जलविद्युत विकासमा अवरोधक कानून र नीति

२४ जेठ २०८३

जलविद्युत विकासमा अवरोधक कानून र नीति

जलविद्युत नेपालको समृद्धिका लागि एउटा महत्वपूर्ण अंग हो । नेपालमा जलस्रोत र निजी क्षेत्र नभएको भए आजको दिनमा पनि हामीले १८ घण्टा लोडसेडिङ ब्यहोर्नुपर्ने हुन्थ्यो । वि.सं. २०४९ मा जलविद्युत विकासमा निजी क्षेत्रको प्रवेश भयो । सुरुसुरुमा निजी क्षेत्रले साना–साना आयोजना बनाउलान् भनी आकलन गरिन्थ्यो । तर, समयक्रममा निजी क्षेत्रको विकास सँगसँगै नेपालमा १८ घण्टा लोडसेडिङ हुँदाको स्थितिमा मुलुकले जलविद्युत विकासमा निजी क्षेत्रलाई प्राथमिकता दियो । जलविद्युत नै यो देशको पूर्वाधारको मेरुदण्ड हो भन्ने कुरा भइसकेपछि निजी क्षेत्रमा यसमा आकर्षित भयो ।

अहिले त ४००/५०० मेगावाट उत्पादन क्षमताका आयोजनाहरू पनि नेपालको निजी क्षेत्रले बनाउन थालेका छन् । आजको दिनमा ११ हजार ६०० मेगावाटका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । त्यसमध्ये चार हजार मेगावाटका आयोजनाबाट त विद्युत उत्पादन नै सुरु भएको छ । ती आयोजनामा ८० प्रतिशतभन्दा बढी लगानी नेपाली जनताकै छ । यस हिसाबले जलविद्युत उत्पादनमा नेपाली जनताको कति ठूलो योगदान छ भन्ने पुष्टि हुन्छ ।

लगानी सुरक्षामा आवश्यक कदम

यतिखेर पाँच हजार मेगावाट उत्पादन क्षमता रहने आयोजनाहरू पीपीए भएर निर्माण चरणमा छ । दुई/तीन वर्ष भित्रमा यी आयोजनाबाट विद्युत उत्पादन भइसक्छ । अर्को दुई हजार मेगावाट उत्पादन क्षमता बराबरका आयोजना वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएर निर्माण चरणमा प्रवेश गर्दैछन् ।

जलविद्युत क्षेत्रको भविष्य निकै उज्ज्वल छ जस्तो देखिन्छ । त्यस हिसाबले नेपाली नागरिक र यहाँका लगानीकर्ताहरू यो क्षेत्रमा आकर्षित भएका छन् । अहिले झण्डै २० हजार मेगावाटभन्दा बढीका आयोजनाको लाइसेन्स लिएका छन् । १३ हजार मेगावाट उत्पादन क्षमता बराबरका आयोजना बनाउन पीपीए निम्ति आवेदन दिएका छन् ।

नेपालमा जलविद्युत विकासको क्रममा यसबीच अलिक निराशाजस्तो स्थिति पनि बन्यो । लाइसेन्स लिए पनि लामो समयसम्म पीपीए रोकिएको थियो । वि.सं. २०७५ देखि पीपीए बन्द नै भएको जस्तो स्थिति थियो । बीचमा १५ सय मेगावाटको पीपीए खुलेको थियो । शेरबहादुर देउवा पछिल्लो कार्यकालमा भारत जानुभयो । त्यतिखेर ४३५ मेगावाट बराबरको पीपीए खुला गरियो । धेरै आयोजनाबाट बिजुली खेर जान लागेको थियो, पीपीए भएपछि हामीलाई केही सान्त्वना भयो ।

निर्यातको महत्वाकांक्षी लक्ष्य, तर अलमल

पुष्पकमल दाहाल प्रधानमन्त्री भएर भारत जाँदा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने भनी सम्झौता भयो । बंगलादेशका लागि पनि भारतको बाटो भएर बिजुली बेच्ने सम्झौता भएपछि हामीले जलविद्युत विकासमा फराकिलो बहस गर्न थाल्यौँ । सरकारलाई विद्युत व्यापारको बजार खुलेको र नेपालभित्र खपत हुने बिजुलीको परिमाण पनि बतायौँ । हामीले १५ हजार मेगावाट नेपालमा खपत गरौँ र अर्को १५ हजार मेगावाट छिमेकी देशलाई बेचौँ भन्न थाल्यौँ । सरकारसँग यसबारे धेरैपटक छलफल गर्‍यौँ ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लियो । लक्ष्य पूरा गर्न त्यति सम्भव देखिँदैनथ्यो । हामीले सरकारलाई लक्ष्य पूरा गर्ने हो भने ऊर्जा विकासका लागि संकटकाल लगाउनुपर्छ भन्यौँ । किन कि जलविद्युत विकास गर्न आजको दिनमा १६ वटा भन्दा बढी मन्त्रालय धाउनुपर्छ । वन, जमिन र अन्य समस्या यथावत् छन् । संकटकालको माग यी समस्या समाधान गर्नकै लागि हो । सरकारी पक्षले संकटकाल शब्द चाहिँ नभन्न भन्नुभयो । हाम्रो तात्पर्य जलविद्युत विकास निम्ति हामीलाई अनुकूल वातावरण बनाइदिनुपर्छ भन्ने हो । कम्तिमा एकद्वारबाटै जलविद्युत विकासको काम होस् भन्ने हाम्रो माग हो । लक्ष्यअनुसार २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्न हामीसँग १० वर्षमात्रै समय छ । हामीले सरकारलाई समयावधि र लक्ष्यबीच तादाम्यता मिलाउन भन्यौँ । सरकारले पनि सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने, उत्पादित मध्ये १३ हजार ५०० मेगावाट बिजुली नेपालमा खपत गर्ने र १५ हजार मेगावाट बिजुली छिमेकी देशमा बिक्री गर्ने लक्ष्य लियो ।

त्यसपछिका दिनमा फेरि चीनतिर पनि बिजुली निर्यात गर्ने चर्चा चल्यो । सौर्य ऊर्जा उत्पादनका कुराहरू पनि छन् । यो हिसाब त उल्लेखित लक्ष्यमा जोडिएकै छैन । तथापि यस्तो लक्ष्य राख्नु नै सकारात्मक कुरा हो, नेपाली जनताहरू जलविद्युतमा लगानी गर्न साँच्चै नै उत्साहित भए । यहाँ त ऊर्जा क्षेत्रको कुरामात्र भएन, नेपालका सबै उद्योग पनि जलविद्युत विकाससँगै चलायमान हुन्छ भन्ने अपेक्षा गरियो । लक्ष्यअनुसार आयोजना विकास गर्न ६२ खर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । ६२ खर्बको हिसाबले १० वर्षमा वार्षिक झण्डै ६ खर्ब रुपैयाँ लगानी हो । जलविद्युत विकासमा आवश्यक भनिएको लगानी नेपालको वार्षिक विकास बजेटभन्दा पनि धेरै हुन आउँछ । त्यसरी खर्च गर्दा नेपालमा हाल सुस्त भएका सबै उद्योगहरू चलायमान हुन्छ, रोजगारी सृजना गर्छ र देशको अवस्था हामीले कल्पना गरे भन्दा फरक हुन्छ भन्ने चर्चा हुन थालेको थियो । नेपालका लगानीकर्ता मात्र होइन, संसारभरका लगानीकर्ताहरू, आपूर्तिकर्ता र डिजाइनरहरूले नेपालमा चासो व्यक्त गर्न थालेका थिए । यसबीच १६ देशका त राजदूतहरूले नै हामीसँग भेट गर्नुभयो । हामी पनि नेपालको जलविद्युत विकासमा आकर्षित छौँ, अब कसरी जाने भन्ने खालको कुरा भयो ।

सरकारले यो लक्ष्य राम्रो सोचका साथ ल्यायो । तर, त्यो पूरा गर्न के गर्नुपर्छ भन्नेमा सरकार चुकेजस्तो देखियो । हामी त उत्साहका साथ अघि बढ्यौँ । समस्याहरूबारे पनि सरकार जानकार छ । वन, जग्गादेखि प्रसारणलाइन बनाउनसम्म समस्या छ । प्रशासनिक ढिलासुस्ती त्यत्तिकै छ । अहिले १६ वटा मन्त्रालय धाएर कागजात व्यवस्थापन गर्नै पाँच वर्ष लाग्यो भने १० वर्षमा परियोजना कसरी तयार गर्ने ? ‘हामीले यी यी कुराहरू सुधार गर्नुपर्छ’ भनी सरकार नै बोलेको छ । यसो भएपछि ‘सरकारले अब त केही गर्छ’ भन्ने सोचका साथ हामी अगाडि बढेका थियौँ ।

बजेटबाटै बाधा

२८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अघिल्लो सरकारले अघि सार्‍यो, हामीले स्वागत गर्‍यौँ । त्यसैबीच बजेट आयो । बजेटमा टेक एण्ड पे का आधारमा जलविद्युत आयोजनाको पीपीए गरिने लेखियो । अर्को, उत्पादन र खपत समायोजन हुनेगरी पीपीए गर्ने लेखियो । अब हामी अलमलमा पर्‍यौँ । १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा बेच्ने भनिएको छ, कम्तिमा त्यसरी बेच्ने बिजुली त उत्पादन गर्नुपर्‍यो । १३ हजार ५०० मेगावाट बिजुली स्वदेशमा खपत गर्ने भनिएको छ । यस हिसाबले उत्पादन र खपतलाई आधार मान्ने हो भने २८ हजार ५०० मेगावाट बिजुली त उत्पादन गर्नैपर्‍यो । तर, टेक एण्ड पे को कुराले अब यो देशमा ऊर्जा विकास हुँदैन कि भन्ने भएको छ । ‘तपाईँहरू बिजुली उत्पादन गर्नुस्, हामीलाई चाहिएको बेलामा मात्रै खरिद गर्छौँ, नचाहिए किन्दैनौँ’ भनेपछि त लगानीकर्ताले लगानी नगर्ने भए । बैंकले पनि लगानी नगर्ने भयो ।

सरकार र विभिन्न दलहरूसँग छलफल गरियो । पछि सरकारले ‘टेक एण्ड पे शब्दलाई बजेटबाट हटाइएको छ’ भन्यो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै बजेट पारित गर्ने क्रममा यही भन्नुभयो । त्यसपछि सांसदहरूले बजेट पास गरेका थिए । तर, अहिलेसम्म अन्योलमा राखियो । टेक एण्ड पे को प्रावधान हटेको हो कि, होइन कि ? आज पनि टेक एण्ड पे नै छ कि टेक अर पे भयो ? टेक अर पे गर्न प्राधिकरण अघि बढ्नै खोज्दैन । उहाँहरूले ‘टेक एण्ड पे हटाउन हामीलाई कसैले लेखेर दिएको छैन’ भन्नुहुन्छ । उता यस्तो प्रावधान ल्याएको सरकार छैन, अर्को सरकार आइसकेको छ ।

दलहरूको नीति के ?

सरकारले वास्तवमा के गर्ने हो त ? अब चुनावको माहोल लागेको छ । चुनाव क्रममा नेपालका सबै पार्टीले देशको विकासका लागि ऊर्जा प्रमुख क्षेत्र हो भन्छन् होला । सबैले ऊर्जालाई नै देश विकास गर्ने आधार मान्ने हो भने विद्युत खरिद सम्झौताको सहज मोडलमा सहमत हुनुपर्‍यो नि ! सबै पार्टीहरू एक ठाउँमा आउनुपर्‍यो ।

अब हुने चुनावपछि सरकार परिवर्तन हुन्छ नै ! झन् धेरै दलहरू उदाउने देखिन्छ । तर विकासको नीति परिवर्तन हुनुभएन । स्थिर नीति भएमात्र हामी जलविद्युतमा लगानी गर्न सक्छौँ । बजेटमा त्यो खालको कुरा आयो, हाल गठित सरकारका अर्थमन्त्रीले यसबीच सुधारका थुप्रै घोषणा गर्नुभयो । लागु गर्ने भनिएको छ । हामीले वि.सं. २०४९ को ऐनअनुसार जलविद्युत आयोजनाको लाइसेन्स लिएका हौँ । ऐनमा प्रष्टसँग जलविद्युत आयोजनाको सञ्चालन स्वामित्व ५० वर्षसम्म विकासकर्तालाई हुने भनी लेखिएको छ । अब अहिले लाइसेन्सको म्याद ३०/३५ वर्षमात्रै हुने भनिएको छ ।

टेक एण्ड पे र टेक र पे को कुरामा हामीले सरकारलाई दुई/तीनवटा कुरा भनेका छौँ । सरकारले उत्पादित बिजुली किनिदिन्छु भनेकाले हामीले जलविद्युतमा खर्बौँ रुपैयाँ लगानी गर्‍यौँ, आजको दिनसम्म १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । पीपीए नभएका आयोजनामा नै झण्डै ६ खर्ब रुपैयाँ लगानी भएको छ । आजको दिनमा पीपीए नगरिदिने हो भने हाम्रो पाँच/सात खर्ब रुपैयाँ डुब्छ ।

जनताको लगानी डुबाउन पाइँदैन

सरकारले उत्पादित बिजुली नकिनिदिने हो भने खर्च भएको रकम फिर्ता दिएर सबै परियोजना सरकारले लिनुपर्‍यो । त्यसपछि बनाउन मन लागे सरकारले नै बनाए भैगयो । मन नलागे विदेशीलाई दिए पनि हुन्छ । नबनाए सरकारकै कुरा भयो । तर, जनतालाई डुबाउन त पाइँदैन । नत्र, आयोजना विकास निम्ति बाटो खोलिदिनुपर्‍यो । अहिले विद्युत प्राधिकरण नै उत्पादित बिजुलीको एकल खरिदकर्ता हो । उसले नकिन्ने भन्यो भने यति धेरै लाइसेन्स लिइसकेका लगानीकर्ता कहाँ जाने त ? कि त विकल्प दिनुपर्‍यो । त्यसकारण निजी क्षेत्रलाई पनि विद्युत व्यापारका लागि मार्गप्रशस्त गरिदिनुपर्छ । त्यसपछि सरकारले ‘टेक एण्ड पे’ को कुरा गर्न मिल्छ । नत्र त किन्ने निकाय एउटै हुने, तर उसैले नकिनिदिए हामीसँग कुनै विकल्प बाँकी रहँदैन ।

सरकारले ‘टेक एण्ड पे’ को नीतिमा अलमल गर्ने हो भने स्थिति भयावह हुन्छ । थुप्रै लगानीकर्ताले जीवनदेखि नै हार खानुपर्ने स्थिति निम्तिन्छ । धेरै लगानी भइसकेको छ । त्यसकारण सरकारले यो स्थितिलाई विशेष रूपले हेर्नुपर्छ । हामीले निरन्तर यही भनिरहेका छौँ । हामीले यतिधेरै लगानी गरिरहेका छौँ ।

कानून विपरीतका अनेक माग

लगानी गर्दागर्दै कानूनमै नभएका अनेक माग राख्न थालिएको छ । निःशुल्क शेयरदेखि ‘खोला प्रयोग गरेबापत बैंक ग्यारेन्टीसहित यति र उति रकम चाहियो, नत्र आयोजना बनाउनै दिँदैनौँ’ भनी अवरोध गर्न थालिएको छ । यस्तो अवस्थामा कम्तिमा राज्य छ भन्ने ग्यारेन्टी त गर्नुपर्‍यो नि ! जेन–जी विद्रोह भयो, निजी क्षेत्रमा पनि आक्रमण भयो, त्यो विद्रोहको क्रममा भएको फरक कुरा हो । तर, आज पनि त्यही कुरा भइरहँदा एक खालको नीति त बनाइदिनुपर्‍यो नि ! निजी क्षेत्रलाई कसरी जोगाउने भनी सुरक्षा नीति आउनुपर्‍यो । हामीले सरकारलाई यो कुरा बारम्बार भन्न खोजिरहेका छौँ ।

नीति बनाउने कुरा गर्दा जलविद्युत आयोजनाले शेयर (आइपीओ) जारी गर्न पेश गरेको फाइल नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अल्झाइएको छ, त्यो पनि ३० महिनादेखि । आइपीओ जारी हुने कि नहुने त सरकारले भनिदिनुपर्‍यो नि ! दर्ता गरेको तीन वर्षपछि मात्रै जारी हुने भनिदिए त्यसैअनुसार योजना बनाउँथ्यौँ । वा, यस्ता खालका आयोजनाहरू आइपीओमा जान पाइँदैन भनिदिनुपर्‍यो । एकातिर सरकारले अल्झाउने, अर्कातिर कतै निःशुल्क शेयर त कतै पैसामा माग्न थालिएको छ । दुईवटै तरिकाले दिन सकिँदैन । पैसा लिएर पनि दिन सकिँदैन, किन कि त्यसरी दिन थाल्दा हजारौँ मानिस पैसा बोकेर सेयर किन्न आउँछन् । आइपीओ नै जारी भएको छैन भने त्यस्तो समूहलाई सेयर कसरी दिने ?

स्थिर कानून चाहियो

हामीले त लगानी व्यवस्थापन गर्न यो सबैभन्दा उपयुक्त समय हो भनेकै छौँ । ऊर्जामन्त्रीदेखि प्रधानमन्त्रीज्यूसम्मलाई यही कुरा भनेका छौँ । त्यसकारण स्थिर कानून बनाइदिनुपर्‍यो । लगानीमैत्री कानून बनाइदिनुपर्‍यो । जनताको भनिएको अहिलेको सरकार यही मर्मसाथ बनेको हो भने जनताको लगानी त सुरक्षित गरिदिनुपर्‍यो नि ! न सरकारले सुन्छ, न सुरक्षाको प्रत्याभूति हुन्छ । पाँच/सातवटा आयोजना बन्द भइसकेको छ । अब के गर्ने ? स्थिर सुरक्षा नीति बनाउनुपर्‍यो नि ! कानूनमार्फत नै सुरक्षा प्रत्याभूति दिनुपर्‍यो ।

जलविद्युत विकासमा समस्या थुप्रै छन् । यी समाधान गर्न अबको १०/२० वर्षपछि हामी कहाँ पुग्ने भन्ने तय गरी स्थिर कानून बनाउनुपर्छ । भारतमा बिजुली बेच्ने त भनेका छौँ, तर निजी क्षेत्रले अहिलेसम्म प्रसारणलाइन बनाउन पाएको छैन । निजी क्षेत्रलाई यसमा कसरी संलग्न गराउने भनी नीति बनाउनुपर्छ । नेपालको सम्भावित विद्युत बजार मानिएको भारतले आणविक ऊर्जाका ठूला परियोजना बढाउँदैछ । अडानी समूहले हालै उत्तरप्रदेशमा १८ सय मेगावाटको आणविक ऊर्जा उत्पादन केन्द्र बनाउन लागेको खबर सार्वजनिक भएको छ । हामीले यहाँ उत्पादित बिजुली त्यहीँ बेच्ने सपना देखेका छौँ । तर, सम्भावित बजारले वैकल्पिक ऊर्जाको प्रबन्ध गर्न थालिसक्यो । ठूलो परिमाणमा त्यस्तो ऊर्जा त्यही उत्पादन हुन थाल्यो भने हामीकहाँ उत्पादन हुने बिजुली कता पठाउने त ?

हामीसँग जे छ – नीतिगत सुधार गरेर उपयोगमातर्फ लाग्नुपर्‍यो । समयमै गर्न सकिएन भने ढिलो हुनेछ । भारतले १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने भनेको छ । हामीले यहाँ उत्पादन गर्न सकेनौँ भने उसले ‘मैले त किन्छु भनेकै थिएँ, तिमीहरूले उत्पादन गर्न सकेनौ’ भनिदिन्छ । लोडसेडिङ हटाउन अहिले पनि हामीले वर्षमा पाँच/सात महिनासम्म भारतबाट बिजुली आयात गर्नुपर्ने स्थिति छ । कम्तिमा आफूलाई बाह्रै महिना आवश्यक पर्ने बिजुली त हामी नै उत्पादन गरौँ न ! आत्मनिर्भर होऔँ । संसारमा ठूलो परिमाणमा बिजुली खपत हुने प्रकृतिका उद्योगहरू थुप्रै छन् । त्यस्ता उद्योगहरूलाई हामी बिजुली दिन सक्छौँ भनी कानून र नीति बनाऔँ । त्यस्ता उद्योगलाई यहाँ आउन आह्वान गरौँ । नेपालमै बढी भन्दा बढी बिजुली खपत गरौँ । बढी भएको बिजुली बेचौँ । सरकारले बेच्न सक्दैन भने निजी क्षेत्रलाई मार्गप्रशस्त गरौँ । निजी क्षेत्रले उत्पादन र बिक्री दुबै गर्छ । यसतर्फ सरकारले चाँडोभन्दा चाँडो नीतिगत निर्णय गर्नुपर्छ । क्याबिनेटबाट निर्णय गरेर अघि बढाइदिइहालेको खण्डमा जलविद्युत क्षेत्रको विकास हामीले सोचेभन्दा पनि बढी हुन सक्छ भन्ने मलाई लाग्छ ।

ऐनका आधारमा लाइसेन्स म्याद दिएर कार्यविधिको तगारो

विद्युत ऐन, २०४९ को दफा ५ मा अनुमतिपत्र सम्बन्धी व्यवस्था उल्लेख छ । उक्त दफाको उपदफा २ मा लाइसेन्सको म्याद ५० वर्ष हुने भनिएको छ । अब अहिले कार्यविधि परिवर्तन गरी ३५ वर्षमा झार्न खोजिएको छ । हामीले कार्यविधिभन्दा ऐन ठूलो हो भनेका छौँ । ऐनमै विद्युत व्यापारका कुरा छ, तर कार्यविधिमा छैन । दिन चाहे सक्ने कुराहरू छन् ।

वातावरणका मामिलामा धेरै समस्याहरू छन् । ईआइए/आइईई ऊर्जा मन्त्रालयबाटै गरिदिने व्यवस्था मिलाइदिनुपर्‍यो भनिरहेका छौँ । रूखकटानमा त्यस्तै समस्या छ । हामी आइईई गर्छौँ, मन्त्रालयबाट स्वीकृत हुन्छ । त्यसैको आधारमा रुख काट्न दिए भइहाल्यो नि ! फेरि रुख गणना गरेर क्याबिनेटमा किन पुग्नुपर्ने ? हामीले एउटा आयोजना बनाउँदै गर्दा, ईआइए/आइईई पास गर्दै गर्दा कति जग्गा लिने भन्ने प्रष्ट लेखिएको हुन्छ । त्यसैलाई आधार मानेर त्यति जग्गा दिने व्यवस्था गरिदिनुपर्‍यो ।

अहिले प्राधिकरणसँग पनि त्यस्तै समस्या छ । हामी पीपीए गर्छौँ, बैंकले लगानी गर्छ । लगानी गरेपछि बैंकले सम्बन्धित आयोजनाबाट बिजुली उत्पादन भएपछि प्राधिकरणले किनिदिन्छ भन्ने सोच्छ । तर, कतिपय आयोजनाहरू कन्टिजेन्सीमा चलिरहेका छन्, बैंकलाई साँवाब्याज तिर्न सकिरहेका छैनन् । राज्यले बिजुली किन्ने ग्यारेन्टी त लिनुपर्‍यो नि ! कि विद्युत विकासको कुनै गर्नु भएन ।

ट्रान्समिसन लाइनमा ढिलाइ अपराध हो

प्राधिकरणले समयमै बनाइदिनुपर्ने ट्रान्समिसन लाइन बनाइदिएको छैन, त्यो हाम्रो गल्ती होइन । उसले बनाउनुपर्ने कुरा नबनाएर हाम्रो बिजुली नकिन्नु भनेको त अपराध हो नि ! सक्दैन भने निजी क्षेत्रलाई दिनुपर्‍यो, हामी बनाउँछौँ । निजी क्षेत्रलाई दिनेगरी नीति बनाउनुपर्छ ।

एकातिर ट्रान्समिसन लाइन समयमै नबनाइदिएर बिजुली किनिराखेको छैन, अर्कातिर थुप्रै कारणले गर्दा हामीले समयमा बिजुली उत्पादन गर्न सकेका छैनौँ । दुईवटा आयोजना त बाढीले लग्यो । आयोजना बनाउन भारतबाट बिस्फोटक ल्याउनुपर्छ । कहिले दिने, कहिले नदिने खालको छ । यसरी ढिलाइ हुँदा व्यापारिक विद्युत उत्पादन मिति (आरसीओडी) थपिदिन भन्छौँ । हामीले दुई वर्ष थपिदिन भनेकै तीन वर्ष भइसकेको छ । अस्ति मन्त्रीज्यूलाई पनि ‘वि.सं. २०७७ मा ईआइए पास गर्‍यो, आजको दिनमा रुख काट्न पाएको छैन भने कसरी आयोजना बन्छ ?’ भनेँ ।

यस्ता नीतिगत अवरोध छन् । यी अवरोध हटाउन एउटा/एउटा परियोजना हेरेर हुँदैन, समग्र नीतिगत निर्णय गर्नुपर्छ । हाम्रो बेसलाइन सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने हो । नीतिगत सहजीकरण नभएसम्म सम्भव छैन । त्यसैले, ऊर्जा विकासका लागि संकटकाल लगाउने हो भने यस्ता खालका संकुचित कानून केही समयका लागि निष्क्रिय हुन सक्छ । काम गर्न सहज हुन्छ ।

आयोजना विकासमा वातावरणीय न्याय

आयोजना विकास गर्दैगर्दा हाम्रो देशमा हराभरा र स्वच्छता कायमै रहोस् भन्ने हामी चाहन्छौँ । जलवायु परिवर्तनका कारण खोलानालाबाट विद्युत उत्पादन गर्दा नचाहिने समयमा आवश्यकताभन्दा बढी र चाहिने समयमा कम पानी आउन थालेको छ । बर्खामा पानी नपर्ने र हिउँदमा बाढीले आयोजना नै बगाउने समस्या बढ्दैछ । विद्युत प्राधिकरणले १०० वर्षदेखि अध्ययन गरेका खोलाहरूमा भनेजति पानी आएको छैन ।

त्यसैले हामीले सरकारलाई कम्तिमा एक हप्ताअघि विद्युत उत्पादन क्षमता घटाउने/बढाउनेबारे घोषणा गर्न दिन भनेका हौँ । वातावरणीय हिसाबले जलविद्युत आयोजनाले नदीमा १० प्रतिशत पानी छाड्नैपर्छ । ‘आज पानी आएन, त्यसैले म आठ प्रतिशत पानीमात्रै छाड्छु, बाँकी पानी पथान्तर गरी बिजुली उत्पादन गर्छु’ भन्न पाइँदैन । हामीले तोकिएको पानी नदीमा छाड्नैपर्छ । आयोजना विकास क्रममा एउटा रुख काट्दा १० वटा रोप्नुपर्छ भनिएको छ । ईआइए र आइईईमा लेखिएका कुरा आयोजना विकास क्रममा कार्यान्वयन गर्नैपर्छ ।

वातावरणसँग सम्बन्धित कुराहरूमा छुटकारा पाइँदैन, पाउनु पनि हुँदैन । छोटो समयमा पैसा आइहाल्छ भनेर त्यतातिर लाग्नुहुँदैन । हामीले त्यसो गरेका छैनौँ । एक हजारवटा आयोजनामध्ये एक/दुईवटाले त्यसो गरेका छन् भने त्यो फरक कुरा हो । उनीहरूलाई कारबाही गर्नुपर्छ ।

यस मामिलामा सरकारसँग हाम्रो माग के हो भने बिजुली उत्पादन क्षमता घटाउँदा जरिवाना लगाउनु भएन । ‘यो महिनामा यति बिजुलीमात्रै दिन सक्छु’ भन्ने घोषणा कम्तिमा एक साताअघि नै गर्न दिनुपर्छ । भनेजति बिजुली दिन सकेनौँ भने हामीलाई जरिवाना लगाइन्छ । सुख्खाले गर्दा पानी नै परेन भने त कसरी दिने ? ३० वर्षपछि खोलाको बहाव यस्तो हुनेछ भनी अहिले नै ग्यारेन्टी गर्न सकिँदैन । उत्पादन क्षमता बढाउँदा/घटाउँदा अग्रिम घोषणा गर्न दिनुपर्छ । खोला नै सुख्खा बनाएर बिजुली उत्पादन गरी बेच्न पाउनुपर्छ भन्ने कुरा त जायज हुँदै होइन ।

(स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कार्कीले जसनेपालसँग गरेको कुराकानीमा आधारित ।)

भिडियाेमा पनि हेर्नुहाेस्: 

सम्बन्धित खवर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...