काठमाडौँ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर आज सोमाबार पनि संसद् अवरोध भएको छ ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्र हितमा नभएको भन्दै विपक्षी दलका संसद्हरुले चर्को विरोध गरेका छन् ।
सोमबार दिउँसो एक बजेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक यही विवादका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।
संसद् स्थगित हुनुअधि राप्रका ज्ञानेन्द्र शाही, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल, नेपाली काँग्रेसका निश्कल राई र श्रम संस्कृति पार्टिका सांसद् आर्यन राईलाई सभामुख डोलप्रसाद अर्यालले समय दिएका थिए । प्रस्तुत छ प्रधानमन्त्रीकाे अभिव्यक्तीबारे सदनमा विपक्षी सांसद्हरुले दिएको प्रतिक्रिया :
प्रधानमन्त्रीको अभिव्यक्ति चिया पसलको गफ जस्तो होइन : ज्ञानेन्द्र शाही (राप्रपा)
सम्माननीय सभामुख महोदय, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ । सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ ।

प्रधानमन्त्रीजीले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन् । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ । तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन सम्माननीय सभामुख महोदय । अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ । यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने, सम्मानित संसद् समक्ष प्रस्तुत गर्न म अपिल गर्दछु ।
सम्माननीय सभामुख महोदय, यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ । प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङ्क हो । त्यसैले प्रधानमन्त्रीलाई तथ्य बिना संसद्मा बोलिएका शब्दहरू संसद्को रेकर्डबाट हटाउनका लागि म संसद् मार्फत सम्माननीय सभामुखज्यूलाई अपिल गर्न चाहन्छु । सम्माननीय सभामुखज्यू, यो सामान्य विषयवस्तु होइन । यो चिया पसलमा बोलेको कुरा होइन सम्माननीय सभामुखज्यू । यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले, सम्मानित संसद्मा राखेको विषयवस्तु, यहाँ कि त तथ्य र प्रमाण पेस गरिनुपर्छ, होइन भने संसद्को रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मिचेको कुरा, यदि प्रमाण छ भने पेस गरौँ, होइन भने संसद्को रेकर्डबाट हटाउनका लागि म अपिल गर्छु, सम्माननीय सभामुखज्यूलाई निवेदन पनि गर्छु । धन्यवाद, जय राष्ट्रवाद, जय नेपाल ।
प्रधानमन्त्रीको देशद्रोहीपूर्ण अभिव्यक्ति : ऐन महर (नेकपा एमाले)
सम्माननीय सभामुख महोदय, हिजो जेठ १७ गते अकस्मात् रुपमा छापामार शैलीमा सम्माननीय प्रधानमन्त्रीज्यूको यस सदनमा आगमन भयो । हामीलाई लाग्यो प्रधानमन्त्रीज्यू अब बिस्तारै संविधानको कार्यान्वयन गर्न थाल्नुभो, सदनप्रति उत्तरदायी हुन थाल्नुभो भन्ने हामीलाई लाग्यो, हामीलाई आंशिक खुसी पनि लाग्यो । प्रतिनिधिसभा नियमावली विपरीत भए पनि उहाँले जुन प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभो ठिक छ, जवाफ दिन थाल्नुभो, ठिक छ भन्ने लाग्यो ।

तर प्रधानमन्त्रीज्यूको जवाफ सुनिसकेपछि र जुन तरिकाको, जुन शैलीको प्रश्नोत्तर कार्यक्रम आयोजना गरियो त्यो सबै कुरा हेरिसकेपछि मलाई दुइटा आमाले एउटा बच्चाका लागि दाबी गरेको कथा स्मरण भयो । दुईजना आमाले एउटा बच्चाको लागि दाबी गर्नुभो। धेरै ठूलो झगडा भयो, धेरै ठूलो विवाद भयो । र केस अदालत गएछ सभामुख महोदय। अदालत गइसकेपछि पनि दुवै पक्षका आमाहरूले र उनीहरूका चाहिँ वकिलहरूले ठूलो दाबी गर्नुभो, ठूलो प्रमाण पेस गर्नुभो । न्यायाधीशलाई बडो अप्ठ्यारो भयो कि यो बच्चा कसको हो ? अप्ठ्यारो भयो। र न्यायाधीशले एउटा जुक्ति निकाल्नुभो । न्यायाधीशले के जुक्ति निकाल्नुभो भने बच्चालाई अगाडि ल्याऊ र तरबारले दुई टुक्रा पार र त्यो बच्चालाई दुईटै आमाको आधा–आधा गरेर जिम्मा लाइदेऊ भनिसकेपछि त्यही गर्ने तयारी भयो । र त्यही गर्ने तयारी भइसकेपछि जब बच्चालाई अगाडि राखेर काट्न लागियो तरबारले, अनि एकजना आमाले बच्चालाई नकाट्नुस्, रोक्नुस् भन्नुभो र बच्चा मेरो होइन त्यही आमा अर्कोलाई दिनुस् भनिसकेपछि न्यायाधीशलाई सजिलो भयो । यो बच्चा जसको हो, जसले चाहिँ त्यो नकाट्नुस् भन्यो । त्यही आमाको जिम्मा लायो ।
हिजो प्रधानमन्त्रीका चाहिँ ती अभिव्यक्तिहरू सुन्दा मलाई त्यस्तो लाग्यो। प्रधानमन्त्रीज्यूलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूलाई म स्मरण गराउन चाहन्छु, यो सदन, यो व्यवस्था, यो संविधान हाम्रा नेपाली चाहिँ सहिदहरूले, हाम्रा अग्रजहरूले, नेपाली जनताहरूले ठूलो बलिदानी, ठूलो लडाइँ, ठूलो संघर्ष ल्याएर ल्याएको चाहिँ नि यो व्यवस्था हो, यो संविधान हो, यो सदन हो। र यो देश हो । यो देशका लागि हाम्रा पुर्खाहरूले धेरै ठूलो रगत बगाएका छन्, धेरै ठूलो बलिदानी दिएका छन् । तर आज उहाँले हचुवा भरमा जसरी नेपालले पनि अरूको भूमि मिचेको छ भनेर जसरी चाहिँ नि हचुवा भरमा यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभो, यो असाध्यै गैरजिम्मेवारी, राष्ट्रघाती, देशद्रोहीपूर्ण अभिव्यक्ति छ । र त्यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर म यहाँहरूका बीचमा र यो सदनमार्फत, सम्माननीय सभामुखमार्फत यो सदनको ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय ।
सभामुख महोदय, म यहाँलाई भन्न चाहन्छु, हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ, असंलग्न परराष्ट्र नीति छ । हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ। र म भन्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो । सुस्ता हाम्रो भूमि हो । र नेपालले कोही, कसैको पनि एक इन्च भूमि मिचेको छैन । यो कुरा स्मरण होस् प्रधानमन्त्रीज्यूलाई । नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ राम्रोसँग तथ्य, तथ्यांकहरूको विश्लेषण गरे हुन्छ । अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। यो गरिमामय सदनबाट, प्रधानमन्त्रीको कुर्सीबाट, त्यसरी नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
एउटा गम्भीर कुरा छ मैले राख्नैपर्ने छ । म एउटा उदाहरण हिजो मात्रै भएको एउटा घटना बताउन चाहन्छु । सुस्तामा त्यहाँ चाहिँ तटबन्धन बनाइरहेको नेपाली भूमिमा भारतीय एसएसबीहरू आएर त्यहाँ चाहिँ काम रोकेका छन् र हस्तक्षेप भएको छ । प्रधानमन्त्रीको हिजोको अभिव्यक्तिको त्यो परिणाम हो । र आज सिंगो नेपालीहरू चाहिँ नि टाउको निहुराइरहेका छन्, शिर झुकाइरहेका छन् र विदेशीहरू खुसी भइरहेका छन् । हिजो भारतीय मिडियाहरूमा खुब ठूलो खुसियाली मनाउने काम भो । के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको हो? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहोल बनाउने र भारतको त्यो खालको चाहिँ नि चाकडी गरेको हाम्रा प्रधानमन्त्रीले ? यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुख महोदय ।
त्यसकारणले म भन्न चाहन्छु, म अनुरोध गर्न चाहन्छु कि यो संसदको गरिमा कायम राख्दै सभामुखज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु यसको गरिमा कायम गरिनुपर्छ, यसको मर्यादा कायम गरिनुपर्छ । यो कुनै फुटबल खेल्ने ठाउँ होइन । यो कुनै आफ्नो चाहिँ नि फेसन शो गर्ने ठाउँ होइन। यसको आफ्नो मर्यादा छ । यसको आफ्नो गरिमा छ । प्रधानमन्त्रीले धेरैपटक म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीज्यूलाई, सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्रीज्यू नेपाली पोशाकमा जानुहुन्छ, दौरा सुरुवाल लगाएर जानुहुन्छ । र जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ । के हो उहाँको यो सदनप्रतिको उहाँको दृष्टिकोण ? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरस्टिमेट गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ। यो गम्भीर कुरा छ ।
त्यसकारण छिटो भन्दा छिटो प्रधानमन्त्रीका ती चाहिँ नि अभिव्यक्तिहरू यो रेकर्डबाट हटाइनुपर्छ । संसदको रेकर्डबाट हटाइनुपर्दछ । म माग गर्न चाहन्छु । र प्रधानमन्त्रीले माफी माग्नुपर्छ। प्रधानमन्त्रीले ती शब्दहरू फिर्ता लिनुपर्छ। र अविलम्ब देशवासीका नाममा यो संसदमा आएर प्रधानमन्त्रीले माफी माग्नुपर्छ । म यो कुरा राख्न चाहन्छु । र प्रधानमन्त्रीले माफी नमागेसम्म हाम्रो चाहिँ यो सदनको कारबाही अगाडि नबढोस् भन्न चाहन्छु र हामी सदनको कारबाहीमा सहभागी नहुने, विरोध गर्ने कुरा सभामुख महोदयमार्फत म सदनमा जानकारी गराउन चाहन्छु । धन्यवाद। अभिवादन ।
भोली भारतले जमिन फिर्ता माग्यो भने कुन भूमी दिने ? : आर्यन राई (श्रम संस्कृति पार्टी)
सम्माननीय सभामुख महोदय, आज यस सम्मानित सदनमा नेपालको सार्वभौमसत्ता र राष्ट्रियता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रुपमा जोडिएका गम्भीर विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्नुपर्दा, प्रधानमन्त्री जस्तो उच्च र सम्मानित पदमा आसीन व्यक्तिको अभिव्यक्तिप्रति प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना भएको देखेर मलाई गहिरो दुःख र लज्जाबोध भइरहेको छ ।

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्र विषय होइन । यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो । त्यसैले यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सदैव स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूलतामा हुनुपर्दछ ।
सभामुख महोदय, मलाई हामीलाई श्रम संस्कृति पार्टीलाई जनताले चुनाव जितेर के गर्छस् भन्थे, पहिलो चोटी सदनमा गएर देश बचाउने काम गर्छौं, त्यसपछाडि मात्रै विकास र निकासको काम गर्छौं हामीले भनेका थियौं । सभामुख महोदय त्यसैले यस सम्मानित सदनमार्फत भन्न चाहन्छु, मलाई हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईंको चाहिँ हाम्रो प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न नै सोध्दिनथें सभामुख महोदय । मलाई आज आफैंलाई लज्जास्पद तपाईंको महसुस भइरहेको छ सम्माननीय सभामुख महोदय ।
त्यसै कारणले म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूले यो उहाँको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, यो चाहिँ इतिहासमा एउटा नजिर तपाईंको चाहिँ यस्तो स्थापित भयो सम्माननीय सभामुख महोदय, भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ, फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय ?
त्यसैले म भन्न चाहन्छु, जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनको रोस्टमबाट चाहिँ आएर राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ, यहीँ आएर माफी मागेर आफ्नो तपाईंको चाहिँ शब्द फिर्ता लिएर, यो राष्ट्रिय तपाईंको हामीले कसैको भूमि मिच्दैनौँ र कसैको भूमि कसैलाई भूमि मिच्न दिँदैनौँ सभामुख महोदय । त्यसै कारणले गर्दाखेरि यो कुनै पार्टी व्यक्ति विशेष होइन सभामुख महोदय। त्यसै कारणले सम्माननीय सभामुखमार्फत रुलिङ गरियोस्, प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर तपाईंको चाहिँ हटाउनुपर्छ। र जबसम्म त्यो तपाईंको चाहिँ कार्य यो सम्मानित सदनबाट हुँदैन, श्रम संस्कृति पार्टीले निरन्तर तपाईंको यो बैठक, सदन चल्न दिँदैन, अवरोध गर्छ भन्न चाहन्छु सभामुख महोदय । हस् धन्यवाद, जय देश, जय माटो ।
बहुमतले दिएको मूर्ख बल, र कूटनीतिक भाषाको अनभिज्ञताले राज्यले ठूलो क्षति बेहोर्नुपर्यो : युवराज दुलाल (नेकपा)
सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्छ र संसद्मा सांसदले सोधेका जनताका प्रश्नको उत्तर दिनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसद्मा आउनुभयो र इमर्जेन्सी प्रश्नोत्तरको परिस्थितिजन्य व्यवस्थापन सभामुख महोदयबाट भयो, त्यसलाई आकस्मिक प्रश्नोत्तरको रूपमा हामीले स्वीकार गर्यौँ र भाग लियौँ ।

सभामुख महोदय, नियमावलीमा व्यवस्था छ कि प्रश्नोत्तरको समय निर्धारण गरिन्छ र प्रश्नकर्ता र प्रधानमन्त्रीबीच व्यवस्थित प्रश्नोत्तर सञ्चालन गरिन्छ र प्रधानमन्त्रीको जवाफ जिम्मेवारपूर्ण हुन्छ। यसबाट हामी नयाँ भन्ने मित्रहरूलाई गम्भीर शिक्षा प्राप्त भएकै हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोसको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारीबोधको पद हो ।
सभामुख महोदय, बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्त्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठा हिजो राज्यले ठुलो क्षति बेहोर्नुप¥यो । प्रधानमन्त्रीको जवाफी अभिव्यक्तिमा एकातिर देशको मिचिएको भूमि प्राप्त गर्न चाहिने दृढ राष्ट्रिय इच्छाशक्ति, निडरता र कूटनीतिक परिपक्वता देखिएन भने अर्कोतर्फ सीमा क्षेत्रका नागरिकले खेतीपाती गरेको विषयसँग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिन्छ। अझ प्रमले इङ्गल्यान्ड सरकारसँग, अहिलेको युके, तत्कालीन ब्रिटिसको समेत प्रसङ्ग निकाल्नु आत्मसमर्पणवादको अर्को पराकाष्ठाको रूपमा देखिन्छ ।
सभामुख महोदय, अझै आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन? गम्भीर संशय पैदा भएको छ ।
सभामुख महोदय, हामी शुभकामना दिन चाहन्छौँ सत्तारूढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमाथि विन ओभर गर्दै आफ्नो भूमिसम्बन्धी अडान कायम राख्न सफलता मिलोस्। प्रधानमन्त्रीले संसद्मा हिजो नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानता त हो नै तर त्योभन्दा बढी गम्भीर राष्ट्रहितविपरीतको अभिव्यक्ति हो । एउटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दसगजाको विषयलाई लिएर क्रस बोर्डर अकुपेन्सीको कुरा हो भनेर झुटलाई तोडमोड गर्नु अर्को गल्ती हो ।
लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपालको करिब ६० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको हाम्रो राष्ट्रिय दाबी हो । भारतीय सेनाबाट भएको यो अतिक्रमणको तुलना दसगजामा वारिपारि खेतीपाती गरिएको कुरासँग तुलना गर्ने विषय नै होइन । न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ । न कुनै त्यस्तो तथ्याङ्क नै छ, अतः नेपालले भारतको भूमि मिचेको छैन ।
सभामुख महोदय, पुर्खाहरूले शिरको बलि चढाएर बचाएको हाम्रो देशको एक–एक इन्च अतिक्रमित भूमि फिर्तासम्बन्धी प्रधानमन्त्रीको जवाफ राष्ट्रघाती, आत्मसमर्पणवादी छ । देशका लागि आवश्यक पर्दा हामीले जीवनको बलि चढाउनुपर्छ भने प्रधानमन्त्रीले आफ्नो त्यो गलत भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोस्ट्रमबाटै गल्ती स्वीकार गर्दै फिर्ता लिनुपर्छ भन्ने हाम्रो दल नेपाल कम्युनिस्ट पार्टीको स्पष्ट धारणा रहेको छ । यो पूरा नहुँदासम्म सदनको कामकारबाही अगाडि नबढाउन सभामुखसमक्ष दलको तर्फबाट हार्दिक अनुरोध गर्दछु, धन्यवाद ।
आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ ? : निश्कल राई (नेपाली काँग्रेस)
सम्माननीय सभामुख महोदय, आज यो गरिमामय संसदमा उभिँदा मेरो शिर निहुरिएको महसुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोस्टममा उभिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन, करिब ३ करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।

सभामुख महोदय, रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो– “नेपालले पनि भारतको जग्गा मिचेको छ।“ यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्ता पक्षका माननीयज्यूहरूले बर्रर ताली पड्काउनुभएको छ । उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानि यहाँहरूलाई पनि हुनुपर्छ ।
सार्वभौम संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो ’नोट अफ डिसेन्ट’ छ । सँगै हाम्रो माग पनि छ– फेरि उहाँ यही सार्वभौमसम्पन्न संसदको रोस्टममा उभिनुपर्छ । नेपालले कहाँ–कहाँ भारतको जग्गा मिच्यो, एक–एक इन्चको हिसाब हामीलाई दिनुपर्छ सभामुख महोदय। हामीलाई हिसाब चाहिन्छ । यो राष्ट्रिय स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले ’हाम्रो जग्गा फिर्ता चाहिन्छ’ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने?
प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति ’क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित छ भनेर भनेको छ । जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ? परराष्ट्रमन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो ।
सभामुख महोदय, यसमा हाम्रो प्रष्ट कुरा छ– रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ । यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाणसहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछ । नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ ।
सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय ? के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ? यसको जवाफ हामीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टमबाट दिनुपर्छ । अनि मात्र सदनमा हामी सहकार्य गर्न सक्छौं। हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको धावा करेक्सन नभएसम्म हामी सभामुखज्यूमार्फत भन्न चाहन्छौं, हामी अगाडि समन्वय गर्न सक्दैनौं ।
त्यसैले सम्माननीय सभामुखमार्फत रुलिङ होस् । सभामुख महोदय, प्रधानमन्त्रीज्यूको अभिव्यक्ति इतिहासमै लज्जाबोध गराउने र अपरिपक्व हो । सत्ता पक्षका माननीयज्यूहरूसमक्ष पनि हाम्रो अनुरोध छ, यस्तो राष्ट्रिय हित विपरीत अभिव्यक्तिमा रफु लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नुहोला ।
मलाई लागेको थियो, राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा सदनमा अभिभावकको रूपमा सम्माननीय सभामुखज्यू आफैँ रुलिङ गर्नुहुन्छ भन्ने । तर विडम्बना, प्रश्नलाई पन्छाउँदै आउनुभएको तपाईंले पनि यो विषयमा मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, पदीय गरिमा र जिम्मेवारीमाथि पनि प्रश्नचिह्न उठेको छ सभामुख महोदय ।
आम नागरिकले हेरिरहेका छन्, दुई तिहाइ बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्रीले नागरिकको भावना, राष्ट्रको सार्वभौमसत्ता बोक्न सकिरहेको छ कि छैन? धन्यवाद, जय नेपाल ।

