बेलायतलाई विश्वका सबैभन्दा पारदर्शी र कानुनी शासन भएका लोकतान्त्रिक मुलुकहरूमध्ये एक मानिन्छ । यहाँ प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकै भए पनि कानूनभन्दा माथि कोही पनि हुँदैनन् । यदि कसैले सार्वजनिक वा पार्टीको रकम दुरुपयोग गरेको प्रमाणित भएमा उसले अनुसन्धान, अभियोजन र जेल सजायसम्म भोग्नुपर्छ । यसैको एउटा ज्वलन्त उदाहरण हो, पिटर मुरेल (Peter Murrell) काण्ड, जसले स्कटल्याण्डको राजनीति मात्र होइन, पूरै बेलायतकै राजनीतिक प्रणालीलाई नै हल्लाइदियो ।
पिटर मुरेल करिब २४ वर्षसम्म स्कटिश नेशनल पार्टी (SNP) को प्रमुख कार्यकारी थिए। सन् १९९९ देखि २०२३ सम्म उनले पार्टीको संगठन, सदस्यता, निर्वाचन रणनीति र विशेष गरी आर्थिक प्रशासनको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनी पार्टीका निर्वाचित नेता नभए पनि संगठनभित्र अत्यन्तै शक्तिशाली व्यक्ति थिए। पार्टीको दैनिक सञ्चालनदेखि ठूला आर्थिक निर्णयसम्म उनको ठूलो प्रभाव हुन्थ्यो । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनका पति भएकाले पनि राजनीतिक वृत्तमा उनको पहुँच र प्रभाव अझ बढी थियो ।
यो विवाद सन् २०२१ मा सुरु भयो। SNP ले स्कटल्याण्डको स्वतन्त्रताका लागि दोस्रो जनमतसंग्रह चलाउने उद्देश्यले समर्थकहरूबाट लाखौँ पाउण्ड चन्दा संकलन गरेको थियो । समर्थकहरूलाई यो पैसा केवल स्वतन्त्रता अभियानका लागि मात्र प्रयोग गरिने विश्वास दिलाइएको थियो। तर केही समयपछि पार्टीको खातामा भएको रकम र सार्वजनिक रूपमा घोषणा गरिएको रकमबीच ठूलो अन्तर देखिएपछि शंका उत्पन्न भयो। यसपछि स्कटिश प्रहरीले ‘अपरेशन ब्रान्चफर्म’ (Operation Branchform) नामक विशेष अनुसन्धान सुरु गर्यो।
अनुसन्धानका क्रममा पार्टीको आर्थिक व्यवस्थापनमा गम्भीर अनियमितता देखिएपछि प्रहरीले अप्रिल २०२३ मा पिटर मुरेललाई पक्राउ गर्यो। उनको निवास र पार्टी कार्यालयमा व्यापक खानतलासी गरियो। यो घटनाले स्कटिश राजनीतिमा ठूलो हलचल मच्चायो। यस क्रममा पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइए पनि पछि उनीविरुद्ध पर्याप्त प्रमाण नभएपछि उनलाई कुनै आरोप नलगाउने निर्णय गरियो।
अन्ततः अप्रिल २०२४ मा मुरेलविरुद्ध औपचारिक रूपमा हिनामिनाको अभियोग दर्ता गरियो। अभियोजन पक्षका अनुसार उनले समर्थकहरूले दिएको चन्दाको ठूलो हिस्सा व्यक्तिगत विलासिताका लागि प्रयोग गरेका थिए। अदालतमा पेश भएका प्रमाणअनुसार उनले पार्टीको कोषबाट करिब £४००,३१०.६५ निकालेर आफ्नो विलासी जीवनशैलीमा खर्च गरेका थिए।
विवरणअनुसार उनले पार्टीको पैसाबाट £१२४,५५० मूल्यको लक्जरी मोटरहोम, जगुआर इलेक्ट्रिक SUV गाडी , महँगा घडीहरू, ह्यारोड्सका सामानहरू, महँगा कफी मेसिन, आइप्याड र घर सजावटका विभिन्न सामग्रीहरू खरिद गरेका थिए। यी सबै खर्च पार्टीको आधिकारिक कामका लागि नभई व्यक्तिगत प्रयोजनका लागि गरिएको अदालतले ठहर गर्यो।
यति मात्र होइन, उनले यो अनियमितता लुकाउन निकै चतुर चालहरू पनि चलेका थिए। उनले नक्कली बिलहरू बनाउने, झुटा लेखा विवरण राख्ने र पार्टीको कार्ड प्रयोग गरेर गरिएका व्यक्तिगत खर्चहरूलाई वैध पार्टी खर्चको रूपमा देखाउने प्रयास गरेका थिए। न्यायाधीशले यसलाई साधारण गल्ती नभई “पूर्वयोजनासहित गरिएको बेइमानी” (calculated dishonesty) भनेर कडा टिप्पणी गरे।
लामो कानुनी प्रक्रियापछि २५ मे २०२६ मा पिटर मुरेलले अदालतमा आफूले SNP को कोषबाट ४ लाख पाउण्डभन्दा बढी रकम हिनामिना गरेको स्वीकार गरे। यसपछि २३ जुन २०२६ मा एडिनबर्गको उच्च अदालतले उनलाई ५ वर्ष ३ महिनाको जेल सजाय सुनायो। न्यायाधीशले फैसला सुनाउँदै उनले पार्टीका समर्थक र दाताहरूको विश्वासमा गम्भीर आघात पुर्याएको र यस्तो कार्यले लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास घटाएको उल्लेख गरे।
कानुनी विश्लेषकहरूका अनुसार यदि उनले अपराध स्वीकार नगरी मुद्दा लडेका भए सजाय अझै कडा हुन सक्थ्यो। स्कटल्याण्डको कानूनअनुसार सुरुमै अपराध स्वीकार गर्नेलाई केही सहुलियत दिइने हुँदा पनि पाँच वर्षभन्दा बढीको सजाय पाउनु उनको अपराधको गम्भीरतालाई नै दर्शाउँछ।
यो काण्डले उनको व्यक्तिगत जीवनमा पनि ठूलो असर पार्यो। मार्च २०२३ मा नै मुरेल र स्टर्जनले आफूहरू अलग भएको सार्वजनिक गरेका थिए। स्टर्जनले पछि आफूलाई आफ्नै पतिबाट धोका मिलेको महसुस भएको र आर्थिक अनियमितताको बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी थिइन्।
यस घटनाले स्कटिश नेशनल पार्टी (SNP) को प्रतिष्ठामा गहिरो चोट पुर्याएको छ। स्वतन्त्रताको अभियान नेतृत्व गर्ने पार्टी नै आर्थिक पारदर्शितामा असफल देखिनुले यसलाई पार्टीको इतिहासकै सबैभन्दा ठूलो नैतिक संकटका रूपमा हेरिएको छ। अहिले नयाँ नेतृत्वले पार्टीको वित्तीय प्रणाली सुधार्ने र दाताहरूको विश्वास पुनः कमाउने प्रयास गरिरहेको छ।
पिटर मुरेलको यो घटना बेलायतको इतिहासमा पहिलो आर्थिक घोटाला भने होइन, तर यसले फेरि एक पटक बेलायतको कानूनको नजरमा राजनीतिक पद वा शक्तिले कसैलाई पनि कानूनभन्दा माथि राख्दैन भन्ने अर्को बलियो सन्देश दिएको छ।
सन् २००९ मा सार्वजनिक भएको युके संसदीय खर्च घोटाला (UK Parliamentary Expenses Scandal) बेलायती लोकतन्त्रको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक,आर्थिक भ्रष्टाचारमध्ये एक मानिन्छ। अनुसन्धानबाट विभिन्न राजनीतिक दलका सयौँ सांसदहरूले नियम मिचेर दोस्रो घरको खर्च, घर मर्मत, फर्निचर, बगैँचा, मोर्टगेज र निजी सामानको नाममा सार्वजनिक कोषबाट रकम दाबी गरेका तथ्य खुलासा भयो ।
यस घटनापछि करिब ३९० भन्दा बढी सांसद र पूर्वसांसदहरूलाई लाखौँ पाउण्ड फिर्ता गर्न बाध्य पारियो। यसको असर यति गहिरो थियो कि धेरै मन्त्री र सांसदहरूले राजीनामा दिनुपर्यो, कतिपयले आगामी चुनाव नलड्ने घोषणा गरे भने केही राजनीतिज्ञहरू जेलसमेत पुगे। यस घटनापछि सांसदहरूको खर्चको निगरानी गर्न ‘इन्डिपेन्डेन्ट पार्लियामेन्टरी स्ट्यान्डर्ड्स अथोरिटी’ (IPSA) को स्थापना गरियो र खर्च सम्बन्धी नियमहरूलाई निकै कडा बनाइयो।
यस घोटालामा संलग्न रहेर दोषी ठहर भएका प्रमुख व्यक्तिहरूमध्ये पूर्व लेबर सांसद डेभिड चायटरलाई झुटो खर्च दाबी गरेको अभियोगमा १८ महिना जेल सजाय भयो। त्यस्तै, जिम डिभाइनलाई १६ महिना, एरिक इल्सलीलाई १२ महिना र डेनिस म्याकस्हीनलाई नक्कली बिल पेश गरी सार्वजनिक पैसा दुरुपयोग गरेको अभियोगमा ६ महिना जेल सजाय सुनाइयो। यी फैसलाहरूले सांसदहरू पनि सार्वजनिक पैसाको दुरुपयोग गरेमा कानूनको कठघरामा उभिनुपर्छ र जेल जानुपर्छ भन्ने स्पष्ट सन्देश दियो ।
कन्जरभेटिभ पार्टीका प्रभावशाली नेता तथा चर्चित लेखक जेफ्री आर्चर पनि अदालतमा झुटो बयान दिएको आरोपमा दोषी ठहर भएका थिए। सन् २००१ मा उनलाई चार वर्षको जेल सजाय सुनाइयो, जसमा उनले करिब दुई वर्ष जेल जीवन बिताए। लन्डनको मेयर बन्ने तयारी गरिरहेका बेला यो घटनाले उनको राजनीतिक करियरलाई लगभग समाप्त तुल्याइदिएको थियो।त्यस्तै, युरोपेली संसदका पूर्व सदस्य एशले मोटेलाई पनि झुटो खर्च दाबी, कर सम्बन्धी अनियमितता र आर्थिक अपराधका कारण पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
ताजा अपडेट
पिटर मुरेलको पतन
२१ असार २०८३
