काठमाडौं । अरुलाई न्याय दिने सर्वोच्च अदालतका न्यायाधीशहरु नै सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को शिकार बन्न थालेका छन् । पछिल्लो समय यस्तो साइबर बुलिङको शिकार बन्न पुगेका छन्– न्यायाधीश तिलप्रसाद श्रेष्ठ ।
केही दिनअघि एक विवादास्पद व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश शारंगा सुवेदी र सुनील कुमार पोखरेलको उल्टो फोटो छापेर व्यक्तिगत आरोपहरु लगाएका थिए ।
आफूले पुस २ देखि अदालतविरुद्ध आन्दोलन नै छेडेको बताउने उनै व्यक्तिले अहिले सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले एउटा रेष्टुरेन्टमा प्रभु बैंकका आरोपीलाई भेटेको दाबी गरेका छन् । उनले दाबी गरेको भनिएको भिडियोमा न्यायाधीश श्रेष्ठ रहेको पुष्टि हुँदैन ।
न्यायाधीश श्रेष्ठले प्रभु बैंकका सञ्चालकको मुद्दामा मिलेमतोका आधारमा निर्णय सुनाएको ती व्यक्तिले फेसबुकमार्फत आरोप लगाइएका छन् ।
न्यायायाधीशले गरेको कुनै पनि फैसला वा आदेशलाई लिएर समाजिक सञ्जालमा आएको यस्तो व्यक्तिगत गालीगलौचले न्यायमूर्तिहरुलाई स्वतन्त्रतापूर्वक न्याय निरुपण गर्नमा हतोत्साहित पार्ने प्रष्ट देखिएको छ ।
यसैबीच, न्यायाधीश श्रेष्ठले आफूविरुद्ध फेसबुकमा आएको विषयलाई नै सूचना मानेर छानबिन गर्न माग गरेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भनेका छन्,‘मेरो सम्बन्धमा फेसबुकमा आएका विषयलाई सूचना मानी सम्बन्धित निकायबाट छानविन होस् म पूरा सहयोग गर्न तयार छु ।’
न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘कृपया छानविनको नतिजा पनि आइदेओस् । गल्ती भएको देखिए जुनसुकै सजाय भोग्न पनि तयार छु ।’

अदालत विरुद्ध हात धोएर लाग्ने को हुन् ?
सर्वोच्च अदालत र कतिपय जिल्ला अदालतका न्यायाधीशहरुविरुद्ध सामाजिक सञ्जालमा तस्बिरसमेत राखेर व्यक्तिगत आरोपहरु लगाउने र न्यायाधीश विरुद्ध जनकारबाहीको चेतावनी दिने एकै व्यक्ति हुन्– राजकुमार तिमिल्सना ।
तिमल्सिना यसअघि सिधाकुरा डटकममा फेक अडियो प्रकरणमा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । त्यसपछि उनी अदालतविरुद्ध हात धोएर लागेका छन् । उनले पुस २ गतेदेखि न्यायालयविरुद्ध आन्दोलनकै घोषणा गरेका छन् ।
यो पनि पढ्नुहोस्–
पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन
न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?
‘सीधाकुरा’मा सर्वोच्चको व्याख्या : अदालतको अवहेलना र प्रेस स्वतन्त्रताको सीमा के हो ?

