काठमाडौँ । पछिल्लो निर्वाचनबाट चुनिएका समानुपातिक सांसदहरूले भोलि (बिहीबार) बिहान प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन आयोगले बिहीबार बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने भएको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले समानुपातिक सांसदहरूलाई बिहान प्रमाणपत्र दिइने र अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन’ पेश गर्ने तय भएको जानकारी दिएका छन् ।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिटमा जित हासिल गरेका छन् ।
निर्वाचनसम्बन्धी विस्तृत जानकारी दिन आयोगले बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलन बोलाएको छ ।

