ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

२५ मंसिर २०८२

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

काठमाडौं । नेपाल ल क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस मानिन्छ । सरकारी क्याम्पस भए पनि यहाँ कानून पढ्ने विद्यार्थीको आकर्षण थामिनसक्नु छ । प्रतिस्पर्धामा नाम निकालेर ल क्याम्पसमा भर्ना हुन पाउनुलाई कानूनका विद्यार्थीले सौभाग्य ठान्ने गरेका छन्।

यस वर्ष त्रिविले बीए.एलएल.बी अध्ययनका लागि ५७० जनाको कोटा तोकेको थियो । नेपाल ल क्याम्पसमा १६० जनाको कोटा तोकिएको थियो । यो कोटामा विद्यार्थीहरु भर्ना भइसकेका छन् र मंसिर २१ देखि पढाइसमेत शुरु भइसकेको छ।

नेपाल ल क्याम्पसले बीए.एलएल.बीका विद्यार्थीबाट प्रतिव्यक्ति ७० हजार १५० रुपैयाँ शुल्क लिएको छ । धरान लगायतका कलेजहरुमा भने योभन्दा केही सस्तोमा भर्ना लिइएको छ ।

नेपाल ल क्याम्पसले प्रतिविद्यार्थी ७० हजार १५० रुपैयाँ लिए पनि निजी क्याम्पसहरुको तुलनामा यो धेरै नै सस्तो हो ।

तर, विद्यार्थीबाट कुन–कुन शीर्षकमा शुल्क लिइयो भन्ने विवरण हेर्ने हो भनेचाहिँ केही शुल्क विद्यार्थीमाथि अनावश्यक भार थोपरिएको हो कि भनेजस्तो देखिन्छ ।

जस्तो– प्रत्येक विद्यार्थीबाट ‘स्टुडेन्ट युनियन फी’ भनेर ११ सय रुपैयाँका दरले उठाइएको छ । १६० जना विद्यार्थीबाट यसरी संकलन गर्दा स्ववियुको खातामा १ लाख ७६ हजार रुपैयाँ जम्मा हुन जान्छ । यसको अर्थ, स्ववियुका विद्यार्थी नेताहरु पाल्ने खर्च हरेक विद्यार्थीको थाप्लोमा बोकाइएको देखिन्छ । विद्यार्थीबाट शुल्क लिइए पनि स्ववियुको कार्यालय र क्याम्पसको वातावरण निकै फोहोर देखिन्छ, विद्यार्थी नेताले सरसफाइमा खासै ध्यान दिएको देखिँदैन ।

विद्यार्थी संगठन शुल्क वापत ११ सय रुपैयाँ लिएपछि फेरि विद्यार्थी कल्याण कोषका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ लिइएको छ ।

अर्कोतर्फ नेपाल ल क्याम्पसको भवन निकै जीर्ण छ । अहिले धमाधम नयाँ भवन बनिरहेको छ । तर, यो भवन निर्माणमा पनि कलेजले विद्यार्थीबाटै रकम संकलन गरेको छ । नेपाल ल क्याम्पसको संरचना निर्माणका लागि प्रत्येक विद्यार्थीबाट ६ हजार रुपैयाँ अनिवार्य चन्दा उठाइएको छ ।

संरचना निर्माणका लागि ६ हजार रुपैयाँ लिएको ल क्याम्पसले फेरि क्याम्पस विकास कोषका लागि थप ६ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क लिएको छ । यो १२ हजार रुपैयाँका कारण भर्ना शुल्क थप बढ्न गएको देखिन्छ ।

सामान्यतः सरकारी क्याम्पस भन्नेबित्तिकै जोकोहीले राज्यको लगानीमा बनेको संरचनामा न्यूनतम शुल्क तिरेर सर्वसाधारणका छोराछोरीले शिक्षा प्राप्त गर्ने संस्था भनेर बुझ्ने गरेका छन् । तर, सरकारी क्याम्पसको भवन निर्माणमा समेत विद्यार्थीबाट रकम उठाइनुले कानून संकायमा नेपाल सरकारको लगानी के कस्तो छ भन्ने देखाउँछ ।

नेपाल ल क्याम्पसमा बीए.एलएल.बीको पहिलो सेमेस्टरमा भर्ना हुने विद्यार्थीले क्याम्पसलाई विभिन्न १७ वटा शीर्षकमा शुल्क बुझाउँछन् । त्यस्तै, विद्यार्थीले कम्प्युटर ल्याब शुल्क ५ हजार, इन्ट्रान्स शुल्क १३ हजार, स्वास्थ्य बिमा बापत पाँच सय रुपैयाँ र आन्तरिक परीक्षा शुल्क बापत १ हजार ४ सय रुपैयाँ बुझाउँछन् ।

त्यसैगरी कानून समीक्षा (रिभ्यू) र कानून परिचर्चा शीर्षकमा २ हजार १५० रुपैयाँ, पुस्तकालय शुल्क र धरौटी बापत २/२ हजार रुपैयाँ, औषधी शुल्क तीन सय रुपैयाँ र विविध शुल्क शीर्षकमा १ हजार रुपैयाँ बुझाएको देखिन्छ । विद्यार्थीले ट्युसन शुल्क भनेर २८ हजार ३ सय रुपैयाँ तिर्छन्, जुन खासमा पढाइ वापतको शुल्क हो ।

भवन निर्माण र विद्यार्थी युनियन शुल्क बाहेक अन्य शुल्क खासै औचित्यहीन देखिँदैन । पुस्तकालयको प्रवन्ध पनि क्याम्पसले राम्रै गरेको छ । तर, खेलकूलमा शुल्क लिइए पनि चेस बाहेक अन्य खेलहरु खेल्ने ठाउँ ल क्याम्पसमा छैन ।

ल क्याम्पसमा स्रोतको अभाव छ : भुसाल

त्रिवि कानून संकायकी उपप्राध्यापक विष्णुमाया भुसाल नेपाल ल क्याम्पसलाई त्रिवि र सरकारले उचित ध्यान नदिँदा स्रोत साधनको अभाव झेल्नुपरेको बताउँछिन् ।

त्रिविले दरबन्दी थपेर पर्याप्त शिक्षक नदिँदा करारका शिक्षकबाट पढाउनुपरेको र स्रोत साधनको समस्या झेल्नु परिरहेको भुसालको गुनासो छ । तर, यस्तो अवस्थामा पनि नेपाल ल क्याम्पसको पढाइ गुणस्तरीय रहेको उनले दाबी गरिन् ।

केही समयअघि जस नेपालसँगको अन्तरवार्तामा भुसालले भनिन्, ‘नेपाल ल क्याम्पस धेरै पुरानो हो । यस क्याम्पसको उत्पादनले अहिले न्यायालयदेखि लिएर सबै ठाउँमा नेतृत्व गरिराख्नुभएको छ । तर, म २०६८ सालमा नियुक्त हुँदाखेरि करिब ९३/९४ जना शिक्षक हुनुहुन्थ्यो भने अहिले हामी ३२ जना छौं । अब २/३ जना घट्दै हुनुहुन्छ । हामीसँग अहिले ३ हजार भन्दा बढी विद्यार्थीहरु हुनुहुन्छ ।’

उनी थप्छिन्, ‘हामी अहिले बिहान र दिउँसोको सिफ्ट गरी सय जनालाई एलएलएम पढाउँछौं । बीएएलएलबीमा १० वटा सेमेस्टर हुन्छ । यसअघि १०५ जनाको कोटा थियो भने अब १६० जनालाई पढाउन थालिएको छ । एलएलबीमा हाम्रा ६ सय विद्यार्थी छन् । सबै सेमेस्टरका विद्यार्थी जोड्दा ३ हजार बढी हुनुहुन्छ भने हामी शिक्षकहरु २८/२९ जना छौं ।’

उपप्राध्यापक भुसाल अगाडि भन्छिन्, ‘नेपाल ल क्याम्पसमा ३/४ हजार विद्यार्थी पढाउँछौं, ठाउँको कुरा गर्ने हो भने ७ रोपनीमा बनेको बिल्डिङ छ । हाम्रो भौतिक संरचना एकदमै साँघुरो छ । ठाउँ पर्याप्त छैन । हामीलाई असाध्यै गाह्रो भएको छ । त्यसैले यसमा त्रिविले पनि ध्यान दिनुपर्‍यो र सरकारले पनि ध्यान दिनुपर्‍यो ।’

हेर्नुहोस् भुसालसँगको कुराकानी–

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

सम्बन्धित खवर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ । रवि लामिछाने मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा...

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल...

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

महेन्द्रनगर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको...