लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

जस नेपाल

१४ साउन २०८३

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेका छन् ।

मन्त्रिस्तरीय निर्णय गर्दै बिहीबार उनले गठन गरेको वार्ता समितिका सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन् । समितिको पहिलो बैठक बिहीबार नै अर्थ मन्त्रालयमा बस्दै छ ।

पीडितसँग आजै (बिहीबार) वार्ता गर्न समितिलाई अर्थमन्त्री वाग्लेले निर्देशन दिएका छन् । लघुवित्त पीडित गत साता विभिन्न माग राखेर काठमाडौँ आएका छन् ।

पीडितले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, लिलामी वा मिनाहा प्रक्रियामा गुमाएका जग्गा फिर्ता गर्नलगायतका माग राखेका छन् ।