गौतम बुद्ध कठघरामा उभिँदा…

२७ मंसिर २०८२

गौतम बुद्ध कठघरामा उभिँदा…

एक दिन बाटामा हिँड्दै गर्दा उनले एक वृद्धलाई देखे, अनि उनमा विरक्तभाव उत्पन्न भयो । एक दिन उनले बाटामा एक रोगीलाई देखे, फेरि उनमा विरक्ति बढ्यो । एक दिन त घाटतर्फ लैजाँदै गरिएको मूर्दालाई देखे, उनीभित्रको विरक्तभाव झन् उत्कर्षमा पुग्यो ।

अनि एक दिन गृहस्थ त्यागेर हिँडेको भिक्षुलाई बाटोमा देखेपछि वैराग्य उत्पन्न भएर उनले पनि भिक्षु बन्ने निर्णय गरे ।

कपिलवस्तु राज्यका तत्कालीन भावी राजा सिद्धार्थ गौतमले वैराग्य उत्पन्न भएर दुःखको कारण खोज्न दरबार छाडी हिँड्नुका यी चार कारण हुन् भन्ने धारणा  सबैको मनमा प्रवेश गराइएको छ ।

यी कारणले भन्दा पनि सिद्धार्थ गौतमलाई तत्कालीन कपिलवस्तु राज्यले देश निकाला गरेको थियो, त्यही भएर दरबार छाडी उनी वैरागी भएर हिँडेका थिए ।

देश निकालामा परेको ब्यक्ति कालान्तरमा दुःखको कारण र दुःखको निवारणका उपायहरु पत्ता लगाएर संसारलाई सम्यक सन्देश दिने गौतम बुद्ध भएर निस्के ।

सिद्धार्थ गौतमको देश निकाला

त्योबेला कपिलवस्तु राज्य र कोलिय राज्यबीच बेला–बेलामा रोहिणी नदीको पानी बाँडफाँटको विषयलाई लिएर झगडा पर्थ्यो । यही विषयले निक्कै ठूलो युद्धको अवस्था निम्तो दिइरहेको थियो । कपिलवस्तु राज्यको सङ्घले कोलियहरुविरुद्ध युद्धको प्रस्ताव पारित गर्दा सिद्धार्थ गौतम त्यसको विपक्षमा उभिए । तर, कपिलवस्तुको त्योबेलाको नियम निक्कै कडा थियो ।

त्यस समय सिद्धार्थ गौतम पनि कपिलवस्तु सङ्घका सदस्य थिए, अहिलेको संसद सदस्यजस्तै । कपिलवस्तुको सङ्घमा कोलियहरुलाई सदाका लागि पन्छाउन युद्धको प्रस्ताव ल्याइँदा सिद्धार्थ गौतम लगायत केही सङ्घ सदस्यहरु युद्धको विपक्षमा उभिए । तर, युद्धविरोधीहरु अल्पमतमा परे ।

युद्धविरोधीहरुको नेतृत्व सिद्धार्थले गरेका त थिए, तर सङ्घको बहुमतले युद्ध गर्ने निर्णय गरिसकेपछि अन्य युद्धविरोधी सङ्घका सदस्यहरु पनि युद्धको पक्षमा समाहित भइसकेका थिए । अब सिद्धार्थ एक्लै परे ।

त्योबेलाको कपिलवस्तुको नियमअनुसार बहुमत पक्षले पारित गरेको निर्णय अल्पमत पक्षले पनि शिरोधार्य गर्नुपथ्र्यो । तर उनले आफ्नो अडान छाडेनन्, उनी एक्लै भए पनि युद्ध खराब हो भन्दै यसको विपक्षमा उभिइरहे । त्योबेलाको नियमअनुसार बहुमतको निर्णय नमाने मृत्यूदण्डको सजायको भागिदार हुनुपथ्र्यो । यसअनुसार सिद्धार्थले मृत्यूदण्ड पाउने अवस्था आइपर्न लागेको थियो ।

तर, सिद्धार्थको ससुराली कोशल राज्य थियो । कपिलवस्तुको शाक्य सङ्घ कोशल गणराज्यअन्तरगत नै पथ्र्यो । सिद्धार्थलाई मृत्युदण्ड दिइहाले कोशल राज्यसँगको पारिवारिक सम्बन्धका कारण कपिलवस्तुमा आन्तरिक विद्रोह वा कोशल राज्यको हस्तक्षेप हुने सम्भावना पनि उतिकै प्रबल थियो । यो कुरा कपिलवस्तुका सङ्घ सदस्यहरुलाई राम्रोसँग थाहा थियो, तर कपिलवस्तुको आन्तरिक नियमलाई पनि लागू गर्नुपर्ने बाध्यता छँदैथियो ।

त्यसैले कपिलवस्तु सङ्घले सिद्धार्थलाई मृत्युदण्ड दिने निर्णय कार्यान्वयन गरिहाल्न सकेन । बरु लौरो पनि नभाँचिने, सर्प पनि नमर्ने नीतिअनुसार सङ्घले सिद्धार्थ गौतमलाई देश निकाला गर्ने निर्णय गर्‍यो ।

सिद्धार्थ आफैं राजा शुद्धोधनका छोरा थिए । सङ्घले बहुमतबाट गरेको निर्णयविरुद्ध राजा पनि जान सक्दैनथे । राजा स्वयम् सङ्घको निर्णयप्रति बफादार हुनुपथ्र्यो । अन्ततः राजा शुद्धोधनका छोरा राजकुमार सिद्धार्थ गौतम कपिलवस्तु राज्यबाट देश निकालामा परे ।

सङ्घले गरेको निर्णय शीरोधार्य गर्दै सिद्धार्थ गौतम रातको समय पारेर देश छाडेर हिँडे ।

केही दिनअघि मात्र सिद्धार्थलाई पुत्रलाभ भएको थियो । आफ्नी जीवनसाथी यशोधरा, नवशिशु पुत्र राहुल, बुबा राजा शुद्धोधन र सानी आमा प्रजापति गौतमी र राजदरबार छाडेर रातको समय आफ्ना सारथी साथी, छन्न र कन्थक नामको घोडाका साथ कपिलवस्तु नगरबाट उनी बाहिर निस्केका थिए ।

सिद्धार्थ गौतम यसरी राजदरबार छाडेर वैरागी भएर निस्कनुलाई बौद्धग्रन्थहरुमा महाभिनिष्क्रमण भनिएको छ ।

बुद्धलाई व्यभिचारको बात लाग्दा

ध्यान विधिबाट सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरे । चार आर्यसत्य र अष्टाङ्गिक मार्ग उनले प्राप्त गरेको ज्ञान थियो । यहाँ दुःख छ, दुःखको कारण तृष्णा हो, कारण भएरै दुःखको निवारण पनि छ । दुःखको निवारणका लागि आठ वटा मार्ग अपनाउन सके मानिस दुःखबाट मुक्त हुन्छ भन्ने ज्ञानलाभ उनलाई भयो ।

उनले पत्ता लगाएको आठवटा मार्ग हुन्– सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।

हरेक कर्म ठिक्कले गर्नुपर्छ, यसो गरिए मानिस दुःखबाट मुक्त हुन्छ भन्ने ज्ञान सिद्धार्थ गौतमले पाए ।

उनले सम्यक दृष्टिअन्तरगत हिंसा, चोरी, व्यभिचार नगर्नु, झुट र कटु वचन नबोल्नु, चुक्ली नखेल्नु, गलत दृष्टि नराख्नु अनि बकवास, लोभ र प्रतिहिंसा नगर्नु, यसो गरिए दुःखबाट मुक्त हुन सकिन्छ भन्ने उपाय पत्ता लगाए ।

त्यसपछि सिद्धार्थ गौतम बुद्धको रुपमा प्रख्यात भए । उनको उपदेश सुन्ने अनि प्र्रवज्या लिई भिक्षु बन्नेहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै जान थाल्यो ।

तर, बुद्धको इष्र्या गर्नेहरु पनि त्यसबेला प्रशस्तै थिए । उनका काकाका छोरा देवदत्त पनि बुद्धको इष्र्या गर्ने र उनीमाथि अनेक षडयन्त्र रचना गरी दुःख दिने काममा सक्रिय थिए । बुद्धको पटक–पटक हत्या गर्ने प्रयास पनि भएको थियो । यी सारा ब्यवधानहरु पार गर्दै बुद्ध ठाउँ–ठाउँमा उपदेश दिँदै हिँडिरहेका थिए ।

त्यसैबेला अचानक एकजना महिला देखा परिन् ।

भक्तहरुलाई उपदेश दिएर बुद्ध आफ्नो साथमा रहने भिक्षुहरुसँग फर्कने बाटामा प्रायः साँझतिर हरेक दिन ती महिला देखा पर्थिन् । हरेक दिन उनको पेट बढ्दै गएको देखा पर्दै जान थालेको थियो । ती महिलाले आफू आमा बन्न लागेको र आफ्नो पेटको बच्चा बुद्ध हुन् भन्ने हल्ला फैलाउन थालिन् ।

बुद्धले भिक्षुहरुलाई सकभर महिलालाई नहेर्नु र हेरे पनि नराम्रो दृष्टिकोणले नहेर्नु भन्ने उपदेश दिने गरेका थिए । गृहस्थ जीवन त्यागेर प्रवज्या लिई भिक्षु बनिसकेकाहरुले कुनै नारीसँग यौनसम्बन्ध राख्ने कल्पना पनि गर्न सकिन्नथ्यो ।
सांसारिक जीवनबाट वैराग उत्पन्न भएर भिक्षु भएकाहरु कामवासनाबाट मुक्त हुनुपर्ने शील बुद्ध शासनमा थियो ।

अझ त्यसमा पनि बुद्धमाथि नै ब्यभिचारको आरोप लागेको चर्चाले ब्यापकता लिँदै गयो । समाजमा बुद्धबारे चलेको यो चर्चा फैलँदै गइरहँदा मानिसहरु जिब्रो काढ्न थाले । बुद्धको अनुशासन पालनामाथि बज्रिएको यो एक प्रकारको ठूलो बज्रपात थियो ।

बुद्धमाथि यसै विषयमा भिक्षुहरुले समेत आशंका गर्दै प्रश्न उठाउन थाले । तर, बुद्धमा पटक्कै विचलन आएको थिएन । उनी उस्तै शान्त, शालीन र धीर थिए ।

उनले आफूमाथि आइपरेको प्रश्नको जवाफ दिनैपर्ने भयो ।

आफूमाथि खडा भएको प्रश्नबाट उत्पन्न हुन पुगेको न्यायको कठघरामा उभिन उनी तयार भए र ती महिलालाई बोलाउन पठाए । ती महिलाले बुद्धसम्मुख आएर आफूले पेट बोकेको र बुद्धसँगको सम्बन्धकै कारण यो अवस्था आइपरेको ढिपी कसिन् ।

शान्त भावमा रहेका बुद्धले भने, ‘हो, यिनको पेटमा भएको बच्चा मेरै हो । तर यिनको पेट एकपटक खानतलासी गरेर हेरौँ ।’

ती महिलाको पेट खानतलासी भयो । उनले लगाएको लुगाभित्र थाङनाहरु, काठका टुक्रा प्रयोग भएको रहेछ, जसका कारण उनले गर्भधारण गरेजस्तो देखियोस् ।

यस्तो झुट देखिएपछि बुद्धले सफाइ पाए, ती महिलाले क्षमा पाइन् । बुद्ध आफ्ना उपदेशहरुमा क्षमा र प्रायश्चितको महत्व दर्शाइरहन्थे ।

बुद्धको प्रख्यातिलाई निस्तेज तुल्याउनका लागि उनकोे बेइज्जती गर्न तम्सनेहरु पनि निस्केका थिए, त्यो समय । त्यस्ता समूहहरुले प्रयोग गरेको महिलाको नाम थियो– चिन्चा मानविका । उनलाई त्यसबेलाका जैनहरुले बुद्धविरुद्ध प्रयोग गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

काठमााडौं । मोरङको लेटाङ नगरपालिकास्थित फँडानी एउटा शान्त गाउँ हो । चारकोशे झाडी (जंगल)...