ई. जीन क्यारोल मुद्दा : ट्रम्पको अन्तिम कानूनी प्रयास अस्वीकृत

जस नेपाल

१६ असार २०८३

ई. जीन क्यारोल मुद्दा : ट्रम्पको अन्तिम कानूनी प्रयास अस्वीकृत

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको पछिल्ला वर्षकै सबैभन्दा चर्चित नागरिक मुद्दामध्ये एक अन्ततः कानूनी निष्कर्षमा पुगेको छ । अमेरिकी सर्वोच्च अदालतले लेखक ई. जीन क्यारोलसँग सम्बन्धित मुद्दामा ट्रम्पले दायर गरेको अन्तिम अपिल सुनुवाइ गर्न अस्वीकार गरिदिएको हो ।

अदालतको यो निर्णयसँगै ट्रम्पलाई यौन दुर्व्यवहार तथा त्यसपछिको सार्वजनिक अभिव्यक्तिमार्फत्‌ मानहानि गरेको ठहर गर्ने जुरीको फैसला कायम रहने भएको छ । यससँगै क्यारोलको पक्षमा प्रदान गरिएको करिब ५० लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति रकम पनि यथावत् रहने भएको छ ।

वर्षौँदेखि अदालतका विभिन्न तह हुँदै अघि बढिरहेको यो कानूनी विवाद औपचारिक रूपमा अन्त्यतर्फ पुगेको हो ।

तीन दशकपछि अदालतसम्म पुगेको एउटा आरोप

यस मुद्दाको जरो सन् १९९० को दशकको मध्यतिर न्यूयोर्कको म्यानह्याटनस्थित चर्चित डिपार्टमेन्ट स्टोर ‘बर्गडोर्फ गुडम्यान’सम्म पुग्छ ।

क्यारोलका अनुसार; सुरुमा सामान्य भेटजस्तो देखिएको घटनाक्रम, जहाँ ट्रम्पले उपहार छनोट गर्न सहयोग मागेका थिए, पछि स्टोरको लन्जरी विभागस्थित ड्रेसिङ रुमभित्र अप्रत्याशित र गम्भीर मोडमा पुगेको थियो ।

उनले ट्रम्पले सन् १९९६ मा आफूलाई जबर्जस्ती यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । घटनालगत्तै उनले आफूनिकट दुई साथीलाई यसबारे जानकारी दिएको दाबी गरे पनि सार्वजनिक रूपमा भने दुई दशकभन्दा बढी समय मौन रहेकी थिइन् ।

सन् २०१९ मा क्यारोलको संस्मरणको अंश सार्वजनिक भएपछि यो आरोप पहिलोपटक राष्ट्रिय बहसको केन्द्रमा पुग्यो । त्यससँगै ट्रम्पविरुद्धको कानूनी सङ्घर्ष सार्वजनिक रूपमा अघि बढ्न थाल्यो ।

ट्रम्पले भने सुरुदेखि नै आरोप अस्वीकार गर्दै त्यसलाई ‘झूटो’ र ‘राजनीतिक उद्देश्यले प्रेरित’ दाबी गर्दै आएका थिए । पछि यिनै सार्वजनिक अभिव्यक्तिहरू क्यारोलले दायर गरेको मानहानिसम्बन्धी दाबीको मुख्य आधार बने ।

दुई मुद्दा, एउटै कानूनी ढोका

यो विवाद दुई फरक, तर आपसमा जोडिएका कानूनी चरणमा अघि बढ्यो ।

सुरुमा सन् २०१९ मा क्यारोलले ट्रम्पविरुद्ध मानहानिसम्बन्धी मुद्दामात्रै दायर गरेकी थिइन् । तर, सन् २०२२ मा न्यूयोर्कले लागू गरेको ‘एडल्ट सर्भाइभर्स एक्ट’ ले यो कानूनी लडाइँको दिशा नै परिवर्तन गरिदियो ।

उक्त कानुनले यौन दुर्व्यवहारका पीडितलाई समयसीमा (statute of limitations) समाप्त भइसकेको भए पनि एक वर्षभित्र नागरिक मुद्दा दायर गर्न विशेष कानूनी अवसर प्रदान गरेको थियो ।

यही प्रावधान उपयोग गर्दै क्यारोलले कथित यौन दुर्व्यवहार र निरन्तर मानहानि; दुवै दाबी समेटेर नयाँ मुद्दा दायर गरिन् । यसले अन्यथा कानुनी रूपमा बन्द भइसकेको विवादलाई पुनः अदालतसम्म पुर्‍याउने बाटो खोलिदियो ।

सुनुवाइमा ‘प्याटर्न एभिडेन्स’ केन्द्रमा

न्यूयोर्कस्थित सङ्घीय अदालतमा चलेको सुनुवाइ नौ दिनेसम्म लम्बियो र यसले राष्ट्रिय ध्यान तान्यो ।

ट्रम्प पक्षले मुख्य रूपमा घटनाको तथ्यगत पक्षमा प्रतिवाद गर्नुभन्दा पनि सुनुवाइ प्रक्रियामै प्रश्न उठायो । उनीहरूको दाबी थियो — अदालतले अत्यधिक पूर्वाग्रह सिर्जना गर्ने खालका प्रमाणहरू स्वीकार गरेर सुनुवाइलाई प्रभावित बनायो ।

यस क्रममा विशेष विवादका विषय बने :

  • ट्रम्पमाथि विगतमा यौन दुर्व्यवहार गरेको आरोप लगाउने अन्य दुई महिलाको साक्ष्य,
  • तथा सन् २००५ को चर्चित ‘Access Hollywood’ रेकर्डिङ, जसमा ट्रम्पले महिलामाथि उनीहरूको सहमतिबिना शारीरिक रूपमा अघि बढ्ने विषयमा टिप्पणी गरेका थिए ।

ट्रम्प पक्षले यस्तो प्रमाणले मुद्दालाई विशिष्ट घटनाभन्दा बाहिर लगेर उनको व्यक्तित्वमाथिको जनमत परीक्षणमा परिणत गरेको तर्क गर्दै नयाँ सुनुवाइ माग गरेको थियो ।

जुरीको निर्णय

लामो विचार विमर्शपछि जुरीले सर्वसम्मत रूपमा आफ्नो निर्णय सुनायो ।

निर्णयअनुसार ट्रम्पलाई यौन दुर्व्यवहारका लागि जिम्मेवार ठहर गरियो, तर न्यूयोर्क कानूनको सीमित कानूनी परिभाषाअनुसार उनलाई बलात्कार गरेको भने ठहर भएन ।

त्यसैगरी, सार्वजनिक रूपमा आरोप अस्वीकार गर्ने क्रममा क्यारोलको मानहानि भएको पनि जुरीले निष्कर्ष निकाल्यो ।

अदालतले क्यारोललाई क्षतिपूर्ति तथा दण्डात्मक दुवै शीर्षकमा करिब ५० लाख अमेरिकी डलर प्रदान गर्ने आदेश दिएको थियो ।

अपिलदेखि सर्वोच्च अदालतसम्म

ट्रम्पले माथिल्ला अदालतहरूले सुनुवाइ प्रक्रियामा त्रुटि भएको स्वीकार गर्ने अपेक्षासहित अपिल गरेका थिए । तर सङ्घीय अपिल अदालतले सर्वसम्मत निर्णयमार्फत तल्लो अदालतको फैसला सदर गरिदियो ।

अपिल अदालतले केही प्रमाण स्वीकार गर्ने निर्णयमाथि बहस हुन सक्ने भए पनि त्यसले अन्तिम नतिजामा सार्थक असर पारेको वा ट्रम्पको निष्पक्ष सुनुवाइको अधिकार हनन भएको प्रमाणित नभएको निष्कर्ष निकाल्यो ।

यसपछि ट्रम्पले अमेरिकी सर्वोच्च अदालतमा अन्तिम कानुनी ढोका ढकढक्याए । तर सोमबार सर्वोच्च अदालतले मुद्दा सुनुवाइका लागि स्वीकार गर्न अस्वीकार गर्‍यो । अमेरिकी न्याय प्रणालीमा प्रायः हुने अभ्यासअनुसार अदालतले यसबारे कुनै कारण भने खुलाएन ।

किन महत्वपूर्ण छ यो फैसला ?

यो मुद्दा केवल ट्रम्प र क्यारोलबीचको व्यक्तिगत विवादमा सीमित नभई अमेरिकी नागरिक न्याय प्रणालीका लागि पनि महत्त्वपूर्ण दृष्टान्त बनेको छ ।

यसले यौन दुर्व्यवहारसम्बन्धी नागरिक मुद्दामा अदालतले ‘व्यवहारको ढाँचा’ देखाउने प्रमाण ‘pattern evidence’  स्वीकार गर्न पाउने अधिकारलाई थप स्पष्ट र सुदृढ बनाएको रूपमा विश्लेषण गरिएको छ ।

त्यसैगरी, न्यूयोर्कको ‘एडल्ट सर्भाइभर्स एक्ट’ ले वर्षौँदेखि कानूनी रूपमा अघि बढ्न नसकेका दाबीहरूलाई पुनः सक्रिय बनाउने प्रभावकारी कानूनी उपकरणका रूपमा काम गर्न सक्छ भन्ने सङ्केत पनि यसले दिएको छ ।

राजनीतिक दृष्टिले यो फैसलालाई एउटा दुर्लभ उदाहरणका रूपमा पनि हेरिएको छ, जहाँ एक पूर्व अमेरिकी राष्ट्रपति सबै कानूनी विकल्प प्रयोग गरिसकेपछि पनि नागरिक अदालतबाट जिम्मेवार ठहरिएका छन् ।

ट्रम्पले भने यस सम्पूर्ण प्रक्रियालाई अझै पनि राजनीतिक उद्देश्यले सञ्चालित विच हन्ट अर्थात् योजनाबद्ध राजनीतिक आक्रमणको रूपमा चित्रण गर्दै आएका छन् । उता क्यारोल पक्षले सर्वोच्च अदालतको निर्णयलाई अन्तिम अध्यायका रूपमा स्वागत गर्दै जुरीको फैसलालाई अब अपरिवर्तनीय सत्यका रूपमा स्थापित भएको प्रतिक्रिया दिएको छ ।

सम्बन्धित खवर

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रयोजनमा हाल न्यायिक हिरासतमा रहेका पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)...

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कबाट नसिहत र चेतावनी पाउने बैङ्क तथा वित्तीय...