अन्तर्राष्ट्रिय कानून कमजोर हुँदा नेपाल किन जोखिममा पर्छ ?

जस नेपाल

२४ जेठ २०८३

अन्तर्राष्ट्रिय कानून कमजोर हुँदा नेपाल किन जोखिममा पर्छ ?

काठमाडौं । विश्व व्यवस्थाको एउटा आधारभूत सिद्धान्त हो – शक्तिशाली र कमजोर दुवै राष्ट्रका लागि नियम एउटै हुनुपर्छ । तर पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरूमाथि बढ्दो राजनीतिक दबाबले यही सिद्धान्तमाथि प्रश्न उठाउन थालेको छ ।

विशेष गरी अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) र अन्तर्राष्ट्रिय न्यायालय (ICJ) को स्वतन्त्रतामाथि चुनौती बढिरहेका बेला नेपालजस्ता साना तथा विकासउन्मुख राष्ट्रहरूका लागि यसको असर के हुन सक्छ भन्ने बिषय चिन्तित हो ।

सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीश तथा अभियोजकहरूमाथि प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय कानुनी वृत्तमा व्यापक विरोध देखिएको थियो । अदालतका अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध, सम्पत्ति रोक्का तथा आर्थिक सेवामा अवरोधजस्ता कदम चालिएपछि संयुक्त राष्ट्रसंघका विज्ञहरूदेखि विभिन्न मुलुकहरूले यसलाई अन्तर्राष्ट्रिय न्याय प्रणालीमाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका थिए ।

किन महत्वपूर्ण छ ICC ? 

ICC कुनै सामान्य अदालत होइन । युद्ध अपराध, मानवताविरुद्धका अपराध, नरसंहार तथा गम्भीर अन्तर्राष्ट्रिय अपराधमा व्यक्तिलाई जिम्मेवार ठहर गर्न स्थापना गरिएको विश्वकै प्रमुख स्थायी अदालत हो ।

विश्वका सबै राष्ट्र यसको सदस्य छैनन् । नेपालले पनि अझै रोम विधान अनुमोदन गरेको छैन । तर त्यसको अर्थ नेपाललाई ICC सँग कुनै सरोकार छैन भन्ने होइन ।

The International Criminal Court building is seen in The Hague, Netherlands, January 16, 2019. REUTERS/Piroschka van de Wouw

द्वन्द्वकालीन न्याय, जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरू, यातना, यौन हिंसा तथा मानव अधिकार उल्लंघनका घटनामा अन्तर्राष्ट्रिय मापदण्ड निर्माण गर्न ICC ले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले अदालत कमजोर हुँदा केवल सदस्य राष्ट्रहरू मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय मानवअधिकार प्रणाली प्रभावित हुन्छ ।

नेपालको दशक लामो सशस्त्र द्वन्द्व समाप्त भएको झण्डै दुई दशक पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया पूर्ण रूपमा टुंगोमा पुगेको छैन ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको प्रभावकारितामाथि लामो समयदेखि प्रश्न उठ्दै आएका छन् । पीडित पक्षले न्याय नपाएको गुनासो दोहोरिइरहेको छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय न्याय प्रणाली कमजोर हुँदै जाँदा घरेलु न्याय प्रक्रियामाथि सुधारको दबाब पनि घट्न सक्ने मानवअधिकारकर्मीहरूको चिन्ता छ ।

अन्तर्राष्ट्रिय अदालतहरूले प्रत्यक्ष हस्तक्षेप नगरे पनि उनीहरूको अस्तित्वले राज्यहरूलाई न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न बाध्य बनाइरहेको हुन्छ ।

करोडौं नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारी र आप्रवासनसँग जोडिएका छन् । खाडी मुलुक, मलेसिया तथा अन्य देशहरूमा श्रम शोषण, मानव बेचबिखन, कामदारको मृत्यु तथा मानव अधिकार उल्लंघनका घटनाहरू नियमित रूपमा सार्वजनिक भइरहेका हुन्छन् ।

यस्ता मुद्दामा न्याय खोज्ने प्रक्रियामा अन्तर्राष्ट्रिय मानवअधिकार संरचना, अन्तर्राष्ट्रिय कानुनी मापदण्ड र अन्तर्राष्ट्रिय दबाबले महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय उत्तरदायित्वको प्रणाली कमजोर हुँदै जाँदा कमजोर वर्ग, आप्रवासी समुदाय तथा श्रमिकहरू झन् असुरक्षित बन्न सक्छन् । ICC मात्र होइन, अन्तर्राष्ट्रिय न्यायालय (ICJ) पनि साना राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्वपूर्ण माध्यम मानिन्छ ।

हालै जलवायु परिवर्तनका विषयमा साना टापु राष्ट्रहरूले उठाएका मुद्दाहरूलाई विश्वव्यापी बहसको केन्द्रमा ल्याउन ICJ को भूमिका उल्लेखनीय मानिएको छ ।

नेपाल पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेका मुलुकहरूमध्ये एक हो । हिमनदी पग्लिने, बाढी, पहिरो तथा पानीसँग सम्बन्धित अन्तरदेशीय विवादहरू भविष्यमा अझ महत्वपूर्ण बन्न सक्छ ।

यस्ता विषयमा अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय अदालतका व्याख्याहरू साना मुलुकका लागि महत्वपूर्ण आधार बन्न सक्छन् ।

नेपाल विश्वका प्रमुख संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक योगदानकर्ता मुलुकहरूमध्ये एक हो । हजारौं नेपाली सुरक्षाकर्मी विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिँदै आएका छन् । यस्ता मिसनहरू अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारका सिद्धान्तहरूमा आधारित हुन्छन् ।

यदि अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरूको विश्वसनीयता कमजोर हुँदै गयो भने शान्ति स्थापना अभियानहरूको नैतिक आधारसमेत कमजोर हुन सक्ने विश्लेषण गरिन्छ । शक्ती राष्ट्रसँग आफ्नो हित जोगाउन आर्थिक शक्ति, सैन्य क्षमता र कूटनीतिक प्रभावका धेरै साधन हुन्छन् । तर नेपालजस्ता मुलुकहरू प्रायः अन्तर्राष्ट्रिय नियम, संस्थागत संरक्षण र बहुपक्षीय प्रणालीमा निर्भर रहन्छन् ।

त्यसैले ICC वा ICJ माथिको दबाब कुनै टाढाको भू(राजनीतिक विवाद मात्र होइन । यसले अन्ततः विश्व व्यवस्था नियमले चल्ने कि शक्तिले चल्ने भन्ने ठूलो प्रश्न खडा गर्छ र यदि अन्तर्राष्ट्रिय न्याय प्रणाली कमजोर हुँदै गयो भने त्यसको सबैभन्दा ठूलो मूल्य शक्तिशाली राष्ट्रहरूले होइन, नेपालजस्ता मुलुकहरूले तिर्नुपर्ने हुन सक्छ ।

सम्बन्धित खवर

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र कक्षा १२ को...

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...