काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनालाई अधिकांश रूपमा “पूर्वयोजनाअनुसार गरिएको सङ्गठित आपराधिक गतिविधि” को संज्ञा दिएको छ ।
आयोगको प्रतिवेदनकाे बुँदा नम्बर १६ अनुसार भदौ २३ गतेको घटनाबाट उत्पन्न आक्रोशका कारण घटनाको सुरुवात भएको देखिए पनि २४ गते देशभर एकै समयमा एकै उद्देश्यका साथ भएका गतिविधिले ती घटना योजनाबद्ध र सङ्गठित प्रकृतिका रहेको निष्कर्ष निकालिएको हो ।
प्रतिवेदनमा प्रदर्शनकारीद्वारा ३ जना नेपाल प्रहरी कर्मचारीको कुटपिटपछि हत्या गरिएको, राजनीतिक दलका नेता–कार्यकर्ता तथा सुरक्षा निकायका कर्मचारीमाथि सार्वजनिक आक्रमण भएको उल्लेख छ । त्यसैगरी प्रदर्शन नियन्त्रणका क्रममा भएको आगजनीमा २१ जनाको मृत्यु भएको आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान खुलेको र १२ जनाको पहिचान हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सोही घटनामा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी तथा प्राध्यापक रवि लक्ष्मी चित्रकारसहित कैयौँ व्यक्ति जलेर गम्भीर घाइते भएको तथा देशभर अर्बौं रुपैयाँ बराबरको धनसम्पत्तिमा तोडफोड र आगजनीबाट क्षति पुगेको आयोगले जनाएको छ ।
उक्त अवस्थालाई ध्यानमा राख्दै आयोगले भदौ २४ का प्रायः सबै घटनालाई आपराधिक गतिविधिका रूपमा हेरी सम्बोधन गर्नुपर्ने निष्कर्ष आयाेगले निकालेको छ ।

