तेहरान लेबनानमा भइरहेको युद्ध रोक्नका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू स्विट्जरल्यान्डमा हुने उच्चस्तरीय प्राविधिक वार्ताको तयारीमा जुटिरहेका छन् ।
वार्तामा पाकिस्तान र कतारले मध्यस्थता गर्नेछन् । यो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका इरानी समकक्षीबीच बिहीबार विद्युतीय माध्यमबाट समझदारीपत्र (MoU) मा हस्ताक्षर भएपछि हुन लागेको हो ।
को-को सहभागी हुँदैछन् ?
आइतबारको वार्ता स्विट्जरल्याण्डको बर्गेनस्टक नामक सहरमा लेक लुसर्नमाथिको एक होटल परिसरमा हुनेछ । इरानको प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गर्नेछन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् । टोलीमा ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर पनि सहभागी हुने जनाइएको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीर तथा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ । उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले लेबनान युद्धविराम उल्लङ्घन भएको भन्दै होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको छ ।
वार्ताको एजेन्डा के छ ?
अमेरिका-इरानबीचको प्राविधिक वार्ता ६० दिनसम्म चल्ने बताइएको छ । यस अवधिमा दुवै पक्षका अधिकारीहरूले शान्ति प्रक्रियाको अन्तिम चरण, इरानको आणविक कार्यक्रम तथा लेबनानमा इजरायलको युद्धजस्ता प्रमुख विवादित विषय समाधानका उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।
वार्ताको पहिलो दिन लेबनान युद्धविराम नै मुख्य विषय बन्ने अपेक्षा गरिएको छ । युद्धविराम घोषणा भए पनि शनिबार इजरायली सेनाले लेबनानमा दर्जनौँ मानिसको ज्यान लिएको थियो ।
समझदारीपत्रको पहिलो बुँदामा अमेरिका र इरानले “लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही अन्त्य गर्ने” सहमति गरेको उल्लेख गरिएको छ । यसमा दुवै पक्षले लेबनानको “भौगोलिक अखण्डता र सार्वभौमिकता” सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
तर सम्झौतामा इजरायलको पक्ष उल्लेख गरिएको छैन । हाल इजरायलले लेबनानको झण्डै पाँचौं भाग नियन्त्रणमा राखेको र मार्चको सुरुदेखि दैनिकजसो आक्रमण गर्दै आएको उल्लेख गरिएको छ , जसबाट ४ हजारभन्दा बढी मानिस मारिएका र १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता रस ह्यारिसनका अनुसार दुवै पक्ष दोस्रो चरणको प्राविधिक वार्ता अर्थात् इरानको आणविक कार्यक्रमतर्फ अघि बढ्नुअघि पहिलो चरण सफल भएको सुनिश्चित गर्न चाहन्छन् ।
यसमा इरानको स्पष्ट अडान छ- विगतका वार्ताका क्रममा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको सन्दर्भमा अहिले अमेरिका वास्तवमै इजरायललाई लेबनानमा नियन्त्रण गर्न सक्षम छ कि छैन भन्ने सुनिश्चित हुनुपर्छ ।
शनिबार इरानले लेबनानमाथि इजरायलको आक्रमण जारी रहेको भन्दै विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्य फेरि बन्द गरिएको जनाएको थियो । तर अमेरिकी सेनाले भने जलमार्ग सबै जहाजका लागि खुला रहेको बताएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार जुन २० मा जलडमरूमध्य हुँदै व्यापारिक जहाजको आवागमन बढेको थियो । उसले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज अन्तर्राष्ट्रिय जलमार्ग सुरक्षित रह्यो र ५५ वटा व्यापारिक जहाजले आवागमन गरे, जसबाट ठूलो परिमाणमा सामान तथा १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल विश्व बजारमा पुग्यो ।”
उही दिन ट्रम्पले युद्धविराम अवधिभर जलडमरूमध्य प्रयोगमा कुनै शुल्क नलाग्ने बताएका थिए ।
होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द हुँदा र त्यसपछि अमेरिकी नौसैनिक नाकाबन्दी हुँदा विश्व ऊर्जा संकट गहिरिएको तथा विश्व अर्थतन्त्र मन्दीतर्फ जाने खतरा बढेको उल्लेख गरिएको छ ।

