प्रदेशको खारेजी कि पुनसंरचना ?

जस नेपाल

१२ कार्तिक २०८२

प्रदेशको खारेजी कि पुनसंरचना ?

काडमाडाैं ।  संविधान कार्यान्वयनको यो पहिलो दशकमा सघन बहस भएको मुद्दा प्रदेश संरचना पनि हो । यो कुरा स्वाभाविकै हो कि संघीयता मन नपराउनेहरुले कुनै न कुनै प्रकारले प्रदेशविरुद्ध जनमत सिर्जना गर्दै भए । तर, प्रदेश ठीक छ र चाहिन्छ भन्नेहरुले पनि जनताले महसुस गर्ने गरी प्रदेश सरकार र प्रदेशसभाको औचित्य प्रमाणित गर्न सकेनन् । संघीयताका पक्षधरहरुको व्यवहार नै सही हुन सकेन ।

केन्द्रमा सरकार ढल्दा प्रदेशमा पनि ढाल्ने प्रचलन संघीयता पक्षधरहरुबाटै भयो । प्रदेश प्रमुखहरुमा समेत सिंहदरबारबाट चर्को राजनीतिकरण गरियो । प्रदेशमा मन्त्री बनाउने हानाथाप चल्यो । नातावाद कृपावादले गर्दा प्रदेशसभाहरु दक्ष बनेन्न । सिंहदरबारको राजनीतिक विकृति प्रदेशहरुमा पनि सर्‍यो । यी विविध कारणले गर्दा प्रदेशमाथिको वितृष्णा बढ्दै गएको अवस्था छ ।

प्रदेशलाई अर्को आँखाबाट पनि हेरिनुपर्छ । संविधान कार्यान्वयन हुन थालेको एक दशकसम्म प्रदेशलाई अधिकार दिइएन । समयमा कानूनहरु बनेनन् । संस्थाहरु हस्तान्तरण भएनन् । प्रदेशहरुले आफ्नो ढंगबाट पूर्ण क्षमतामा काम नै गर्न पाएनन् । एक प्रकारले भन्ने हो भने संविधान कार्यान्वयन नै पूरा भएन । र, प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयताको मर्ममाथि नै चोट पुग्यो ।

अबको महत्पूर्ण प्रश्न भनेको प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउँदै संविधानले भनेजसरी संघीयतालाई कार्यान्वयनमा लैजाने हो या प्रदेशको औचित्यमाथि प्रश्न उठाउँदै विगतको यो एक दशकमा जस्तै अल्मिलिएरै, झगडा गरेरै बस्ने हो ? देशलाई अघि बढाउने हो भने यो प्रश्नको समाधान खोज्नैपर्छ ।

प्रदेशको खारेजी हुनुपर्छ भन्ने कतिपय मानिसहरुको तर्क सुनिन्छ । प्रदेश किन खारेज हुनुपर्ने ? यस्तो प्रश्न सोध्यो भने उनीहरु स्थानीय तहलाई गाली गर्छन् । गाउँपिच्छे राजाहरु जन्मेका, भ्रष्टाचार बढेको र विकास नभएको बताउँछन् ।

स्थानीय तहलाई गाली गरेर संघीयताको काम छैन भन्न मिल्दैन । किनभने देश संघीयतामा नगए पनि स्थानीय तहहरु हुन्छन् । ०७२ सालअघिसम्म त ४ हजार बढी स्थानीय निकायहरु थिए, संघीयता आएपछि घटेर ७५३ मा झारिएको छ । संघीयतामा नगएको र ४ हजार गाविस नै रहेको भए अहिले ४ हजार ‘राजाहरु’ रहने थिए, संघीयतामा यो संख्या घटेको छ । र, स्थानीय तहले गाउँमा विकासका कामहरु पनि राम्रो गरेका छन् ।

जसरी स्थानीय तहको कमजोरीलाई देखाएर संघीयता ठीक छैन भन्नु असान्दर्भिक हुन्छ, त्यसैगरी स्थानीय तहले राम्रो काम गरेका छन् भन्दैमा प्रदेश सरकारको औचित्य पुष्टि हुँदैन । प्रदेशले आफ्नो औचित्य आफैं पुष्टि गर्नुपर्छ ।

प्रदेश संरचना चाहिन्छ कि चाहिँदैन त ?

विगतमा संघीयता नभएका बेला ७५ जना जिविस सभापति हुन्थे । त्यसमा ७५ जना उपसभापति जोड्दा १५० को संख्या पुग्थ्यो । सभापति र उपसभापति सरकारी गाढी चढ्थे । सरकारी आवासमा बस्थे । राज्यको ढुकुटीमा उनीहरुले धुलो उडाएका थिए । हुन त अहिले संघीयतामा गइसकेपछि पनि संघीयताको मर्मविपरीत जिससलाई ब्युँताएर खर्च बढाउने काम भइ नै रहेको छ ।

अहिले संघीयतामा प्रदेशका मन्त्रीहरुले खर्च बढाएको बताइरहँदा हिजोको जिविस सभापति र उपसभापतिहरुको पनि हरहिसाब जोड्नुपर्ने हुन्छ । कुन बढी छ, पहिलेको कि अहिलेको ? अनि, प्रदेश खारेज गर्ने हो भने ७७ जिल्लाहरु नै राजा पाल्ने अड्डा बन्ने पो हुन् कि ? हामी तावाबाट फुत्केर भुंग्रोमा पो पर्ने हौं कि ?

यी प्रश्नहरुमा गम्भीर चिन्तन नै नगरी बुरुक्क उफ्रेर ‘प्रदेशको काम छैन’ भनिरहँदा हामी फस्ने जोखिम छ । हाम्रो आगामी पुस्ता प्रयोगशालाभित्र फस्ने खतरा छ ।

भावी पुस्तालाई राजनीतिक अस्थिरतामै जकडिराख्ने छुट पुरानो पुस्ताका नेताहरुलाई छैन । अब देशले प्रयोग हैन, विकास र समृद्धि खोजेको छ, शान्ति खोजेको छ । संवैधानिक स्थिरता खोजेको छ । सुशासन खोजेको छ ।

प्रदेशको हकमा केही ठोस प्रश्नको समाधान खोजौं । प्रदेश संरचना स्थापना गर्ने संविधानिक मनसाय के थियो ? त्यो मनसाय अनुरुप हामीले संवैधानिक अभ्यासहरु गर्‍यौं कि गरेनौं ? त्यसअनुसारका कानून र संरचनाहरु बनायौं कि बनाएनौं ?

सिंहदरबारको अधिकार विकेन्द्रीकरण गर्‍यो कि सिंहदरबारमै खुम्च्यायौं ? के हामीले प्रदेश संरचनाको भरपूर एवं पूर्ण क्षमतामा अभ्यास गरिसकेका हौं ? त्यसो होइन भने प्रयोग र परीक्षाविनै प्रदेश संरचनाबाट ‘ब्याक’ हुन खोज्दा त्यसले विभिन्न जातीय क्षेत्रीय समुदायलाई उत्तेजित बनाउने र देश फेरि अर्को एक दशक विवादमा फस्न सक्ने जोखिमतर्फ सबैले विचार गर्न जरुरी छ ।

कोशी प्रदेशमा एउटा नाममा कारण के भइरहेको छ, सबैलाई थाहा छ । प्रदेश खारेज गर्दा भोलि मधेसमा के होला, कर्णाली, सुदुरपश्चिम, नेवा, ताम्सालिङ, तमुवानका मुद्दाहरु फेरि जाग्लान् नजाग्लान् ? यतातर्फ पनि विचार गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खवर

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको...

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...