काठमाडौं । जस नेपालले यसअघि पूर्वप्रधानन्यायधीशहरु अनूप राज शर्मा र सुशीला कार्कीका दुई आत्मकथाहरुका विषयमा समीक्षा प्रकाशित गरेको थियो । यही सिलसिलामा हाम्रो हातमा अहिले अर्का पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको आत्मकथा ‘संयोगका पानाहरु’ रहेको छ ।
पूर्वप्रधानन्यायाधीश पराजुलीको पुस्तक ५१४ पृष्ठको रहेको छ । ०७८ सालमा प्रकाशित पुस्तकको मूल्य मोटो गाताको १०२५ रुपैयाँ छ भने पातलो गाताको ८२५ रहेको छ । पुस्तकको बेग्लाबेग्लै भूमिका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र डा. युवराज संग्रौलाले लेखेका छन् ।
पूर्वप्रधानन्यायाधीश पराजुली न्यायालयभित्रको एउटा गुटले पटक्कै नरुचाइएका पात्र हुन् । खास गरी उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको उमेरसम्बन्धी विवादमा उनी नराम्ररी फसे । साथै, विगतमा नेविसंघमा काम गरेको हुनाले उनलाई शेरबहादुृर देउवा निकट न्यायाधीशको आरोप पनि लाग्यो ।
अन्ततः पराजुलीलाई न्यायपरिषदका तत्कालीन सचिव नृपध्वज निरौलाबाट हस्ताक्षर गरिएको एउटा विज्ञप्तिमार्फत प्रधानन्यायाधीशबाट हटाइयो, जुन नेपालको इतिहासमै नौलो र उदेकलाग्दो घटनाका रुपमा रहेको छ । संसदीय सुनुवाई समेत छिचोलेर न्यायाधीश बनेको सर्वोच्च अदालतको एकजना न्यायाधीशलाई न्यायालयभित्र कतिसम्म अपमान गरिन्छ भन्ने दृष्टान्त हेर्दा निराशाबाहेक अर्को केही हात लाग्दैन ।
पराजुलीले आफ्नो बचाऊ गर्ने क्रममा आत्मकथामा अदालतभित्रको बैरागलाग्दो गुटबन्दीको उजागर गरेका छन् । उनको यो पुस्तक न्यायालय सुधारका लागि एउटा नकारात्मक सन्दर्भसामग्री बन्न सक्छ ।
पूर्वप्रधानन्यायाधीश पराजुलीले पुस्तकको तेस्रो परिच्छेदमा ‘न्याय सेवा : भोगाइहरुका उचारचढाव’ शीर्षकमा आफूभित्रको भँडास पोखेका छन् । राष्ट्रपतिबाट गोपनीयताको सपथ खाएको व्यक्तिले अदालतका कतिपय भित्री एवं निजी कुराहरु नओकलेको भए पनि हुन्थ्यो कि जस्तो लाग्छ पढ्दै जाँदा । किनभने न्यायाधीशहरुवीचको गुटबन्दीको छारो कन्याउँदा न्यायालयको गरिमा र अदालतप्रतिको जनविश्वास बढ्दैन, बरु घट्छ । न्यायालयप्रति जनतामा विश्वास जगाउनु आम नागरिकको कर्तव्य हो । पूर्वप्रधानन्यायfधीशहरुले त यसमा झन् धेरै ख्याल गर्नुपर्ने हो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले आफ्नो भोगाइबारे लेखेका उपशीर्षकहरु हेर्दा नै प्रष्ट हुन्छ, अदालतभित्रको फोहोरी राजनीतिक खेल । जस्तो– उनले लेखेका छन्, कान्तिपुर प्रवृत्ति, खेदोका कारण केके हुन सक्छन् ? न्यायालयलाई भत्काउने र बचाउनेहरु, पूर्ववर्तीबाट अन्याय तथा मित्रबाट घात, निवृत्तिभरण रोक्ने दुश्प्रयास, न्याया परिषदको हुर्मत काढियो, जन्मसन्दर्भ र यथार्थ, पूर्वाग्रही व्यवहार, मलाई किन हटाइयो ? कंश प्रवृत्ति र न्यायालय आदि ।
पूर्वप्रधानन्यायाधीश पराजुली अदालतभित्र र बाहिरका आफ्ना ‘दुश्मन’हरुबारे लेख्छन्, ‘उहाँहरुप्रति मेरो कुनै गुनासो छैन । तर, मेरो अस्तित्व नै नामेट पार्न उद्यत्त उहाँहरुको चाहनालाई मैले जस्ताको त्यस्तै पस्किन सकिनँ भने मेरो आत्मकथा अपूरो हुने हुँदा त्यस्ता प्रवृत्ति र पात्रलाई प्रकाशित गरेको छु । यसबाट कसैलाई कुनै चोट पर्न गएमा क्षमा चाहन्छु ।’
यसै सन्दर्भमा डा. युवराज संग्रौलाले पुस्तकको भूमिकामा केही कुराहरु संकेत गरेका छन् । संग्रौला लेख्छन्, ‘नितान्त निजी स्वार्थका कारणले कसले कसलाई कहिले आक्रमण गर्छ, थाहा छैन ।नेपालमा आफूलाई बनाउने हैन, अरुलाई भत्काउने संस्कृति मौलाएको छ ।यस रोगको शिकार न्यायपालिका पनि परेको छ । यस पुस्तकमा यी गम्भीर समस्याहरुका बारेमा चर्चाहरु उठेका छन् ।’
गोपाल पराजुलीका बारेमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र भन्छन्, ‘इजलासमा सँगै बस्दा मुद्दा छिटो बुझ्ने अभूतपूर्व क्षमता उहाँमा रहेको मैले पाएको थिएँ । सम्बन्धित कानून तथा प्रतिपादित सिद्धान्त समेतको समन्वयात्मक विश्लेषण गरी छिटो निष्कर्षमा पुग्न सक्ने क्षमता भएको विरलै न्यायाधीशमध्ये वहाँ एक हुनुहुन्थ्यो । उहाँको फैसला लेखन शैलीमा सरलता र स्पष्टता रहेको तथ्य मैले अनुभव गरेको छु ।’
तनहुँमा जन्मेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत जीवन दुःखै दुःखले भरिएको छ । आफैं मोटरसाइकल दुर्घटनामा परेर पुर्नजीवन पाएका उनले दुर्घटनाबाट पत्नीवियोगको सामना गर्नुपरेको छ, एकचोटि होइन दुई–दुईपटक । सवारी दुर्घटनामा छोरो गुमाउनुपरेको छ । आत्मकथा पढ्दा उनको यो भोगाइ निकै नै पीडादायक लाग्छ ।
पहाडबाट तराई बसाइँ झरेपछि पराजुलीले नवलपरासीमा विद्यालय शिक्षा लिए । ८ र ९ कक्षा उनले शारदा हाईस्कुलमा पढे । एसएलसी फेल भएपछि शिक्षको जातिर खोज्न हिँडे । त्यसबेला टेस्ट पास गरेको मान्छेले पनि शिक्षकको जागिर खान पाउँथ्यो । तनहुँकै विभिन्न स्कुलमा उनले तीन वर्ष जागिर खाए । हेडमास्टरसमेत बने । पछि ०२९ सालमा उनले वीरगञ्जको राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । अनि उच्च शिक्षाका लागि केही पैसा जोहो गरेर काठमाडौं पसे ।
पराजुली नेपाल ल क्याम्पसमा भर्ना भएर कानून पढ्न थाले । विस्तारै पञ्चायतविरोधी राजनीतिक गतिविधिमा सक्रिय बने । रामचन्द्र पौडेलको संगतले नेवि संघमा लागे ।०३५ सालको विद्यार्थी आन्दोलनमा केही समय जेल पनि परे । जेलबाट निस्केर जनमत संग्रहका बेला बहुदलको प्रचारमा विभिन्न जिल्लामा खटिए ।
पराजुली ०४६ सालको जनआन्दोलनका बेलासम्म आइपुग्दा उनी कृषि विकास बैंकको मानूनी सल्लाहकार बन्न भ्याइसकेका थिए ।
पराजुलीले ०३३ सालमा वीपी कोइरालालाई भेटे । त्यसपछि वीपीसँगको सम्वादबारे पुस्तकमा रोचक वर्णन पाइन्छ ।
पराजुली २०३६ साल साउनमा अधिवक्ताको लाइसेन्स लिनु अघिसम्म नेपाली कांग्रेसको राजनीतिमै सक्रिय थिए । अधिवक्ता भइसकेपछि पनि उनमा राजनीतिको ह्याङओभर उत्रिएको थिएन । ०४२ सालको सत्याग्रहमा पनि उनी जेल परे ।
वकालती पेशामा पराजुलीका गुरु मुकुन्द रेग्मी हुन् । रेग्मीकै ल फर्मबाट सहयोगीका रुपमा उनले कानून व्ययवसाय शुरु गरेका हुन् । तर, ०४८ साल असार ५ गते गम्भीर मोटरसाइकल दुर्घटनामा परेपछि पराजुलीलाई ठूलो विपत आइलाग्यो । पुस्तकमा उनले उक्त पीडादायी क्षणबारे वर्णन गरेका छन् ।
‘पारिवारिक वियोगका घटनाहरु’ पुस्तकमा बेग्लै शीर्षकमा चर्चा गरिएको छ । उनी लेख्छन्, ‘वैवाहिक जीवनमा अप्रत्याशित रुपमा विराम लागेसँगै अब एकल जीवन बिताउनुपर्छ भन्ने सोच नआएको पनि होइन । एकजना योगीकहाँ पुगेको पनि थिएँ… ।’
पराजुली ०४८ साल कात्तिक २३ गतेदेखि न्यायाधीश बनेका हुन्, पुनरावेदन अदालतको न्यायाधीशका रुपमा । देशका विभिन्न पुनरावेदन अदालतमा ‘लखेटिँदा’का कथाहरु पराजुलीले पुस्तकमा व्याख्या गरेका छन् । यसक्रममा आफूले छिनेका मुद्दाहरुका सन्दर्भमा पनि वर्णन गरेका छन् ।
पराजुली २०७४ साउन २ देखि चैत २ गतेसम्म प्रधानन्यायाधीश बनेका थिए । सुशीला कार्की पराजुलीभन्दा ठीक अगाडि प्रधानन्यायाधीश थिइन् । कार्कीले आफ्नो पुस्तक ‘न्याय’ मा गोपाल पराजुलीको नामै लिएर विरोध गरेकी छन् । उनले पराजुलीलाई ‘हसबहादुर’ समेत संज्ञा दिएकी छन् । यो दन्तबझान हेर्दा हाम्रो न्यायालयभित्रको गुटबन्दीको स्तर कस्तो थियो भन्ने छताछुल्ल हुन्छ ।
यो पनि-
पराजुली २०७१ सालदेखि २०७४ सालसम्म सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । ०४८ सालबाट ०७१ सालसम्म उनी पुनरावेदन अदालतको न्यायाधीश र मुख्य न्यायाधीश थिए । झण्डै अढाइ दशक न्यायाधीश भइसकेको व्यक्तिको अन्तिम कार्यकालमा उमेरसम्बन्धी विवाद उठ्नु र न्यायापरिषदको चिठीका आधारमा अदालतबाट गलहत्याइनु पक्कै पनि न्यायक्षेत्रको सुखद घटना होइन ।
आफ्नो पुस्तकमा पराजुलीले ‘केही महत्वपूर्ण राष्ट्रिय सवालहरु’ शीर्षकमा आफ्ना विचारहरु पस्केका छन् । साथै उनले न्यायाधीश हुँदा गरेका फैसलाहरुको विवरण पनि कानूनका विद्यार्थीका लागि सन्दर्भ सामग्री हुन सक्ने देखिन्छ ।
तथापि, उमेरसम्बन्धी विवाद, कांग्रेससँगको निकटता, मुद्दाहरुमा स्वार्थ समूहलाई जोगाउन खोजेको सहकर्मीहरुको आरोप अनि अदालतभित्र एउटा गुटको नेताका रुपमा पूर्वप्रधानन्यायाधीश पराजुली सधैं प्रश्नको घेरामा पर्दै आएका छन् । र, यिनै प्रश्नहरुका कारण उनीभित्रका सकारात्मक पक्षहरु छायामा पर्दै आएका छन् ।
व्यक्तिलाई या त देवत्वकरण गर्ने, या राक्षसीकरण गर्ने प्रवृत्तिबाट हामी मुक्त हुनैपर्छ । अदालतमा कोही पूर्वप्रधानन्यायाधीश देवताजस्तो र कोही राक्षसजस्तो भनेर जसरी भाष्य बनाइने गरेको छ, यसमा पूर्वप्रधानन्यायाधीशहरुको पनि योगदान रहेकै देखिन्छ । अझ आत्मकथा लेख्ने होडबाजीले त देवत्वकरण र राक्षसीकरणको शिलसिलालाई थप सघन बनाइदिएको छ ।
पराजुलीको किताब पढौं । उनी जे हुन् त्यही धारणा बनाऔं ।
यो पनि-
