काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शङ्खपार्कबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हिरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए ।
२०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका निजलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए ।

