बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

जस नेपाल

२८ जेठ २०८३

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

बुटवल । पसलको विमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उदेश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा गते जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिन आएको छ । उक्त घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुल्चोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा एक करोड ४६ लाख ९४ हजार, ७०० बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक सोही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १ः०० बजेको समयमा आफ्नै पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने नविन विकको सहयोगमा योजनाबद्ध रुपमा चोरीको नाटक गरेको देखिन आएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।

घटनाका सम्बन्धमा नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको विशेष अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले विभिन्न आयामबाट अनुसन्धान गर्दा सञ्चालक र कामदारको संलग्नता देखिन आएकाले दुवैजनालाई पक्राउ गरि अपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले विभिन्न स्थानको सिसीटिभी फुटेज सङ्कलन गरी अनुसन्धान गर्दा निज पसल सञ्चालक विक रातिको समयमा पसलमा प्रवेश गरेर करिब दुई घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ । यस्तै पसल बाट बाहिरएपश्चात् तिनाउ पुल पार गरेर बुटवल–२ को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानमा राखिएका सिसी टिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए ।

प्रहरीले निज विकको घरमा छापा मारेर बाला दुई थान, लकेटसहितको सिक्री एक थान, सिक्री एक थान, सुनको कानमा लगाउने कानपासा चार थान, झुम्का एक जोडी, कानको बाली एक जोडी, सुनसहितको सेतो र हरियो माला दुई थान, सुनको औँठी तीन थान, सुनको कानको टप एक जोडी, स्टोन फुली, चाँदीको लोटा एक थान, चाँदीको बिच्छु छ थान तथा चाँदीको औँठी एक थान बरामद गरेको जनाएको छ ।

यस्तै पत्रकार सम्मेलनमा जेठ १९ गते राति बुटवल उपमहानगरपालिका–५ विकाशपथस्थित देव सुनचाँदी पसलको सटरमा लगाएको ताला काट्दै गरेको अवस्थामा प्रहरीले गस्तीको बेला फेला पारि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगपालिका– ८ सुख्खानगरस्थित राजेशकुमार गुप्ताको घरमा नगद र सुनचाँदीका गरगहना चोरी भएको घटनाको अनुसन्धानमा कपिलवस्तु नगरपालिका–२ बस्ने शिवओम थारुको संलग्नता देखिन आएकाले उनलाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खवर

नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

एजेन्सी । क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर क्यानडामा कार्यरत एक पूर्व पाइलटले करिब...

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका छन् ।...

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

काठमाडौँ । नेपालमा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेका बेला साइबर...

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ...