काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा जारी सुनुवाइमा यसअघि समिति सदस्यहरूले शर्मालाई प्रश्न सोधेका थिए ।
त्यसअघि समितिले आजै सुनुवाइको पहिलो चरणमा शर्मामाथि परेका १६ उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताहरूले निजको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका थिए ।
दोस्रो चरणको सुनुवाइमा सांसद्हरूले शर्मालाई अदालतमा बिचौलियाको प्रभाव कसरी घटाउने ? बेञ्च र बार द्वन्द्व कसरी हल गर्ने ? निष्पक्ष भइ कार्यपालिकाको काममा अङ्कुश लगाउने सक्ने कि नसक्ने ? अदालतमा भएको भनिएको गुटबन्दी र पक्षधरता कसरी अन्त्य गर्ने ? न्याय निरुपणमा न्यायिक मनको कुरा भएन भन्ने नागरिक प्रश्नको जवाफ कसरी दिने ? न्यायालयमा हुने गरेको भनिएको भ्रष्टाचार अन्त्य गर्न कसरी काम गर्ने ? संक्रमणकालीन न्यायबारे धारणा के हो र अन्तरिम आदेशले विकासको काम रोकिने गरेकोमा न्यायालयलाई विकासमैत्री कसरी बनाउने ? लगायत प्रश्न सोधेका थिए ।
संवैधानिक परिषद्ले वैशाख २४ मा डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

