काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति चयनका लागि २०८३ साल साउन ३० गते निर्वाचन हुने भएको छ ।
बार एशोसिएशनको गत असार ११ गते बसेको कार्यसमिति बैठकले साउन ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गराउने निर्णय गरेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्न निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा बारका सचिव अधिवक्ता रविन्द्रकुमार ढुंगाना र निवर्तमान सहसचिव अधिवक्ता इन्दु कार्की सदस्य रहेका छन् ।
बारका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुरप्रसाद ढुंगानाद्वारा जारी विज्ञप्तिअनुसार वर्तमान कार्यसमिति २०८१ भदौ १ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भई भदौ २९ गतेदेखि कार्यभार सम्हाल्दै आएको थियो । कार्यकाल पूरा हुनुअघि नै निर्वाचन मिति घोषणा गर्न पाउँदा कार्यसमिति गौरवान्वित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सीमित स्रोत–साधनका बीच सदस्यहरूको हित र पेशागत उन्नयनका लागि इमान्दारितापूर्वक काम गरिएको दाबी गर्दै कार्यकालभर सहयोग गर्ने वरिष्ठ अधिवक्ता, कानून व्यवसायी, नेपाल बार एशोसिएशन, न्यायपालिका तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरिएको छ ।
साथै उच्च अदालत बार एशोसिएशन पाटनका सदस्यहरूलाई असार मसान्तभित्र सदस्यता नवीकरण गर्न अनुरोध गरिएको छ । आगामी २०८५ सालमा हुने नेपाल बार एशोसिएशनको निर्वाचनलाई लक्षित गर्दै नेपाल बार काउन्सिलको सदस्यता नवीकरणसमेत समयमै गर्न बारले आग्रह गरेको छ ।

