबैकुराबाट सुबिस्ता र कदरपनिरहने ३ वर्ष नोकरि गरिसकेपछि छाडि आउने मन्सुबाहुनेले छोडि आउन पाइन्छ अथवा पुरानोकरीगरि इङ्गलीस पेन्सन लि आउनेभयापनि हुन्छ फर्किआयापछि नेपाल सर्कारको नोकरिगर्न मन्सुबाभया इलम् अनुसार सिपाहिदेखि अफिसरसम्म पनि पाउनेसमेत इत्यादि सबैकुराबाट सुबिस्ता बढियाहुने र हाल बेलायत् युरोपतर्फ लडाञि भैरहेकाले सोलडाञिमा सरासर जानुपर्नेहोकिभन्ने तिमिहरुका दिलमा पर्ला तालिम भैनसकेका मानीस लडाञिमा किनलैजाहन्थे तालिम हुनलाइ १।२ वर्ष लाग्ने तेतिसम्ममा लडाञिपनि खतम भैसकनेछ तिमिहरु लगत्तै लडाञिमा सरासर जानुपर्नेछैन भन्ने समेत आफ्ना रैतिदुनिञालाइ राम्रोगरि सबैकुरा समझाइ बुझाइ लायेकका रिकुटहरु गाउँपिछे १।२ जनामा नघटाइ जोसकेको बढताजवान् तसल्लगरि जचाइ पासगराउनलाइ योसनद तिमिहरुले पायापछि आफ्ना तालुकका गाउँ मौजा बाट तपसिल्का जातका निरोगी हात खुट्टा आँखा कान साबुद भयाका बलिया १८ वर्ष देखि २५ वर्ष सम्मका अग्लामा ५ फुट २ इञ्च र छाति चौगिर्दानाप ३२ इञ्चमा घटिनभयाका लायेक् ज्वान् तसल्लगरी मञ्जुरिगराइ राखनु सो रिकुट् जाची पासगर्नालाइ सदरबाट अफिसर खटि आइ वा जिल्ला गोडा गोस्वाराबाट तिमिहरुलाइ सोतसल्लहगरि राखेका रिकुट ल्याउनु भन्ने उर्दि चाडैनै दिनेछन् सो उर्दि दियापछी जुनदिन जुन्ठाउँमा हाजिरगराउनु भन्ने उर्दि दिन्छन् सोउर्दिबमोजिम् तिमिहरुले तसल्लह गरेका रिक्रुट पास भै डिपोमा पुगेपछि दरबन्दि बमोजिमको इनाम बक्स तिमिहरुलाइ अफिसरले दिनेछन् जुन्जुन् मानिसले जतिजति रिक्रुट तसल्लगरि पु¥याउँछन् किताप खडा गरि अफिसरले जाहेर गरेपछि रिक्रुट तसल्लह गरि पु¥याइ मेहनत गरेअनुसार बुझि कदर पनि गरिक्सनेछौँ लेखियाबमोजिम् आफ्ना तालुका गाउँबाट १।२ जना सम्मपनि खुसिराजीगराइ रिक्रुट् तसल्लगरी पु¥याउनसकेनौ भने अटेरगरेको ठहरि तजबीजमामफिक् सजाय र तिमिहरुले तालुक्दारिसमेत चलाउन नसकेको ठहरी तालुक्दारि समेत झिकिनेछ जिल्ला गौडा अड्डा मार्फत् रिक्रुट तसल्लह गर्ने काम गराउँदा करकापभै तिमिहरुलाइ र रैतिहरुलाइ पीर हुन जाला भन्नाले तिमिहरुमार्फत् तसल्लहगर्ने बन्दोबस्त गरिबक्सेकोहो तिमिहरुलेपनि रुपैञा पैसा उठाइ खाइ दुखदियाको ठहरे जातअनुसारको सजाय हुनेछ सो बुझी लेखियाबमोजिम् गर्नेकामगर———

तपसिल
ठकुरि———क्षत्री———गुरुङ———

घले ———मगर——— लिम्बु किराति राइ———

सुनुवार——— रानाभाट्——— नगर्कोटि——— मतवालिखस ———तामाङ——— स्यार्पा———

इनाम् बक्स पाउने दरबन्दी

कसैले तसल्लहगरि ल्यायाकोनभै आफैमन्जुरभै आउनेमा सो आउने मानिसले पाउने १ के मोहरु तिन् ———३

तसल्लहगरि ल्याउने तालुकदार भलादमीहरुले पाउने ———

१ यक जनादेखि १० दस जनासम्म ल्याउनेके फिजवान्को दर मोहरु तिन् रुपैञा ३।

११ यघार जनादेखि २४ चौबिस जनासम्म ल्याउनेके फिजवान्को दर मोहरु चार रुपैञा ४।

२४ जना भन्दा बढता जवान ल्याउनेके फिजवान्को दर मोहरु पाच रुपैञा ———५।

इतिसम्बन् १९७२ साल मिति आश्विन २२ गते रोज ६ शुभम्———

अन्त्यमा,

चन्द्रशमशेरको यो इस्तिहारले नेपाली युवाहरुलाई वैदेशिक क्षेत्रमा जान पहिल्यैदेखि प्रोत्साहित गरेको स्पष्ट देखिन्छ । युवा उमेरका ठूलो पङ्क्तिलाई युद्धको बेला विदेशी सेनामा भर्ना गरी पठाउनका लागि गाउँका तालुकदारहरुलाई तत्कालिन शक्तिशाली श्री ३ महाराजबाट दिइएको यस्तो उर्दीका कारण पनि त्यसबेला युवाहरु बाध्यतावश वैदेशिक क्षेत्रतर्फ फैलनु परेको थियो । हुँदा हुँदा यस्तो परम्परा बस्न गयो कि अहिले नेपालका गाउँघर युवाविहीन हुन पुगेका छन् । जग्गा जमिन बाँझा भएका छन् । देशको अर्थतन्त्र रेमिट्यान्सले चलेको छ । यो सुखद पाटो हुँदै होइन ।

क्याप्सन
१. चन्द्रशमशेर राणा
२. चन्द्रशमशेरले नेपाली युवालाई लाहुर पठाउन जारी गरेको सनद

सम्बन्धित खवर

बालेन सरकारमाथि प्रश्न : ‘व्हिसलब्लोअर प्रोटेक्सन’ कानून ल्याउने कि सूचनादातामाथि निगरानी गर्ने ?

बालेन सरकारमाथि प्रश्न : ‘व्हिसलब्लोअर प्रोटेक्सन’ कानून ल्याउने कि सूचनादातामाथि निगरानी गर्ने ?

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको डिजिटल शासन सुधार योजनाले सेवा प्रवाह...