काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव छ । जिल्ला अदालतको न्यायाधीश हुँदै न्याय प्रशासनको कर्मचारीका रुपमा सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा रहेर विश्वनाथ उपाध्याय लगायत धेरैजना प्रधानन्यायाधीशहरुसँग काम गरेको अनुभव उहाँसँग छ।
हाल नेसनल ल कलेजको चेयरम्यानका रुपमा रहेर संवैधानिक कानून पढाइरहनुभएका तिमल्सेनालाई नेपालमा सूचनाको हकसम्बन्धी कानूनी संरचनाका ‘आर्किटेक्ट’ का रुपमा समेत लिने गरिन्छ ।
अदालतमा लामो समय काम गर्दाका अनुभवलाई सँगालेर उहाँले ‘अदालतभित्र, अदालतबाहिर’ भन्ने पुस्तक लेख्नुभएको छ । न्याय र कानुनको क्षेत्रमा अनुभवप्राप्त विद्वान डा. तिमल्सेनाले शुरुमा ‘राइट टु इन्फर्मेसन’ भन्ने पुस्तक लेख्नुभएको थियो । भर्खरै उहाँले अर्को किताब लेख्नुभएको छ– प्रश्न पुराना, उत्तर नयाँ : मानव चेतना र सभ्यताको यात्रा ।
भर्खरै प्रकाशित ५६६ पृष्ठको नयाँ पुस्तक तीन-चार वर्ष मिहेनत गरेर तयार पारेको उहाँ बताउनुहुन्छ । पुस्तक दर्शनशास्त्रमा केन्द्रित छ । जसमा १० वटा खण्डहरु छन् ।
यो अन्तर्वार्तामा हामी पुस्तकभित्र पसेर ‘माइक्रो एनालाइसिस’ गर्नतिर लाग्दैनौँ। अलिकति ‘अदालतभित्र र अदालत बाहिर’ भन्ने पुस्तकसँग जोडिएको विषयमा कुराकानी गर्नेछौँ । अनि नयाँ किताबको चर्चा गर्ने र्छौँ ।

शुरुमा ‘अदालतभित्र र अदालत बाहिर‘ भन्ने पुस्तकमै जाऔँ । २०७५ सालमा प्रकाशित यो पुस्तकमा ‘न्यायाधीशको मनोविज्ञान‘ भन्ने एउटा च्याप्टर रहेछ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र प्रशासनको प्रमुखको रुपमा रहने रजिष्ट्रार, मुख्य रजिष्ट्रारको बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने सैद्धान्तिक विषयमा अहिले प्रश्न पनि उठेको छ । यहाँलाई प्रश्न– प्रधानन्यायाधीश ठूलो हो कि सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार वा रजिष्ट्रार ?
हेर्नुस् यसलाई सैद्धान्तिक, दार्शनिकरुपमा भन्नुपर्दा दुवै ठूला हुन्, दुवै ठूला होइनन्। कुनै पनि सिस्टम चल्नका लागि एउटा कम्पोनेन्टले पुग्दैन। त्यसमा बहु-कम्पोनेन्ट्सहरु हुन्छन्। विशेषगरी अदालतको प्रधानन्यायाधीश र रजिष्ट्रारको अथवा प्रशासनको प्रमुखको सम्बन्धको जब कुरा गर्छौँ भने ती दुईटा कुनै पनि ठूला होइनन्, दुइटै ठूला हुन्। एउटा मेरो पहिलो कुरा ।
कुनै पनि सिस्टम एउटा कम्पोनेन्टले चल्दैन, दुईटा कम्पोनेन्ट चाहिन्छ । तर त्यो दुईवटा कम्पोनेन्ट हुँदा जब ठूलोको कुरो आउँछ, त्यो अहंकारको कुरा हो। त्यो अहंकारबारे मेरो यो ‘प्रश्न पुराना उत्तर नयाँ’ पुस्तकमा चर्चा छ।
जब मान्छे म ठूलो अथवा म सानो भन्छ, मैले भनेको उसले मान्नुपर्छ अथवा उसले भनेको मैले मान्न हुँदैन भन्ने सोच्छ, त्यो अहंकार हो। अहंकारबाट संस्थाहरु चल्नु हुँदैन। संस्थाहरु चल्ने भनेको संस्कारबाट हो। त्यो संस्कारको मूल्य हुन्छ।
कानुन मात्र केही पाइँदैन । कानुनमा टेकेर प्रधानन्यायाधीशले निर्देशन दिने, रजिष्ट्रारले मान्ने अथवा नमान्ने, दर्ता गर्ने रजिष्ट्रारको काम भन्नुभयो भने सर्वोच्च अदालत नियमावलीको कुरो, संविधानको कुरो आउला। तर, त्योभन्दा ठूलो कुरा भनेको अदालतको संस्कार हुन्छ । त्यो संस्कार भनेको एउटा सिस्टम हो। त्यो सिस्टमले चल्नुपर्छ ।
त्यसो भएर अहिले म भन्दैछु, दुवैले दुवैलाई सम्मान गर्नुपर्छ । दुवैले आफ्नो कमजोरीलाई आत्मसात गर्नुपर्छ । दुवैले आफ्नो अर्को पक्षमा हस्तक्षेप गर्नु हुँदैन ।
तर, अवस्थाअनुसार दुइटै भनेको एउटा टिम हो, त्यो टिमले मिलेर काम गर्नुपर्छ। त्यो मिल्नु केका लागि भन्दा संवैधानिक दर्शन र न्यायिक दर्शनका आधारमा । त्यो मूल्यको आधारमा । त्यो मूल्य नाघ्नका लागि मिलियो भने त्यो गठबन्धन भन्छ, गठबन्धन पनि हुनुहुँदैन।
म हाँको पुस्तक अदालतभित्र, अदालतबाहिर’ मा रहेको ‘न्यायाधीशको मनोविज्ञान’ अलिकति पढ्न चाहन्छु । जसमा लेखिएको छ- ‘सर्वोच्चभित्र शक्तिको मनोविज्ञान कस्तो हुन्छ भने रजिष्ट्रारको इगोहरु बीचमा स्यान्डवीच हुन पुग्छ। प्रधानन्यायाधीशसँग मिलेर काम गर्नुपर्ने हुनाले उ सँग नजिक हुनैपर्यो। कतिपय सूचनाहरु गोप्य पनि हुन्छन्। अरु न्यायाधीशहरुमा चाहिँ रजिष्ट्रारले आफूलाई मानिदेओस् र गोप्य सूचना भनिदेओस्, म पनि भावी प्रधानन्यायाधीश हुँ भन्ने मनोविज्ञान हुँदो रहेछ।’ भनेपछि वरिष्ठ न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा स्यान्डवीच जस्तो हुने र समस्या पर्ने पद हो रजिष्ट्रार ?
यो पूरै व्यवस्थापनको पार्ट हो। यसमा दुईटा कुरा हुन्छ । एउटा ‘ह्युमन साइकोलोजी’ र अर्को ‘म्यानेजमेन्ट साइकोलोजी ।’ यी दुईटा कुराहरु हुन्छन्।
मान्छेले जबसम्म उसको चेत खुल्दैन, जहाँ पनि र जहिले पनि आफूलाई केन्द्रविन्दुमा राख्छ । संस्थालाई केन्द्रविन्दुमा राख्यो भने त्यस्तो कुरो हुँदैन। तर मानवीय कमजोरीहरु हुन्छन् हैन। म्यानेजमेन्टमा बस्ने मान्छेको पनि अथवा पद होल्ड गर्ने मान्छेको पनि साइकोलोजी हुन्छ र कमजोरी पनि हुन्छ । उसको पहिलो दृष्टिकोण आफू हो । त्यो आफू भन्नेबित्तिकै आफूलाई अरुले मानिदेओस्, आफ्नो कुरा बिकोस् अथवा आफ्नो गरिमालाई अरुले धावा नबोलुन्, भन्ने कुरा हुन्छ।
त्यसैले मैले सधैँ भन्ने गर्छु, केही मूल्य निर्देशित सत्यता हुन्छन् । केही युनिभर्सल सत्यताहरु हुन्छन् । केही अपरेसनल सत्यहरु हुन्छन्। यी सबैको संयुक्त संयोजन र विश्लेषण नै न्याय प्रशासन हो। र, यो मनोविज्ञानबाट अदालत पनि मुक्त छैन, त्यो सत्य हो।
यहाँको पुस्तकमा लेखिएको छ, ‘कहिलेकाहीँ प्रधानन्यायाधीश र रजिष्ट्रारको पनि कुरा मिल्दैन। प्रधानन्यायाधीश एउटा लाइनमा हुन्छ, रजिष्ट्रार अर्कै सोचमा। कानुन एकातिर, सोच अर्कातिर। त्यस्तोमा न्यायपालिकाको बृहत्तर हितका लागि लबिइङ गर्नुपर्ने अवस्था आउँछ…।’ मैले यो प्रसंग किन निकालेको भने प्रधानन्यायाधीश र रजिष्ट्रारको बीचमा कुरा मिलेन भने त्योबेलाको निर्णायक अधिकारी चाहिँ को हो?
यो के विषय हो, त्यसमा भर पर्छ।
जस्तो, उदाहरणका लागि– कसैले मुद्दा लिएर आयो, प्रशासनले त्यो दरपीठ गर्न पाउँछ। उसैले हेरेर दरपीठ गर्न पाउने अधिकार हुन्छ। तर दरपीठविरुद्ध आइसकेको रिट चाहिँ अनिवार्य दर्ता भएर न्यायाधीशकहाँ पुग्नै पर्छ कि रजिष्ट्रारले नै त्यसलाई पुन: फाइनल गर्न पाउँछ ? यसको प्रिन्सिपल के हो ?
यसको मेकानिजम छ । यसलाई ‘इन्डिभिजुअलाइज्ड’ गरेर हेर्नु हुँदैन। ‘होलिस्टिक पर्सपेक्टिभ’ मा हेर्नुपर्छ। मैले पहिला पनि भनेँ, न्यायपालिका संस्था हो। यो रजिष्ट्रारको अथवा मुख्य रजिष्ट्रारको वा प्रधानन्यायाधीशको मात्रै सम्पत्ति होइन। यो राष्ट्रको सम्पत्ति हो। न्यायका लागि हो । न्यायका राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै मान्यता छन्। ती मान्यतामा एउटा तहगत श्रेणीको हिसाबले, मूल्यको हिसाबले, त्यो संस्थाको प्रमुखको हिसाबले संविधानमा अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुन्छ भनेको हुनाले नैतिकरुपमा प्रधानन्यायाधीश नै जिम्मेवार हुन्छ ।
तर, प्रधानन्यायाधीशको मुख्य भूमिका प्रशासनमा भन्दा बढी न्यायमा हो । बेन्च म्यानेजमेन्ट हो। बेन्चसँग सम्बन्धित कुराहरुमा हो। प्रशासन सहयोग गर्नका लागि भनौँ अथवा एउटा छुट्टै डिसिप्लिन हो।
हेर्नुस् बेलायतजस्तो देशहरुमा न्याय सेवाको मान्छे होइन, छुट्टै कोर्ट सर्भिस भन्ने हुन्छ। अदालतकै सेवा दिने सर्भिस हुन्छ। उनीहरुको आफ्नो-आफ्नो जुरिडिक्सन (क्षेत्राधिकार) हुन्छ। एउटाले अर्कोलाई दख्खल दिँदैन। तर, त्यो ‘लार्जर गोल ओरिएन्टेड इन्स्टिच्युसन’ भएको हुनाले यसमा मेरो गोरुको बाह्रै टक्का चल्दैन। सल्लाह हुन्छ, समझदारी हुन्छ। सल्लाह र समझदारी भएन भने त्योबेलामा मूल्य र मान्यता हुन्छन्। ती मूल्य र मान्यता प्रधानन्यायाधीशका र रजिष्ट्रारका होइनन्, न्यायका मूल्य र मान्यता हुन्छन् । अदालतका मान्यता हुन्छन्। ती मान्यता नतोडिकन दुइटैले काम गर्नुपर्छ। यदि मान्यता तोडिन्छ भने चाहे त्यो जोसुकै होस्, तोड्ने व्यक्ति गलत हो।
जस्तो- दरपीठ विरुद्धको रिटको अन्तिम अधिकार चाहिँ कसको हो ? न्यायाधीश कि कर्मचारी ?
यहाँ अन्तिमको कुरै छैन। दरपीठ भयो भने दरपीठ उपर पनि उजुर लाग्छ। हाम्रो न्यायमा कुनै पनि उजुर नलाग्ने भन्ने ठाउँ हुँदैन। अन्तिम उजुरी त कि ईश्वरको दरबारमा लाग्छ कि जनताकहाँ लाग्छ। संविधानभित्र त उजुर लाग्ने, अपिल लाग्ने चिज व्यवस्थाहरु छन् नि । त्यसैले रजिष्ट्रारको उपर कहीँ पनि जान नहुने, अझ प्रधानन्यायाधीशकै उपर कहीँ पनि जान नहुने भन्ने होइन। त्यहाँ पनि निश्चित मूल्यहरु छन्। प्रधानन्यायाधीशविरुद्ध उजुर लाग्छ । संविधान छ नि। संविधान नाघेर प्रधानन्यायाधीशले काम गर्न मिल्छ ? मिल्दैन। सर्वोच्च अदालत नियमावली र संविधान नाघेर रजिष्ट्रारले काम गर्न मिल्छ ? मिल्दैन।
उनीहरुले मान्ने बेन्चमार्क भनेको ती डकुमेन्टहरु हुन्। त्यसको अतिरिक्त, त्योभन्दा न्यायिक स्वतन्त्रताको उच्च मूल्य हुन्छ । जुडिसियल म्यानेजमेन्टको मूल्य हुन्छ । ती चिजलाई अन्डरमाइन गरेर कोरा कानुनको मात्रै पनि अर्थ गर्नु हुँदैन।
त्यसैले मैले सधैँ भन्ने गर्छु, इन्स्टिच्युसनल चेत ठूलो कुरा हो । चेत खुल्नुपर्छ। त्यसै भनेको होइन जोन रल्सले ‘जस्टिस एज फेयरनेस’। न्याय भनेको स्वच्छता हो। देखिनु पनि पर्यो, स्वच्छ हुनु पर्यो । त्यहाँ अक्षरको मात्रै कुरा आउँदैन, त्यहाँ भावनाको कुरा हुन्छ। जहाँ भाव हुँदैन त्यहाँ अभाव हुन्छ। संविधानको पनि भाव हुन्छ । सर्वोच्च अदालत नियमावलीको पनि भाव छ।
जनताले के बुझ्नु पर्यो भने कोरा अक्षरमा यो छ भन्ने होइन। यहाँ ‘लिभिङ रियालिटी’ पनि छ, ‘म्यानेजमेन्ट’को सिद्धान्त पनि छ र ठूलो न्यायको लक्ष पनि छ । त्यसैले मैले मध्यमार्गमा कुरा गरेँ। कोही पनि ठूलो हुँदैन। कानुनको अधीनमा हुनुपर्छ, संविधानको अधीनमा हुनुपर्छ, मूल्य र मान्यताको अधीनमा हुनुपर्छ । कमन सेन्सले पनि यो मान्छेले ठीक गर्यो कि बेठीक गर्यो भनेर कानुनै नपल्टाएको, संविधानै नपल्टाएको मान्छेले पनि बुझ्छ। त्यो बुझ्ने काम गर्नु पर्यो। त्यही हो न्याय।

न्यायाधीश र कर्मचारीको सम्बन्ध एवं क्षेत्राधिकारबारे यत्ति नै । अब पुस्तकतिरै फर्कँदा यहाँले ‘अदालतभित्र अदालत बाहिर‘ पुस्तक कुन परिवेशमा लेख्नुभो ? यसको लेखकीय पृष्ठभूमिबारे पाठकहरुलाई अलिकति बताइदिनु न ।
मैले जीवनमा मैले धेरै वर्ष अदालतमा बिताएँ । आधा । यो किताब लेख्ने बेलामा मेरो उमेर जति थियो, त्यसको आधा मैले अदालतमा बिताएको थिएँ। आधा अदालत बाहिर बिताएको थिएँ। त्यही कन्सेप्टमा, अदालतबाहिरको मेरो जीवन र अदालतभित्रको मेरो जीवन आधा-आधा हो। त्यसैले अदालत भित्र र अदालत बाहिर भनेर लेखिएको हो।
अदालतमा बसिन्जेल मेरो भूमिकाअनुसारको, पेसाअनुसारको काम थियो। अदालत बाहिर म एउटा स्वतन्त्र नागरिक थिएँ। अदालत बाहिर बस्दा एउटा स्वतन्त्र नागरिकको हैसियतले मैले के गरेँ, अदालतभित्र बस्दाका अनुशासन, त्यसका चुनौती, अवसर र त्यसमा मेरो दृष्टिकोण, त्यसमा कानुनी र संवैधानिक परिधि, यी सबैलाई मिलाएर लेखिएको हुनाले ‘अदालतभित्र र अदालत बाहिर’ भयो ।
तपाईँलाई अहिले हाम्रो अदालतभित्रका बारेमा केही बताउन मन छ ?
मैले अदालतभित्र त अहिले केही पनि बताउन जरुरी छैन। अदालतभित्र, मान्छेको शरीरभित्र जसरी आत्मा हुन्छ, प्राण हुन्छ, त्यो न्यायिक प्राण जागृत हुनुपर्छ भन्ने मेरो मान्यता छ। अहिले कता-कता न्यायिक प्राण कतै मुर्छित त छैन ? मुर्छित छ भन्ने मलाई लाग्छ। त्यसलाई जागृत गर्नुपर्ने अवस्थामा छ ।
न्यायिक जागरण, न्यायको जागरण, न्यायिक संस्थाको न्यायिकीकरण र ‘फेयरनेस’ (स्वच्छता) तर्फ जानुपर्ने अवस्था छ भन्ने मैले देखेको छु।
डाक्टरसाब, अब नयाँ किताब ‘प्रश्न पुराना उत्तर नयाँ, मानव चेतना र सभ्यताको यात्रा‘ को कुरा गरौँ । यो किताब लेख्ने सोचाइ कसरी आयो ?
मलाई के लाग्यो भने, म सर्वोच्च अदालतबाट रिटायर भएँ, समावेशी आयोगको अध्यक्षबाट रिटायर भएँ। ल कलेज खोलेँ। छोराछोरीहरु आफ्नो बाटो लागे। अब ६५ वर्ष लगभग पुग्न थालेँ। अब म के भयो भने बाँच्न सक्छु त भन्ने मलाई लाग्यो।
भनेपछि अब मेरो लाइफमा मैले जुन चिज जानेकै छैन, जुनमा मेरो अनुभवै छैन, त्यसबाट म सन्तुष्टि लिन सक्दिनँ। मैले सन्तुष्टि लिन सक्ने भनेको विद्या व्यवसाय, त्यसमा लेख्ने, कृति लेख्ने, र ज्ञान बाँड्ने, चिन्तन बाँड्ने नै हो भन्ने मेरो मनमा आयो।
जीवन दर्शन भनेको ठूलो कुरा हो । त्यो जीवन दर्शनसँग राष्ट्रको जीवन पनि जोडिन्छ। त्योसँग न्याय र अन्यायका पाटाहरु पनि जोडिन्छन्। त्योसँग शक्ति सन्तुलन र पृथकीकरणका कुराहरु पनि जोडिन्छन्। त्यतिमात्रै होइन, व्यक्तिको ‘कन्स्टिच्युएन्सी’ व्यक्ति आफैँ हो।
तर, आज दुनियाँमा मान्छे निरीह छ। उसको स्वतन्त्रता उसैलाई भार छ। तपाईँको र मेरो स्वतन्त्रता तपाईँ र मलाई नै भार छ। तपाईँ र मलाई कसैले काम अह्राउँदैन, तर तपाईँ र म यति काम गर्छौँ, यति जोतिन्छौँ। तर हामीलाई थाहा हुँदैन कि हामी किन जोतिइरहेका छौँ। यो चेतनाको अन्धकारमा हामी बाँचिरहेका हुन्छौँ।
एउटा मलाई याद आयो। तरल आधुनिकता । पानीजस्तै । न सम्बन्धमा स्थायित्व छ, न विचारमा स्थायित्व छ । न विकासमा स्थायित्व छ । हरेक कुरा परिवर्तनशील छन्। कुनै पनि कुरा आज सोचेको भोलि छैन। मैले हिजो सोचेको कुरो आज मेरा लागि आउटडेटेड हुन्छ। त्यसैले म ठिक थिएँ भन्ने कुरो पनि हुँदैन। एभ्रिथिङ इज चेन्जिङ । जसरी, हामी भन्छौँ नि, एउटै नदीमा प्रत्येक सेकेन्ड बगेको पानी नयाँ हो र त्यो नदीमा उही पानी फेरि बग्दैन । त्यसरी नै मान्छेको जीवन र सम्बन्धहरु पनि त्यस्तै तरल छन् ।
दोस्रो- मान्छे भनेको अहंकारको गुजुल्टो रहेछ। अहंकारै अहंकारले भरिएको । म, मेरो, मेरा आफन्त । यसबाट कसरी मुक्त हुने ?
तेस्रो- मैले जे देखेँ, संसारका साहित्यहरु हेरेँ । यो किताव लेख्नेबेला करिब दुई-तीन सय किताबहरु पढेको छु ।
धेरै असल, राम्रो र धेरै पढेको, सद्गुणी मान्छे पनि त्यसको कामको प्रकृतिले, समाजको स्वाभावले र संगतका कारणले समाजका लागि हानिकारक काम गर्न पुग्दो रहेछ।
हन्ना आरेन्टको Banality of Evil (दुष्टताको सामान्यता) भन्ने एउटा किताब छ। टिमोथी डेभिड स्नाइडरको On Tyranny (अत्याचारमा) भन्ने किताब छ। फिलिप जिम्बार्डोका The Lucifer Effect (शैतान प्रभाव) जस्ता किताबहरु छन्। संसारका किताबहरुमा के देखिन्छ भने सबैको ‘ह्युमन साइकोलोजी’ को कुरा भन्दा पनि परिस्थिति र संगतले मान्छेलाई बिगार्न सक्छ । खराब बनाउन सक्छ । असल मान्छे पनि कुसंस्कारमा पर्यो भने बिग्रने मान्छे हुन्छ र शैतान बन्छ ।

गजबको कुरोचाहिँ के भने तपाईँको र मेरो दिमागमा आफैँ एकातिर देवता छ, एकातिर शैतान छ। अन्त खोज्नै जानु पर्दैन। कहिले तपाईँ शैतान बन्नुहुन्छ, कहिले तपाईँ देवता बन्नुहुन्छ। कसैका लागि कुन क्षणमा तपाईँ देवता हो, कसको लागि कुन क्षणमा तपाईँ दानव हो । तर तपाई पूर्वानुमान गर्न सक्नुहुन्न । दुईटा फ्याकल्टी छ तपाईँको दिमागमा । तपाईँ डिफल्ट मोडमा काम गर्नुहुन्छ कि कुन मोडमा काम गर्नुहुन्छ? तपाईँ अभिप्रेरित भएर काम गर्नुहुन्छ कि निराश भएर ?
त्यसकारण मान्छेको चेत कहाँबाट आउँदो रहेछ? के बाट बन्दो रहेछ? यो जैविक हो कि यो दैविक हो? यो पराविद्या र अपराविद्याको बीचको फरक के हो? यो लौकिक कुरा र पारलौकिक कुरा के हो? चेतना विज्ञान के हो? हाम्रो दर्शनमा, उपनिषद र पुराणका धेरै कुराहरु छन्, मेटाफर छन्। चेतना भनेको के हो? कहाँ बस्छ? कसरी सिर्जना हुन्छ? महाभारतको लडाइँ वास्तवमा लडिएको थियो कि यो प्रतिकात्मक हो? पुस्तकमा यसको एउटा च्याप्टर छ।
जस्तो- मैले उदाहरणमा रुपमा तपाईँलाई भगवान श्रीकृष्ण । सबैले कृष्ण भन्छन् नि। कृष्ण यदि हुनुहुन्थ्यो र गोपिनीहरु थिए, गोपिनीको पछि लाग्नुहुन्थ्यो कृष्णजी भनेर भन्ने कलेज पढ्ने जमातहरु देख्छु । तर तिनीहरुले गोपिनी र कृष्णको अर्थ बुझेका छैनन् ।
तपाईँको जुन चैतन्य छ, त्यो चैतन्य खुलेपछि सारा संसारका राम्रा कुराहरु, प्रेमका वृत्तिहरु तपाईँको पछि लाग्छन्। गोपिनी भनेको फिजिकल शरीर होइन। त्यो वृत्ति हो। प्रेममय संसारको अवधारणा हो। र, कृष्ण भनेको चेतना हो। कृष्ण चेतना कहाँ जन्मन्छ ? कारागारमा जन्मन्छ। त्यो कारागार के हो? तपाईँको शरीर हो। तपाईँको शरीरबाट चेतना जन्मन्छ। यो बुझ्नुस्। त्यो कुनै गोकुलको कारागारमा जन्मेको होइन।
कंश के हो ? तपाईँको नेगेटिभ पार्ट हो। तपाईँको पोजेटिभ पार्ट कृष्ण चैतन्य हो। चैतन्य कहाँ जन्मन्छ? तपाईँको शरीरमा जन्मन्छ। त्यो जन्मेपछि अटोमेटिकल्ली जेलका ढोका खुल्छन्। त्यो खुल्ने भनेको तपाईँको अन्धकार एकैचोटि गायब हुन्छ। अनि त्यसलाई कसले लैजान्छ ? वासुदेवले। वासुदेव भनेको के हो? बुद्धि हो। बुद्धिले चेतनालाई बोकेर त्यो उर्लिँदो यमुना पार गर्छ। त्यो भनेको यो संसारका दु:ख–सुखबाट पार हुन्छ । कहाँ लिएर जान्छ? यशोदा मैयाकहाँ लान्छ, जो प्रेमको प्रतिमूर्ति हो। राधा के हुन्? प्रेमको प्रतिमूर्ति हुन्। राधाले कहिल्यै पनि आफ्नो जन्मस्थान छोडिनन्। कृष्ण किन गए द्वारका ? त्यो भनेको चेतनाको रुपान्तरण ।
अब यो मेटाफोरबाट संसारले यो एनालाइसिस त गर्दैन। उसले त कथा, एउटा भगवान भनेपछि मान्छे सम्झन्छ। भगवान भनेको आकार सम्झन्छ, साकार सम्झन्छ। त्यो निराकार छ। त्यो अपरा र पराको बीचमा छ। यो चैतन्यको वर्णन कसले गर्ने? कसरी बुझाउने भनेर यो किताबमा मैले त्यो टाइपको मेटाफोर प्रयोग गरेको छु ।
जस्तो- धृतराष्ट्र सिन्ड्रोम । राज्यमा जब मान्छेले पावर पाउँछ, त्यो अन्धो हुन्छ। त्यसका वरिपरि जति पनि बुद्धिजीवी हुन्छन्, ती बुद्धिजीवीहरु पनि त्यो अन्धो व्यक्तिको अगाडि नतमस्तक हुन्छन् । बुद्धिजीवीले आफ्नो सल्लाह दिन सक्दैनन् र राज्यमा अन्धताको परिणाम निस्कन्छ भनेर धृतराष्ट्र सिन्ड्रोम भन्या छु मैले।
धृतराष्ट्रको वरिपरि को थिएन ? कृष्ण थिए । भीष्म पितामह थिए । कर्ण थिए । विदुर थिए। यस्ता यस्ता भयानक बुद्धिजीवी, शास्त्र, अस्त्र सबै बुझेका व्यक्तिहरुको बीचमा बसेको धृतराष्ट्रलाई द्रौपदीको चिरहरण गर्नु हुँदैन भनेर सम्झाउन सक्ने चेत किन भएन ? त्यहाँ केही छ । यो दार्शनिक प्रश्न हो । यो प्रश्नका बारेमा मैले पुस्तकमा विश्लेषण गरेको छु। ह्वाट इज धृतराष्ट्र सिन्ड्रोम इन प्रिजेन्ट गभर्नेन्स ? अहिलेको सरकारमा त्यो ‘धृतराष्ट्र सिन्ड्रोम’ हुन्छ कि हुँदैन? अहिलेको भनेको आजको बालेनको सरकार होइन, समग्रमा सरकारको मनोविज्ञानको कुरा गरेको हो । सत्ताको वरिपरि बस्ने चेतयुक्त व्यक्ति पनि असहाय किन हुन्छन्? राजदरबारको सभामा बसेपछि बुद्धिजीवीहरु पनि किन निष्प्रभावी हुन्छन्? यस प्रकारको फिलोसोफिकल मेटाफोरमा पनि मैले विश्लेषण गरेको छु ।
मैले मैले यो पुस्तकमा मान्छेको अहंकार, चित्त, क्लेश, कृपाबारे बताउने प्रयास गरेको छु । त्यसपछि उपनिषद के हो ? गीता के हो ? गीताको दर्शन के हो ? चैतन्य के हो ? यसबारे चर्चा गरेको छु । अहिले कसरी व्याख्या गरिन्छ र वास्तविकतामा फरक छ। अहिले हामीले बुझेको साकार रुप र निराकार रुपको बिचको फरक के हो?
त्यति मात्र होइन, मैले यसमा, समग्र पश्चिमी विज्ञान, पश्चिमा मनोविज्ञान, सिग्मण्ड फ्रायड, कार्ल गुस्ताव युङ, बुद्धिस्ट फिलोसोफी, त्यसका संस्कारका कुराहरु, त्यो दर्शन र हाम्रो चेतनाका स्वरुपहरुको बारेमा पनि पुस्तकमा चर्चा गरेको छु । एउटा गजबको कुरो भन्छु- हाम्रो शरीर स्थूल भन्दा बढी ध्वनिबाट चल्छ। ध्वनि भनेको गायत्री मन्त्र हो। ध्वनि भनेको ओम हो। यी दुईटा विज्ञान, ओमकार विज्ञान, गायत्री मन्त्रको प्रभाव र चक्र विज्ञान, सामवेद परम्परा, ऋग्वेदको परम्परा, यजुर्वेदको परम्परा र अथर्ववेदको परम्परासमेत चर्चा गरिएको छ ।
अहिले वेद भन्दा मान्छेले चारवटा वेद मात्रै भन्दा रहेछन्। वेदहरुको त चारवटा खण्ड हुन्छ। संहिता हुन्छ । ब्राह्मण हुन्छ । आरण्यक हुन्छ । उपनिषद हुन्छ। यी चारवटाको ज्ञान पनि फरक-फरक हुन्छ। फेरि वेद बुझ्नका लागि उपवेदका कुराहरु आउँछन्। वेदांगको कुराहरु हुन्छ। त्यसलाई वैज्ञानिकरुपमा मैले यसमा उल्लेख गरेको छु।
गीता भन्ने बित्तिकै अर्को कुरा छ । भागवत गीता सम्झन्छ मान्छेले। गीता त ६० वटाभन्दा बढी रहेछन्। मृत्युबोध गर्नलाई उद्धव गीता। भगवान श्रीकृष्णले शरीर छोड्ने बेलामा उद्धवलाई बोलाएर दिएको जुन शिक्षा छ, उद्धव गीता हो। लडाइँका बेलामा दिएको भागवत गीता हो। लडाइँ जितिसकेपछि शान्ति अवस्थामा दिएको प्रवचन गीता चाहिँ अनुगीता हो। व्याधाले पनि गीता पढाएको छ। ऋभु गीता छ । देवी गीता छ। तिनको द्वैत, अद्वैत र विशिष्टाद्वैत परम्परामा ती गीताहरुको अर्थ कसरी लाग्छ ? कुन तरिकाले बुझ्न सकिन्छ? त्यसको आधुनिक अर्थ के हुन सक्छ ? र आजका आधुनिक मनोवैज्ञानिकहरुले के भन्छन् ? मोडर्न साइन्सले के भन्छ? अथवा क्वान्टम फिजिक्स, क्वान्टम भ्याकुम, स्ट्रिङ थ्योरीलगायत हाम्रा दिमागका जैविक तथा अजैविक विचारधाराहरुको समग्र मेटाफिजिक्स र फिजिक्स दुइटै पूर्व र पश्चिमलाई राखेर किताब बनाएको छु।
‘पूर्वका प्रश्न, पश्चिमको उत्तर’ भन्ने एउटा शीर्षक छ। त्यसमा समग्र हाम्रो विश्वले, हाम्रो आध्यात्मिक जगतले सोध्ने प्रश्न र विज्ञानको जगतले दिने उत्तर समेटिएको छ । विज्ञानले आजसम्म उत्तर दिन नसकेका र अझै जीवित प्रश्नहरुको पर्स्पेक्टिभ पनि त्यहाँ छ। अर्को, सधैँ भन्ने गरेको, पूर्वी गोलार्द्धमा बस्ने मान्छेहरुलाई पश्चिमले साह्रै हेप्छ। हाम्रो चेत नै नखुलेको हो कि ? नेपालीहरुको आइक्यु नै कमजोर छ कि? पश्चिमले हामीलाई कसरी कुन दृष्टिविले हेर्छ भन्ने सन्दर्भमा पनि पुस्तकमा चर्चा गरेको छु ।
पश्चिमाले हामीलाई भन्ने गरेका कुराहरुको विचारका बारेमा पाँच/दशजना लेखकहरुका विचार छन् । हाम्रो बारेमा उनीहरुले किन हामीलाई प्रयोगशाला बनाउँछन्? किन गिनिपिग बनाउँछन्? किन कुतर्की भन्छन्? किन यिनीहरु स्टाटस सोसाइटीका हुन् भन्छन् भनेर हाम्रा लागि उनीहरुले बनाइदिएका भाष्यहरुबारे चर्चा गरेको छु । जुन, विदेशीले बनाइदिएको भाष्य गलत हुन सक्छ। तपाईँको लागि त तपाईँले नै नियम बनाउनु पर्यो नि । तपाईँका लागि मैले कानून इम्पोज गर्दिएपछि त्यो गलत हुन्छ । यो पर्स्पेक्टिभको कुरा पनि पुस्तकमा छ।
अहिले बन्दुक अथवा गोला बारुदबाट लड्ने भन्दा बढी विचारबाट लड्ने, प्रभुत्वबाट लड्ने, इकोनोमीबाट लड्ने, टेक्नोलोजीबाट लड्ने जमाना आयोय । अल्गोरिदम वार छ । अब यसलाई कसरी हेर्ने? आजको दृष्टिमा त्यो के हो त? त्यो लडाइँ के हो? औपनिवेशिक मानसिकता भनेको के हो?
तपाईँले र मैले सोचेकै कुरो त्यही नै सत्य होइन। पूर्वीय दर्शनको न्याय दर्शनमा के भन्छ भने इन्द्रीयहरु बेइमान हुन्छन्। तिनले देखेको, सुनेको, बुझेको कुरा पनि पञ्चज्ञानेन्द्रीय सत्य नहुन सक्छ। तपाईँले देखेँ भनेर विश्वास नगर्नुस्। परीक्षण गर्नुस्। त्यसका लागि चेतना जरुरी छ। त्यो पर्स्पेक्टिभ पनि पुस्तकमा राखेको छु।
किताब लेख्न कतिको गाह्रो भयो ? कति समय लाग्यो ?

म सधैँ डेमोक्रेटिक ल्याङ्ग्वेज, सिम्पल ल्याङ्ग्वेज, सबैले बुझ्ने जनताको भाषा बोल्नुपर्छ भन्ने विचारको मान्छे हुँ। तर, यो दर्शनशास्त्रको किताब लेखेर पढिसकेपछि यो धेरैले बुझ्दैनन्। यसका शब्दहरु, ग्लोसरीहरु सर्टेन लेभलको एजुकेशन नभई बुझ्न सकिने भएन। यसको रिडरसिप चाहिँ अलि हाई क्लासको, कम्तिमा चेत खुलेको मान्छे, अलिकति शब्दभण्डार बुझेको मान्छेले मात्र बुझ्छ।
जस्तो- सांख्यका २४ वटा तत्वहरु भनेँ। पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेन्द्रीय, पञ्च महाभूत, मन, बुद्धि, चित्त, अहंकार र कन्ससनेस भनेँ मैले। यी शब्द कतिले बुझ्छन्? बडो गाह्रो छ। मैले भनेँ, ओम भनेको तरंग पनि हो ओम भनेको शब्द पनि हो। ओम भनेको दर्शन पनि हो। ओमका चारवटा स्वरुप छन् । अब त्यो बुझ्न मुण्डक उपनिषद, माण्डुक्य उपनिषद, यो उपनिषदहरु पढेर त्यसको भाषा बुझ्न एउटा लेभलको विचारको विकास भइसकेको मान्छे चाहिन्छ। एउटा मात्रै शब्दलाई लिएर हामी आधा घण्टा व्याख्या गर्न सक्छौँ।
यो नयाँ पुस्ताले प्लस टु पढिसकेपछि पुस्तक पढ्नुपर्छ। स्कुल लेभलले भ्याउँदैन । युनिभर्सिटी र माथिल्लो एडभान्स लेभलमा गएपछि यस्तो चेतनाको कुरो पढाउनै पर्छ। अहिले हाम्रो देश यस्तो हुनुको कारण चेतनामा भएको गलतपन पनि हो। चेतनाको जागरण नै जरुरी छ। यो किताबको थिम नै चेतनाको पुनर्जागरण हो। किन पुनः भनेको भन्दा पहिला चेतना थियो। वैदिक कालमा, सनातन मान्यतामा थियो। बिचमा ब्ल्याक होलमा हामी फस्यौँ। अन्धकार युगमा फस्यौँ। अब फेरि रिभाइभ, रिसर्जेन्स गर्नुपर्ने स्थितिमा छौँ। त्यसकारण मलाई के लाग्छ भने अब चेतनाको पुनर्जागरण गर्ने युग हो। त्यसका लागि हामीले क, ख, ग, घबाट सुरु गर्नुपर्छ।
तपाईँ कानुनको क्षेत्रमा आधा जिन्दगी बिताउनुभएको मान्छे। कानुनको क्षेत्रका मान्छेहरुले दर्शनशास्त्रको किताब किन पढ्नुपर्ने ?
यो किन जरुरी छ भने यसमा धेरै कुरो जोडिन्छ। जस्तो- त्रिमूर्ति दर्शन भन्ने यसमा एउटा शीर्षक छ। देख्दाखेरि त्रिमूर्ति भनेको ब्रह्मा, विष्णु, महेश्वर। तर यसमा मेटाफोर के छ भने ब्रह्मा भनेको व्यवस्थापिका हो। विष्णु भनेको कार्यपालिका हो। महेश्वर भनेको न्यायपालिका हो। जुडिसियल एक्टिभिजम भनेको महेश्वरको तान्डव नृत्य हो। जुडिसियल सेल्फ रेस्ट्रेन्ट (न्यायपालिकाको आत्मसंयम) भनेको मौनता धारणा गरेर ध्यानमा बसेको शिवजी हो। यो किसिमको अवधारणागत मेटाफोर पनि यसमा छ।
दोस्रो- यसमा राज्यको दर्शन, समग्र दर्शनशास्त्र छ । मैले ज्योतिषीय दृष्टिमा नौवटा ग्रह कुन-कुन ग्रहले देशको कुन-कुन पक्षमा कनेक्ट गर्छन् भन्ने चर्चा गरेको छ । ज्योतिषीय दृष्टिमा गभर्नेन्सको पनि मैले एनालाइसिस गरेको छु। चक्र विज्ञान र मोडर्न साइन्स, स्ट्रिङ थ्योरी एम्पावरमेन्ट स्थित प्रज्ञताको वर्णनरु पनि गरेको छु।
त्यसैले मलाई के लाग्छ भने एउटा असल न्यायाधीश हुनका लागि पहिला त मान्छे चिन्नु पर्यो । अनि बल्ल कानुन चिन्ने हो । संविधान चिन्नु भन्दा पहिला मान्छे चिन्नुपर्छ। मान्छेको आत्मा चिन्नुपर्छ । मान्छेको दर्शन चिन्नुपर्छ अनि संविधान र कानुन चिन्नुपर्छ। दर्शन नै नभएको मान्छेले संविधानको व्याख्या गर्न सक्दैन।
मैले एउटा क्यानेडियन प्रोफेसरसँग कुरा गरेको थिएँ। मैले सोधेँ, किन संविधानमा अमूर्त शब्दहरुको प्रयोग गरिएको हुन्छ ? जस्तै- समानता, स्वाधीनता, स्वतन्त्रता आदि। जबकि यी शब्दको व्याख्या मुद्दैपिच्छे फरक हुन्छ…।
ती प्रोफेसरको जवाफ थियो- यो जरुरी भएर हो। किनकि संविधान धेरै वर्ष बाँच्नुपर्छ । समयमा परिवर्तन हुन्छ। त्यही स्वतन्त्रताको व्याख्या २ सय वर्ष पहिला र आज फरक छ। २ सय वर्ष पहिलाको न्याय र आजको न्याय फरक कुरा हो। २ सय वर्ष पहिलाको अदालतले सोच्ने तरिका र आजको अदालतले सोच्ने तरिका फरक हो। त्यसैले व्याख्या फरक हुन्छ। त्यसैले हामी संविधानलाई जीवित दस्तावेज भन्छौँ ।
यहाँको कुरा सुन्दै गर्दा यो किताबमा गीता, वेद, पुराणका कुराहरु बढी रहेछन् । यो त अलि धार्मिक/आध्यात्मिक ग्रन्थजस्तो भएन र ?
मैले संसारमा के कुरो बुझिरहेको छु भने मान्छेहरुमा भ्रम छ। धर्मको बुझाइ नै गलत छ। अध्यात्म भनेकै बुझ्या छैन। अध्यात्म भनेको आत्मासँग सम्बन्धित, मनसँग सम्बन्धित हो । मान्छेको व्यक्तित्व मूलत: वैज्ञानिक हुन्छ, त्यो अध्यात्म हो। मानिसका बढीजसो विचारहरु अध्यात्मिक हुन्छन् । त्यसैले अध्यात्मिक भनेको जुनरुपमा पाखण्डी कुराहरु गरिन्छ नि, त्यो होइन। अध्यात्म विज्ञान हो र विज्ञान भन्दा अझ पर हो । साइन्स भन्दा पनि उच्च कोटीको अध्यात्म विज्ञान हो। साइन्स त भर्खर बच्चा छ, अध्यात्म अलि प्रौढ छ। प्रौढमा पुग्न त बच्चाको कोणबाट गुज्रिनै पर्छ। त्यसैले अध्यात्म भनेको धर्म होइन ।
अर्को, जुन धर्म हामी भन्छौँ, त्यो रिलिजन होइन। यहाँ अर्को गलत कुरा छ। रिलिजन र धर्म फरक छन्। अहिले जसलाई हामी संविधानको धर्मनिरपेक्षता आदि इत्यादि भन्छौँ नि, त्यो पन्थ निरपेक्षता हो ।
धर्म निरपेक्षता हुँदैन। धर्म भनेको स्वभाव हो। तपाईँको र मेरो स्वभाव छ । कानुनको पनि स्वभाव छ । अदालतको पनि स्वभाव छ । समाजको पनि स्वभाव छ। धर्मभित्र कानुन पनि छ, आचार पनि छ, संस्कार पनि छ। त्यसैले आचारविहीन, संस्कारविहीन, कानुनविहीन राज्य हुँदैन। त्यसैले धर्म निरपेक्ष राज्य हुँदैन, पन्थ निरपेक्षता हुन्छ। त्यसैले अहिले बुझाउनुपर्ने जरुरी के हो भने पन्थ निरपेक्षता र धर्म निरपेक्षताको बिचमा के फरक छ?
मैले पहिले पनि भन्ने गरेको छु, यो जेनजी भन्छौँ नि आजकल, यो त पुस्ता मात्रै हो। यहाँभित्र सुपर चेत भएका पनि छन्, अचेत पनि छन्।
दुईसय वर्ष पहिला अमेरिकन संविधान लेख्ने बेलाका त्यतिखेरका विचारशील मान्छेहरु अहिलेका धेरै ब्रिलियन्ट मान्छे भन्दा असल थिए। त्यसैले यो तपाईको उमेर मात्र होइन, यो तपाईको बौद्धिकता हो । तपाईको चेतना हो । चेतनाको लेभल कुन तहमा छ, त्यही अनुसार हुने हो। कति वर्षको उमेर भयो भन्ने महत्वपूर्ण होइन।
त्यसैले जेन्जी पुस्ता युनिभर्सल सत्य होइन। यसलाई चेतनाको दृष्टिकोणबाट, चेतनाको ऐनामा पुनः परिभाषित गर्न जरुरी छ।
भिडियो-
ताजा अपडेट
एउटै मान्छे लुसिफर र देवता दुवै हो !
११ जेठ २०८३हामीले संविधान नै लेखेर बुझायौँ
१० जेठ २०८३
