अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमाञ्चक पक्षहरू

जस नेपाल

६ जेठ २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमाञ्चक पक्षहरू

काठमाडौँ । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरे । उक्त भ्रमण केवल कूटनीतिक भेटघाटमा सीमित रहेन ।यो शक्ति, प्रदर्शन, तनाव, सामाजिक सञ्जाल र अनौठा क्षणहरूले भरिएको एउटा विश्वव्यापी ‘राजनीतिक शो’ जस्तै बन्यो।

चीनका राष्ट्रपति सी जिनपिङ सँगको भेटवार्ताले विश्व राजनीति, व्यापार र ताइवानको स्वतन्त्रताजस्ता संवेदनशील मुद्दामा ध्यान त खिच्यो नै, भ्रमणका केही रोचक र असामान्य पक्षले अझ बढी चर्चा पाए।

भ्रमणको सबैभन्दा चर्चित क्षणमध्ये एक थियो – ट्रम्पलाई बेइजिङस्थित झोङनानहाइ कम्पाउन्डको निजी भ्रमण गराइनु ।

तस्बिर: ‘झोङनानहाइ’ (Zhongnanhai) अवलोकनमा ट्रम्प 

चिनियाँ कम्युनिस्ट पार्टीको शक्ति केन्द्र मानिने यो क्षेत्र सामान्यतयाः विदेशी नेताका लागि खुला हुँदैन । यही स्थानमा अहिले चीनको शीर्ष नेतृत्व बसोबास र शासन सञ्चालन गर्छ । भ्रमणका क्रममा ट्रम्पले  सी जिनपिङसँग ‘अरू कुन विश्व नेताले यहाँ भ्रमण गरेका छन् ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा सीले ‘अत्यन्तै दुर्लभ’ भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन को नाम उल्लेख गरेका थिए । यसले ट्रम्पलाई दिइएको विशेष सम्मानको सङ्केत गरेको विश्लेषण गरिएको छ ।

चीनले ट्रम्पको स्वागत पनि निकै भव्य शैलीमा गर्‍यो । २१ तोपको सलामी, सैनिक ब्याण्ड, फूल र झण्डा बोकेका बालबालिका तथा राजकीय भोजले भ्रमणलाई चलचित्रजस्तै बनाइदियो । मदिरा नपिउने व्यक्तिका रूपमा परिचित ट्रम्पले औपचारिक टोस्टका लागि स्याम्पेनको प्रतीकात्मक सिप लिएको दृश्य समेत चर्चामा रह्यो ।

तस्बिर: चीनमा ट्रम्पको भव्य स्वागत गरिँदै ।

तर बाहिर देखिएको मुस्कान र सम्मानभित्र अनेक तनाव पनि लुकेका थिए । भ्रमणकै क्रममा चिनियाँ पत्रकारहरूको भीडले अमेरिकी टोलीका एक कर्मचारीलाई लडाएर कुल्चिएको घटना बाहिरियो । उनी सामान्य घाइते भए पनि अमेरिकी पक्षले त्यसप्रति कडा असन्तुष्टि जनाएको थियो ।

त्यस्तै, ‘टेम्पल अफ हेभेन’ भ्रमणका क्रममा चिनियाँ सुरक्षाकर्मीले अमेरिकी ‘सिक्रेट सर्भिस’ एजेन्टलाई प्रवेश रोक्दा करिब आधा घण्टा तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ । अमेरिकी पत्रकारहरूले आफूहरूलाई सीमित पहुँच दिइएको, पानीका बोतलसमेत जफत गरिएको र कार्यक्रम कभरेजमा कडा नियन्त्रण गरिएको गुनासो गरेका थिए ।

भ्रमणमा सहभागी उद्योगीहरूको टोलीले पनि सामाजिक सञ्जालमा ठूलो चर्चा पायो । इलोन मस्क, टिम कुक र जेन्सन ह्वाङ जस्ता अमेरिकी प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरू ट्रम्पसँगै चीन पुगेका थिए ।

विशेषगरी इलन मस्कले चिनियाँ प्रविधि कम्पनी सिओमीका प्रमुख लेइ जुनसँग सेल्फी खिच्दा बनाएका अनौठा अनुहारका हाउभाउ भाइरल बने । मस्कका ती भिडियो र तस्वीरहरू चीनको ‘वेइबो’देखि एक्ससम्म व्यापक रूपमा फैलिएका थिए । केहीले त्यसलाई ‘ट्रोलिङ’ भने भने केहीले ‘मेन क्यारेक्टर इनर्जी’ को सङ्ज्ञा दिए ।

तस्बिरमा इलोन मस्क र लेइ जुन ।

मस्कले आफ्नो ६ वर्षीय छोरालाई पनि भ्रमणमा साथ लगेका थिए । विशाल दरबार र औपचारिक कार्यक्रमबीच बाबुको हात समातेर हिँडिरहेको बालकका दृश्यहरूले चिनियाँ सामाजिक सञ्जालमा धेरैको ध्यान खिचे । कतिपयले यसलाई ‘मानवीय क्षण’ भने भने केहीले ‘राजकीय भ्रमणमा बच्चा किन ?’ भनेर प्रश्न पनि उठाए।

तस्बिरमा मस्क र उनका ६ वर्षीय छोरा ।

राजनीतिक रूपमा भने भ्रमणमा सबैभन्दा संवेदनशील विषय ताइवान बन्यो । राष्ट्रपति सी जिनपिङले ताइवानलाई अमेरिका-चीन सम्बन्धको ‘सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ भन्दै गलत ढङ्गले व्यवस्थापन गरिए ‘द्वन्द्व र टकराव’ सम्म पुग्न सक्ने चेतावनी दिएका थिए । यद्यपि दुवै नेताले सार्वजनिक रूपमा सम्बन्ध सुधारको भाषा बोले पनि ताइवान, इरान, व्यापार र प्रविधिसम्बन्धी विवाद अझै समाधान नभएको स्पष्ट देखिएको छ।

ट्रम्पले चीनले अमेरिकी कृषि उत्पादन खरिद गर्ने र बोइङ विमान किन्ने सहमति भएको दाबी गरे पनि सबै सम्झौताहरू स्पष्ट रूपमा पुष्टि भएका छैनन् । प्रविधि क्षेत्रमा एनभिडियाका H200 चिप चीनमा बिक्री हुने वा नहुने विषय अझै अन्योलमै रहेको बताइएको छ ।

समग्रमा ट्रम्पको चीन भ्रमण ठूलो कूटनीतिक उपलब्धिभन्दा पनि शक्ति प्रदर्शन, प्रतीकात्मक मित्रता, सामाजिक सञ्जालको भाइरल संस्कृति र पर्दा पछाडिको तनावले भरिएको भ्रमणका रूपमा स्मरणीय बनेको छ ।

सम्बन्धित खवर

न्यायपालिकामा द्वैध शासन मान्य छैन, आन्दोलन अदालत कम्पाउन्डतिर सर्न सक्छ

न्यायपालिकामा द्वैध शासन मान्य छैन, आन्दोलन अदालत कम्पाउन्डतिर सर्न सक्छ

नेपाल बार एसोसिएसनको प्रमुख कर्तव्य न्यायपालिकालाई शुद्ध, निष्पक्ष, सबैको लागि काम लाग्ने पालिका हो...

‘कम्युनिस्ट न्यायाधीश’, जो संसारभर चर्चित भए

‘कम्युनिस्ट न्यायाधीश’, जो संसारभर चर्चित भए

काठमाडौँ ।  सन् १९७३ को जुलाई मा जब भी. आर. कृष्ण अय्यरको नाम सर्वोच्च...

हेल्लो ढाँट सरकार ! सुकुमबासीलाई ‘जेल’ मा किन कोचेको ?

हेल्लो ढाँट सरकार ! सुकुमबासीलाई ‘जेल’ मा किन कोचेको ?

काठमाडौँ । source page कवि कृष्ण सेन इच्छुकले कारागारमा बस्दा जेल शीर्षकको एउटा कविता...

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

मेरो नाम सुभद्रा न्यौपाने हो । म विगत २५ वर्षदेखि मनोहरा बस्तीमा परिवारसहित बसिरहेकी...