काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई विशेष अदालतले दोस्रो पटक तीन दिन म्याद थप गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा अनुसन्धान प्रयोजनका लागि पेश गरिएका पौडेलमाथि थप अनुसन्धान गर्न आइतबार तीन दिन म्याद थप गरिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।
विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो । आदेशअनुसार पौडेललाई न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाइनेछ ।
यसअघि विशेष अदालतले पौडेललाई पहिलो पटक सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अनुसन्धान अझै नसकिएको भन्दै विभागले पुनः म्याद थपको माग गरेपछि अदालतले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको थियो । उनि पक्राउ पर्नु अघि भैसिपार्ट स्थित उनकाे निवासमा छापासमेत मारिएकाे थियाे ।


