चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर

जस नेपाल

११ कार्तिक २०८२

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर

काठमाडौँ, कार्तिक ११ । चीनले मङ्गलबार दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गरेको छ। यस कदमलाई चीनले अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान-चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउँदै ‘एकताको सट्टा टकरावले कसैलाई फाइदा नहुने’ बताउनुभयो। “एकता नै शक्ति हो,” लीले राष्ट्रपति सी जिनपिङको भनाइ उद्धृत गर्दै भन्नुभयो । उहाँले अमेरिकी आर्थिक जबरजस्ती र हस्तक्षेपको आलोचना गर्दै क्षेत्रीय सहयोगले साझा हित सुरक्षित गर्न सक्ने धारणा प्रस्तुत गर्नुभयो ।

तर, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनप्रतिको सावधानीपूर्ण दृष्टिकोण अपनाउँदै ‘सहयोग जबरजस्तीको साथमा हुन सक्दैन’ भन्दै चेतावनी दिनुभयो ।

नयाँ सम्झौता र यसका फाइदाहरू

नयाँ सम्झौता ‘आसियान-चीन स्वतन्त्र व्यापार क्षेत्र ३.०’ का रूपमा चिनिएको छ। यो सम्झौताले २ अर्बभन्दा बढी जनसङ्ख्या भएको बजारलाई जोड्नेछ। यसले सामानमा कर घटाउने, लगानी र सेवा प्रवाह सहज पार्ने र आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राख्दछ। सन् २००२ मा पहिलो पटक हस्ताक्षर गरिएको यो सम्झौता सन् २०१० मा लागू भएको थियो ।

अहिलेसम्म दुईतर्फी व्यापार सन् २०१० को २ खर्ब ३५ अर्ब डलरबाट बढेर गत वर्ष झन्डै १० खर्ब डलर पुगेको छ। आसियान र चीन एक–अर्काका प्रमुख व्यापारिक साझेदार हुन् । ली किआङले आसियान सदस्यहरू – ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर—लाई ‘भूगोल, संस्कृति र भावना नजिकका भाइ राष्ट्रहरू’ भन्दै संयुक्त प्रगतिको आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकपक्षीयता र संरक्षणवादले विश्वव्यापी व्यापार संरचनामा गम्भीर असर पुर्‍याएको छ, तर हामी पारस्परिक भरोसा र समन्वयद्वारा हाम्रो वैध अधिकार र चासोको रक्षा गर्न सक्छौँ ।”

राजनीतिक विश्लेषक ब्रिजेट वेल्शका अनुसार अद्यावधिक सम्झौताले आपूर्ति शृङ्खला र दिगोपनमा क्षेत्रीय लाभ पुर्‍याउनेछ। उहाँले भन्नुभयो, “यो सम्झौताले विश्वव्यापी वास्तविकतालाई पनि प्रतिबिम्बित गर्छ, जहाँ गैर-अमेरिकी देशहरू आफ्नो समृद्धिका लागि नयाँ व्यापार सहकार्यतर्फ उन्मुख छन् ।”

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानको सन्तुलित नीति दोहोर्‍याउँदै भन्नुभयो, “हामी हिजो अमेरिकाका राष्ट्रपति ट्रम्पसँग थियौँ, आज चीनसँग छलफल गर्दैछौँ-यसले आसियानको केन्द्रीय भूमिका र सन्तुलित कूटनीति देखाउँछ।”

दक्षिण चीन सागर विवाद र भावी योजना

आसियान-चीन स्वतन्त्र व्यापार क्षेत्र ३.० अन्तर्गत डिजिटल व्यापार, हरित अर्थतन्त्र, दिगोपन र साना-मध्यम उद्योगहरूको प्रवद्र्धनमा जोड दिइनेछ। यसले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्नेछ । तर दक्षिण चीन सागरमा विवाद झन् तातिएको छ। फिलिपिन्सका राष्ट्रपति मार्कोसले समुद्री क्षेत्रमा चीनको ‘खतरनाक कार्य र उत्पीडन’ प्रति गम्भीर चिन्ता जनाउँदै भन्नुभयो, “समुद्री वातावरणको संरक्षणका नाममा कुनै पनि कदम सार्वभौमसत्तामाथि आक्रमण हुन सक्दैन ।” मार्कोसले आगामी वर्ष आसियान अध्यक्षता सम्हाल्दै विवादित जल क्षेत्रमा आचारसंहिता निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

यसबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुले फिलिपिन्समाथि ‘समुद्रमा उक्साहट र उल्लङ्घन’ गरेको आरोप लगाउँदै तनाव बढाएको दाबी गर्नुभयो । विश्लेषक वेल्शले भन्नुभयो, “दक्षिण चीन सागर विवादलाई क्षेत्रीय देशहरूले सुरक्षा विषयका रूपमा लिन्छन्, तर त्यसले चीनसँगको आर्थिक सम्बन्धमा ठूलो असर पार्ने सम्भावना कम छ ।”

सम्बन्धित खवर

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

चितवन । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि...

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान...

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । हिरासत...

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

काठमाडौँ । रुकुम पश्चिममा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएकाे...