काठमाडौँ । कुनै समय थियो, संसारमा भएका घटनाको आवाज सीमाना पारी पुग्न महिनौँ लाग्थ्यो। एउटा आन्दोलन गाउँबाट शहर पुग्न वर्ष बित्थ्यो। क्रान्ति जन्मिन पुस्ता लाग्थ्यो। तर, अहिले संसार मोबाइलको स्क्रिनभित्र सीमित भएको छ। युद्धदेखि विद्रोहसम्म, सत्ता परिवर्तनदेखि सडकको क्रोधसम्म सबै कुरा प्रत्यक्ष देख्न सकिने युगमा समाजको गति अस्वाभाविक रूपमा बदलिएको छ।
हिजोसम्म सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मानिन्थ्यो, तर अहिले त्यसले सरकार हल्लाउने, सडक भरिने र नयाँ विचार जन्माउने शक्ति बोकेको छ। पुराना राजनीतिक संरचनाहरू वर्षौँ लगाएर निर्माण हुन्थे, अहिले केही दिनमै प्रश्न गरिन थाल्छन्। दशकौँ टिक्ने भाष्यहरू दुई घण्टाको ‘ट्रेन्ड’ भित्र भत्किन थालेका छन्।
नेपालमा करिब एक वर्षअघि देखिएको जेनजी आन्दोलनले यही बदलिँदो समयको संकेत दिएको थियो। सामाजिक सञ्जालमा सुरु भएको असन्तुष्टि सडकसम्म पुग्यो। बलिया ठानिएका संरचनाहरू हल्लिए। युवाहरूले पहिलो पटक आफ्नो राजनीतिक उपस्थिति केवल मतदाताको रूपमा होइन, दबाब समूहको रूपमा देखाए।
यस्तै दृश्य अहिले भारतमा पनि देखिन थालेको छ।
भारतको सबैभन्दा प्रतिस्पर्धात्मक परीक्षामध्ये एक मानिने नीट (NEET) को प्रश्नपत्र अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि लिक भएको खबर सार्वजनिक भएपछि लाखौँ विद्यार्थी निराश र आक्रोशित बने। वर्षौँको तयारी, परिवारको अपेक्षा र भविष्यको सपना एकै क्षणमा अन्यायको महसुसमा बदलियो। त्यो आक्रोश विस्तारै सामाजिक सञ्जाल हुँदै आन्दोलनको भाषामा बदलिन थाल्यो। त्यहीबेला आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको एउटा अभिव्यक्ति भाइरल बन्यो। उनले प्रश्न गरेका थिए- “यदि नेपाल र बंगलादेशका जेनजीहरू सडकमा उत्रिएर सरकार परिवर्तन गर्न सक्छन् भने, भारतका युवाहरूले पेपर लिकमा संलग्न मन्त्रीहरूलाई जेल पठाउन सक्दैनन् र ?”
यो अभिव्यक्ति केवल राजनीतिक टिप्पणी थिएन ; नयाँ पुस्ताको निराशा र विद्रोहलाई वैधानिकता दिने संकेतजस्तै बन्यो।
त्यसपछि भारतका विभिन्न शहरमा युवाहरूको डिजिटल आक्रोश सडकको नारामा बदलिन थाल्यो।
यही वातावरणबीच एउटा अनौठो नाम अचानक सामाजिक सञ्जालमा देखा पर्यो- कक्रोच (साङलो) जनता पार्टी “Cockroach Janta Party (CJP)” । त्यसपछि यो आन्दोलनले सामाजिक सञ्जालमा अचानक व्यापक मोड लियो।

अदालतबाट निस्किएको ‘कक्रोच’
यही क्रममा सन् २०२६ मे १५ मा भारतका प्रधानन्यायाधीश सूर्य कान्त सर्वोच्च अदालतमा एउटा सुनुवाइ गरिरहेका थिए। मुद्दा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर कानुन व्यवसायमा प्रवेश गर्ने व्यक्तिसँग सम्बन्धित थियो।
सुनुवाइका क्रममा उनले टिप्पणी गर्दै भनेका थिए, ‘ केही युवाहरू “cockroach” जस्ता छन्, जसले पेशामा कुनै स्थान पाउँदैनन् र पछि अदालत, मिडिया, सामाजिक सञ्जाल, आरटीआई एक्टिभिज्म जस्ता क्षेत्रमा प्रवेश गरेर सबैमाथि आक्रमण गर्न थाल्छन्।’
त्यही क्रममा उनले “parasites” अर्थात् “परजीवी” शब्दसमेत प्रयोग गरेका थिए।
यो टिप्पणी केही घण्टामै सामाजिक सञ्जालभर विस्फोट भयो।
पहिलेदेखि नै बेरोजगारी, प्रतिस्पर्धा र अस्थिर भविष्यसँग संघर्ष गरिरहेको भारतीय युवा पुस्ताले ती शब्दलाई आफूहरूमाथिको अपमानका रूपमा लिए। अदालतको एउटा टिप्पणी अचानक देशव्यापी भावनात्मक प्रतिक्रिया बन्यो। एक्स, इन्स्टाग्राम र रेडिटमा हजारौँ पोस्टहरू देखा पर्न थाले। “Cockroach” शब्दलाई नै युवाहरूले प्रतिरोधको प्रतीक बनाउन थाले।
भोलिपल्ट प्रधानन्यायाधीश सूर्य कान्तले आफ्नो अभिव्यक्ति गलत रूपमा बुझिएको भन्दै स्पष्टीकरण दिए। उनका अनुसार टिप्पणी सम्पूर्ण युवापुस्तालाई लक्षित नभई नक्कली डिग्री प्रयोग गरेर पेशागत क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित थियो। उनले आम भारतीय युवालाई नभएर नक्कली लाइसेन्सधारी वकीलहरुलाई आफूले लक्षित गरेको स्पष्ट पारे । उनले भारतीय युवाहरूलाई “विकसित भारतका आधारस्तम्भ” समेत बताए।
तर, डिजिटल युगमा प्रष्टीकरण प्रायः मूल विवादभन्दा धेरै नै कमजोर हुन्छ। प्रधानन्यायाधीशको स्पष्टीकरण आउञ्जेलसम्म सामाजिक सञ्जालमा एउटा नयाँ नाम जन्मिसकेको थियो- Cockroach Janata Party (CJP) ।
व्यंग्यबाट सुरु भएको यो नाम केही घण्टामै आन्दोलनको प्रतीक बन्यो।
आफूहरूलाई अपमानित गरिएको महसुस गरेका युवाले “cockroach” शब्दलाई नै प्रतिरोधको पहिचानमा बदलिदिए। सामाजिक सञ्जालमा मीम, पोस्टर, डिजिटल घोषणापत्र र व्यंग्यात्मक राजनीतिक नाराहरू फैलिन थाले।
र त्यहीँबाट सुरु भयो एउटा यस्तो डिजिटल आन्दोलन, जसले अदालतको एउटा टिप्पणीलाई पुस्तागत आक्रोशमा रूपान्तरण गरिदियो।
यो आन्दोलनको अनुहार बने अभिजीत दिप्के, महाराष्ट्रको औरंगाबादका ३० वर्षीय युवा।
“कक्रोच जनता पार्टी” स्थापना हुँदा उनी अमेरिकाको बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेसन्स विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका थिए।
डिजिटल मिडिया रणनीति र राजनीतिक सञ्चारमा काम गरिसकेका दिप्केले सन् २०२० देखि २०२२ सम्म आम आदमी पार्टीको सामाजिक सञ्जाल टोलीसँग पनि काम गरेका थिए।
दिल्ली विधानसभा चुनावका बेला ‘मिम-ड्रिभन’ राजनीतिक अभियान निर्माणमा उनको भूमिका रहेको बताइन्छ।
तर “Cockroach Janata Party” कुनै दीर्घ राजनीतिक योजना वा संगठनात्मक तयारीबाट जन्मिएको थिएन।

दिप्केका अनुसार प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणी देख्नेबित्तिकै यो विचार अचानक उनको दिमागमा आएको थियो। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा साधारण गुगल फर्म पोस्ट गर्दै “कक्रोच” हरूलाई आन्दोलनमा जोडिन आह्वान गरे। त्यसपछि जे भयो, त्यो आफैँका लागि पनि अप्रत्याशित बनेको उनले बताएका छन्।
केही घण्टाभित्रै हजारौँ मानिसहरूले फारम भर्न थाले।
मे १६, २०२६ मा सुरु भएको आन्दोलनले ४८ घण्टाभित्रै २५ हजारभन्दा बढी सदस्यता दर्ता गरायो। त्यसको अर्को २४ घण्टामै संख्या एक लाख नाघ्यो। मानिसहरू स्वेच्छाले आफूलाई “cockroach” भन्दै आन्दोलनसँग जोडिन थाले।
त्यसैबीच “Cockroach Janata Party” को इन्स्टाग्राम तीन दिनमै ३० लाख फलोअर्स पार गर्न सफल भयो । एक्समा पनि एक लाखभन्दा बढी फलोअर्स जोडिए।
मे २० सम्म आइपुग्दा गुगल फर्म मार्फत सदस्यता लिनेहरूको संख्या साढे तीन लाखभन्दा बढी पुगेको विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
आन्दोलनले आफ्नै ‘पार्टी एनथेम’ (राष्ट्रिय गान) समेत सार्वजनिक गर्यो। व्यङ्ग्यात्मक पोस्टरहरूको श्रृंखला सामाजिक सञ्जालभर भाइरल हुन थाले।
“मै भी कक्रोच” अर्थात् “म पनि कक्रोच हुँ” भन्ने वाक्यांश आन्दोलनको सबैभन्दा शक्तिशाली डिजिटल नारामा बदलियो। हजारौँ युवाले यही ह्यासट्याग प्रयोग गर्दै आफ्नो असन्तुष्टि र ऐक्यवद्धता व्यक्त गर्न थाले।
बाहिरबाट हेर्दा यो आन्दोलन व्यंग्य, मीम संस्कृति र इन्टरनेट हास्यमा आधारित देखिन्थ्यो। तर त्यसको भित्र राजनीतिकरूपमा गम्भीर मागहरू पनि थिए।
“Cockroach Janata Party” ले सार्वजनिक गरेको पाँच बुँदे घोषणापत्रले त्यसलाई केवल सामाजिक सञ्जालको ट्रेन्डभन्दा धेरै ठूलो बनायो।
घोषणापत्रको पहिलो बुँदामा पूर्वप्रधानन्यायाधीशहरूलाई अवकाशपछि राज्यसभामा नियुक्त गर्ने प्रचलन रोक्नुपर्ने माग गरिएको थियो। यसलाई न्यायपालिकाको स्वतन्त्रतासँग जोडिएको विषयका रूपमा उठाइएको थियो।
दोस्रो बुँदामा वैध मत हटाउन दिने प्रमुख निर्वाचन आयुक्तमाथि UAPA अन्तर्गत कारबाही हुनुपर्ने माग गरिएको थियो। मतदान अधिकारको सुरक्षा राष्ट्रिय सुरक्षासँग जोडिएको उनीहरूको तर्क थियो।
तेस्रो माग संसदमा महिलाका लागि ५० प्रतिशत आरक्षणको थियो, तर संसदको सिट संख्या नबढाई। अर्थात् नयाँ सिट थपेर होइन, पुरुषहरूले सिट खाली गरेर महिलालाई स्थान दिनुपर्ने उनीहरूको धारणा थियो।
चौथो बुँदामा पार्टी परिवर्तन गर्ने सांसद वा विधायकलाई २० वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको थियो।
पाँचौँ बुँदाले गोदी मिडिया भनिने सरकार समर्थक टेलिभिजन प्रस्तोताहरूको बैंक खाता सार्वजनिक निगरानीमा ल्याउनुपर्ने माग गरेको थियो।
व्यंग्यबाट सुरु भएको आन्दोलन विस्तारै भारतको युवा पुस्ताको असन्तुष्टि, राजनीतिक अविश्वास र डिजिटल प्रतिरोधको प्रतीकमा बदलिँदै गइरहेको थियो।
तर, यति धेरै चर्चा र समर्थन पाइसकेको “Cockroach Janata Party” वास्तवमै राजनीतिक दल हो त?
उत्तर- अहिलेसम्म होइन।

“Cockroach Janata Party” भारतको निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल होइन। भारतीय कानुनअनुसार यसलाई आधिकारिक मान्यता प्राप्त पार्टीको हैसियत छैन।
आन्दोलनका संस्थापक अभिजीत दिप्के स्वयंले पनि यसलाई औपचारिक राजनीतिक संगठनभन्दा बढी व्यंग्यात्मक राजनीतिक आन्दोलन र सार्वजनिक दबाब समूहको रूपमा व्याख्या गर्दै आएका छन्।
हालसम्म पार्टीको कुनै औपचारिक कार्यालय छैन। कानुनी रूपमा मान्य सदस्यता संरचना, कोषाध्यक्ष वा निर्वाचन आयोगले दिएको चुनाव चिह्न पनि छैन। गुगल फर्म मार्फत जोडिएका लाखौँ समर्थकहरू डिजिटल समर्थनको संकेत भए पनि त्यसले कानुनी वा निर्वाचनसम्बन्धी मान्यता भने दिँदैन।
दिप्केले आफूहरू स्थायी राजनीतिक शक्ति भइहाल्ने भ्रममा नरहेको स्पष्ट बताएका छन्।
उनका अनुसार आन्दोलन केही दिनमै सेलाउन पनि सक्छ। तर आन्दोलनले पाएको अप्रत्याशित समर्थनपछि समर्थकहरूबीच बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा उम्मेदवार उठाउनेबारे प्रारम्भिक छलफल सुरु भएको बताइएको छ।
यदि त्यो प्रयास अघि बढ्यो भने “Cockroach Janata Party” ले औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुनुपर्ने वा स्वतन्त्र उम्मेदवारमार्फत चुनावी मैदानमा उत्रिनुपर्ने अवस्था आउन सक्छ। विश्लेषकहरूका अनुसार त्यो क्षण व्यंग्यात्मक डिजिटल आन्दोलन र वास्तविक चुनावी राजनीतिबीचको सबैभन्दा ठूलो मोड हुनेछ।
यसबीच “Cockroach Janata Party” नाममाथि अधिकार दाबी गर्दै तीनवटा अलग–अलग ट्रेडमार्क आवेदनसमेत दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सामाजिक सञ्जालमा सुरु भएको व्यंग्यात्मक अभियान केही दिनमै कानुनी र राजनीतिक पहिचानतर्फ सर्न थालेको संकेत यसले दिएको मानिन्छ।
आन्दोलनको सामाजिक सञ्जाल प्रभाव भने झन् तीव्र गतिमा बढिरहेको छ। सुरु भएको केही दिनमै यसको इन्स्टाग्राम पेजले एक करोडभन्दा बढी फलोअर्स पार गरिसकेको छ, जुन भारतको सत्तारूढ Bharatiya Janata Party भन्दा पनि धेरै भएको उल्लेख गरिएको छ। मे २१ सम्म आइपुग्दा यसको इन्स्टाग्राम फलोअर्स संख्या १ करोड ६० लाख नाघिसकेको विभिन्न रिपोर्टमा उल्लेख छ।
यता अभिजीत दिप्केलाई जब पत्रकारहरूले “के यो आन्दोलन नेपाल र बंगलादेशमा सरकार ढाल्ने स्तरको आन्दोलन बन्न सक्छ?” भनेर प्रश्न गर्न थाले, उनले त्यसको स्पष्ट प्रतिवाद गरेका थिए।
उनका अनुसार भारतका Gen Z युवाहरूलाई नेपाल वा बंगलादेशसँग तुलना गर्नु प्रशंसा होइन, बरु उनीहरूको राजनीतिक चेतनामाथिको अवमूल्यन हो। उनले भारतीय युवाहरू संविधान, लोकतन्त्र र कानुनी प्रक्रियाप्रति सचेत रहेको भन्दै आफ्नो असन्तुष्टि शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट व्यक्त गरिरहेको बताएका थिए।
दिप्केले युवाहरूमा आक्रोश नभएको भने नकारेका छैनन्। तर उनले “आक्रोश व्यक्त गर्ने शैली पनि महत्त्वपूर्ण हुन्छ” भन्ने तर्क गरेका छन्।
यद्यपि विश्लेषकहरूले भने बंगलादेशको २०२४ आन्दोलन पनि सुरुमा सामाजिक सञ्जाल, व्यंग्य र अनलाइन अभियानबाटै सुरु भएको स्मरण गराएका छन्।
नेपालमा पनि युवा आन्दोलनहरूले डिजिटल र सडक आन्दोलनबीच लगातार आवतजावत गरिरहेका उदाहरणहरू देखिएका छन्। यही कारण अहिले भारतका राजनीतिक विश्लेषकहरू अर्को प्रश्न सोध्न थालेका छन्— “के Cockroach Janata Party वास्तविक राजनीतिक शक्तिमा बदलिन सक्छ?”

केही दिनमै करोडौँ युवासम्म पुग्ने क्षमता स्थापित राजनीतिक दलहरूले वर्षौँ खर्च गरेर पनि हासिल गर्न सक्दैनन्। आन्दोलनको भावनात्मक प्रभाव भाषा, जात, वर्ग र राज्यको सीमाभन्दा बाहिर फैलिएको देखिन्छ।
तर, चुनौतीहरू पनि उत्तिकै ठूला छन्। भारतको चुनावी राजनीतिमा केवल सामाजिक सञ्जाल पर्याप्त हुँदैन। स्थानीय संगठन, विश्वसनीय उम्मेदवार, आर्थिक स्रोत र बलियो राजनीतिक संरचना आवश्यक पर्छ। व्यंग्यात्मक आन्दोलनहरूको सबैभन्दा ठूलो संकट नै त्यही हो, जुन क्षण उनीहरू वास्तविक चुनाव लड्न थाल्छन्, उनीहरू केवल “जोक” रहँदैनन्, र जनताको अपेक्षा अचानक गम्भीर रूपमा बदलिन्छ।
हालका लागि भने “Cockroach Janata Party” आन्दोलन, व्यंग्य र राजनीतिक असन्तुष्टिको बीचमा उभिएको एउटा डिजिटल दबाब समूहजस्तै देखिन्छ।
यस आन्दोलनको अर्को रोचक पक्ष भनेको यसको निर्माणमै कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग हो।
अभिजीत दिप्केले OpenAI को ChatGPT र Anthropic को Claude जस्ता AI उपकरण प्रयोग गरेर पार्टीको लोगो, घोषणापत्र, वेबसाइट, पोस्टर डिजाइन र डिजिटल उपस्थिति तयार गरिएको स्वीकार गरेका छन्।
उनका अनुसार यी सबै काम २४ घण्टाभित्र सम्पन्न गरिएको थियो।
यसले राजनीतिक आन्दोलनको बदलिँदो स्वरूपलाई पनि संकेत गर्छ। जुन काम पहिले डिजाइनर, लेखक र रणनीतिकारहरूको ठूलो टोलीले महिनौँ लगाएर गर्थे, अहिले एउटै व्यक्तिले AI को सहयोगमा एक रातमै गर्न सक्ने अवस्था बनेको छ।
तर त्यससँगै अर्को प्रश्न पनि उठेको छ- यदि राजनीतिक आन्दोलनहरू यति छिटो निर्माण हुन थाले भने, के तिनले वास्तविक गहिराइ र दीर्घकालीन संरचना पनि बनाउन सक्नेछन् ?

