युवालाई खोजिरहेको गाउँ

मीना अर्याल

१६ साउन २०८३

युवालाई खोजिरहेको गाउँ
नेपाल भौगोलिकरूपमा हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ। नेपालको अनुपम भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यताले सबैको ध्यान केन्द्रित नगर्ने कुरै भएन । प्रचुर प्राकृतिक स्रोत र साधनले  विश्वको दोस्रो  तथा दक्षिण एसियाको पहिलो धनी राष्ट्र हो।
सन् १९५० मा स्विट्जरल्याण्डका भूगर्भविद् (Geologist) टोनी हागन (Toni Hagen) ले नेपालका विभिन्न भागहरूमा पुगेर भौगोलिक अध्ययन गरे। त्यस बखत नेपाललाई उनले “Nepal is really a Paradise on earth” (नेपाल वास्तवमै धर्तीको स्वर्ग हो) भनी व्याख्या गरे । यसले प्रकाश पार्दछ कि नेपाल संसारका सुन्दर देशहरू मध्ये एक हो। नेपालमा रहेका विशाल प्राकृतिक स्रोत-साधनहरू विकासका आधार र नेपालका अमूल्य रत्नहरू हुन्।
पछिल्लो समय संघीयता कार्यान्वयन पश्चात् नेपालमा तीन तहको  शासन व्यवस्था लागू भएसँगै नेपालको ग्रामीण विकासले तीव्रतर रूप लिएको पाउनुको साथै अनुभूति पनि गर्न सकिन्छ।
मूलतः भौगोलिक  विकटता र असमानतालाई विकासको औजारले चिर्दै ग्रामीण क्षेत्रमा पूर्वाधार विकासको सघनता बढेको छ।
ग्रामीण भेगका हरेक कुनाकाप्चामा पक्की सडक विस्तार भएको छ। प्रत्येक घरका आँगनमा ‘एक घर एक धारा’ पुगेको छ। हरेक घरको भान्छा-भान्छामा बिजुली बत्ती पुगेको छ।
 संघ,प्रदेश र स्थानीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, लगायतका पूर्वाधार बिकासको लागि विभिन्न Scheme (योजना) र सुविधा तथा अवसर प्रदान गराएका छन्। तर विडम्बना! विकासले  गाउँ चुम्दै गर्दा, विकासले गाउँ सजिदै गर्दा ग्रामीण बस्तीहरु भने  सुनसान मसानघाट जस्तै बन्न पुगेका छन्।
चिल्ला सडक छन् तर हिँड्ने कोही छैन। चराचुरुंगीहरु  झार,लेउ, घासपातले ढाकिएको  पक्कि सडकमा आनन्द मान्दै गाउँलाई प्राण भरिदिने जनशक्ति को प्रतीक्षामा छन् । यदाकदा मोटर गुड्छन तर ती स्थायी छैनन्। आँगनका धाराहरु  हरियो लेउले  ढाकिएका छन्।  बिजुली बत्तीका मिटरबक्स माकुराको जालोले सिंगारिएका  छन्। पहाडका पुर्खाहरुले जीवनभर पसिना बगाएर निर्माण गरेका  घरहरू खाली छन्, जीर्ण बनेर ढल्दै छन्।
एउटा भौतिक रुपमा बनेको ढुंगाको खम्बा मात्रै ढल्दै छैनन ति घरहरुसँगै हाम्रा वीर पुर्खाको वीरता, पौराख,  पसिना र सिंगो इतिहासको अस्तित्व ढल्दै छ । त्यस इतिहासलाई तौलने, मूल्याङ्कन गर्ने, सुन्ने,टेको लगाउने परिश्रमी हातहरु कि  विदेशी भूमिमा उनीहरुकै मुलुकको हीतकाका निम्ति इतिहास रच्दै छन्  वा  शहरको मिठो संगीतको धुनमा ताली पिट्दै  छन् तर बाको पसिना पुस्तान्तरण गर्न लागि हुनुपर्ने पौरखी हातहरू  सहर केन्द्रित भए गाउँलाई भुसुक्कै बिर्सिए गाउँमा मलामी र बिरामी पर्दा लैजाने मान्छे भेट्न गाह्रो छ। मलामी समेत किन्नुपर्ने दुखद बाध्यता छ| विकासको मिठो धुन ग्रामीण भेगमा बज्दै गर्दा गाउँ भने जनशक्ति बिहिन भई शून्यतामा हराएको छ, आफ्नो अस्तित्व रक्षाको निम्ति हात फैलाउँदै छ ।
बाह्रौ रास्ट्रीय  जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ।जसमध्ये नेपालको कुल भूभाग (१,४७,१८१ वर्ग कि.मि.) मध्ये हिमालमा २१.५ प्रतिशत क्षेत्रफलमा ६.०८ प्रतिशत जनसंख्याको बसोबास रहेको छ। पहाडको ६१.७ प्रतिशत क्षेत्रफलमा ४०.३१ प्रतिशत जनसंख्याको बसोबास रहेको छ । तराईको कुल भूभाग १७ प्रतिशत रहेकोमा जहाँ जनसंख्याको चाप ५३.६१ प्रतिशत छ ।
त्यसैगरी राष्ट्रिय जनगणना २०७८  अनुसार नै  गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ३३.०३ प्रतिशत  रहेको छ भने नगरपालिकामा बसोबास गर्ने जनसंख्या ६६.९७ प्रतिशत छ।
नेपालमा यसरी जनसंख्या र विकासको असन्तुलित वितरण हुँदै जानुमा विभिन्न पक्षहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष  भूमिका  देखिन्छ। यहाँको असमान भौगोलिक विविधताले यहाँको आर्थिक, सामाजिक ,साँस्कृतिक एवं विकासात्मक पक्षलाई गहिरो रूपमा प्रभाव पारेको छ। नेपालको सबै क्षेत्रमा ( ग्रामिण त्ताथा शहरी ) पूर्वाधार विकास समान रूपमा हुनुपर्नेमा असमानताको खाडल रहेको छ, जसमा  विभिन्न राजनीतिक अवरोध,आर्थिक अवरोध, भौगोलिक अवरोधलगायतका विविध पक्षहरू जिम्मेवार देखिन्छन् ।
राजनीतिक कारण  :  केन्द्रीकृत राजनीतिक प्रणालीको विरासत: नेपाल लामो समयसम्म एकात्मक र केन्द्रीकृत शासन प्रणालीबाट सञ्चालित भयो। नीति निर्माण, बजेट विनियोजन र शक्तिको केन्द्र काठमाडौं र ठूला शहरहरूमा मात्र सीमित रह्यो। संघीयता आए पनि प्रशासनिक र राजनीतिक संरचना  अझै पनि पूर्ण रूपमा विकेन्द्रित हुन सकेको छैन।
कृषिको उपेक्षा/नीतिगत कमजोरी :  नेपाल कृषि प्रधान मुलुक हो। कुल जनसङ्ख्याको ६२ प्रतिशत कृषि पेसामा आवद्ध छन् तर नेपालका राजनीतिक नेतृत्व जुन विगतदेखि हालसम्म सम्हाल्दै आएका  नेतृत्वकर्ता छन्, कुनै नेतृत्वले पनि नेपालको  कृषि प्रधानता, भौगोलिक विभाजन अनुसारका कृषि प्रणालीको आधुनिकरण गर्ने ठोस नीति र योजना ल्याई कार्यान्वयन गर्न सकेको देखिँदैन।
 शिक्षा र स्वास्थ्यमा राजनीतिकरण र व्यापारीकरण : ग्रामीण क्षेत्रमा विद्यालय र स्वास्थ्य चौकीका भवनहरू भौगोलिक रूपमा खुलेका त छन् तर ती भौतिक पूर्वाधारले मानवीय आवश्यकता अनि सक्षमता अनुकूलका विशेषज्ञ सेवा उपलब्ध गराउन सकेका छैनन्।
शिक्षाको स्तर सहरको तुलनामा कमजोर छ। दक्ष र सिपयुक्त जनशक्ति सहरकेन्द्रित वा विदेश पलायन छ। ग्रामीण क्षेत्रका विद्यालयहरू सहरी क्षेत्रका विद्यालयहरूसँगको प्रतिस्पर्धामा कमजोर देखिएका छन्।
अस्पतालहरूमा सामान्य ओपीडी सेवा पनि उपलब्ध हुन नसक्नु र विशेषज्ञ चिकित्सकलाई गाउँमा आकर्षित गरी टिकाइराख्न आवश्यक सेवा-सुविधाको अभाव हुनु अर्को समस्या हो। दक्ष र विशेषज्ञ चिकित्सक गाउँमा बस्न मान्दैनन्।
यी इत्यादि कारणले आफ्ना बालबालिकालाई राम्रो शिक्षा र परिवारलाई राम्रो उपचार दिनका लागि मानिसहरू बाध्यतात्मक रूपमा सुरक्षित र सुविधायुक्त सहर रोज्न गर्छन्| राजनीतिक पहुँच र शक्ति शहरमै केन्द्रित भएको हुनाले मानिसहरू आफ्नो काम र अवसरका लागि शहर पस्न बाध्य छन्।
स्थानीय स्तरको प्राथमिकतामा अवरोध :  ग्रामीण क्षेत्रमा सडक यातायात त पुग्यो तर त्यो विकास गाउँको उत्पादन शहर पठाउने र उत्पादन गर्ने माध्यम बन्न सकेको छैन। स्थानीय तहमा उद्यमशीलता विकास गर्ने राजनीतिक इच्छाशक्तिको कमी देखियो।
सामाजिक कारणहरू 
• समाज एउटा विकसित र आदर्शसहितको  शक्त्तीशाली पूर्ण संस्था  हो जहाँ हरेक व्यक्तिको जीवन एक अर्काको जीवन संग प्रत्यक्ष रुपमा जोडिएको हुन्छा | एक परिवारको रहनसहनको देखासिकी छिटै अर्को परिवारले अनुसरण गर्नु सामान्यनै नै हो| समाजमा एक व्यक्तिको जीवनले समग्र समुदायको जीवन प्रभावित हुन्छ। यसका यावत पक्षहरू जस्तै:
o सामाजिक प्रतिष्ठा र चेतनाको स्तर
o जातीय तथा परम्परागत विभेद
o आधुनिक जीवनशैलीको खोजी
o स्वतन्त्रता र सामाजिक समताको खोजी
आर्थिक कारणहरू
कृषि क्षेत्रको अनुत्पादकत्व: गाउँको मुख्य पेशा कृषि हो, तर नेपालमा कृषि अझै पनि जीवन निर्वाहमुखी मात्र छ। समयमा मल, बीउ नपाउनु, सिँचाइको अभाव हुनु, वन्यजन्तु (बाँदर र बँदेल आदि) को आतङ्क मुख्य कारण हो।खेती गरेर फाइदा नहुने भएपछि मानिसहरूले गाउँ छाड्न बाध्य छन्।
रोजगारीको अभाव: ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगधन्दा वा व्यापार व्यवसायको अवसर एकदमै न्यून छ। बजारको  पहुँच र विस्तार कम छ। आर्थिक उपार्जनका लागि कृषिबाहेक अन्य विकल्प नदेख्दा युवा पुस्ता सहरका कलकारखाना, होटेल वा सेवा क्षेत्रतिर आकर्षित भइरहेका छन्।
विप्रेषणको प्रभाव: वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको पैसाको ठूलो हिस्सा उत्पादनमूलक क्षेत्रमा जान सकेको छैन। उक्त पैसाले गाउँमा रहेका परिवारका सदस्यहरू उपभोग्य वस्तु र आधुनिक सुविधा खोज्दै नजिकैका सहर वा तराईका सुगम ठाउँमा बसाइँ सर्ने प्रवृत्ति बढेको छ।
अन्य कारणहरू
सडक विकासको नकारात्मक प्रभाव: गाउँमा पुगेका सडकहरूले सहरका उत्पादन गाउँ पुर्‍याउने र गाउँका मानिसहरूलाई सहजै सहर ओसार्ने काम गरे। तर, गाउँको कृषि उपजलाई सहरका बजारसम्म पुर्‍याउने व्यवस्थित संयन्त्र (Cold store वा Market linkage) बन्न सकेन। फलस्वरूप सडकले बसाइँसराइलाई झनै तीव्र बनायो।
मनोरञ्जन व आधुनिकताको आकर्षण: युवा पुस्तामा सहरी चमकधमक, सिनेमा हल, सपिङ मल, इन्टरनेटको सहज पहुँच र नाइट लाइफ (Night life) जस्ता आधुनिक मनोरञ्जनका साधनहरूप्रति तीव्र आकर्षण छ, जुन गाउँमा उपलब्ध हुँदैन।
जलवायु परिवर्तन र प्राकृतिक विपत्ति: जलवायु परिवर्तनका कारण पानीका मुहानहरू सुक्नु, खडेरी पर्नु वा पहिरो र बाढीजस्ता प्राकृतिक विपत्तिहरूका कारण गाउँ असुरक्षित हुन पुग्दा मानिसहरू सुरक्षित बासस्थानको खोजीमा सहरतर्फ धकेलिरहेका छन्।
अबको बाटो के ?
बसाइँसराइ नियन्त्रण गर्न सकिने विषय होइन, यो एउटा व्यक्तिको व्यक्तिगत चाहना मात्रै नभएर प्रवृति बनेको छ ।
अनियन्त्रित बसाइँसराइलाई रोकी जनसाङ्ख्यिक वितरणलाई समान बनाउन राज्यले रणनीति  कदमहरू चालिनुपर्ने आवश्यकता छ। यसका लागि व्यक्तिको चाहना र राज्यको सामर्थ्यलाई योजनाबद्ध रूपमा मिलाउनु आवश्यक छ।
यसका लागि –
• राज्यले नागरिकका साना-साना परिवर्तित माग र आवश्यकताको सम्बोधन गर्ने,
• ग्रामीण क्षेत्रमा बस्न प्रोत्साहन गर्नका लागि आकर्षक रोजगारीका अवसर सिर्जना गर्ने,
• राज्य कोषको उपभोग गरी लाभ लिएका तथा स्थायी कर्मचारी लगायतका वर्गहरूलाई निश्चित समयका लागि अनिवार्य गाउँमा उत्पादनमूलक काम गर्नुपर्ने व्यवस्था गर्ने।
• गाउँमा बसेर खेतीपाती गर्ने किसानहरूलाई निश्चित तलब/सुविधाको व्यवस्था गर्ने।
• गाउँमा उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी रोजगारीका अवसर सिर्जना गर्ने।
• युवाहरूलाई गाउँमै बस्न प्रेरित गर्ने, खेलकुद तथा मनोरञ्जनका सुविधाहरू विस्तार गर्ने।
• ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक आदि) गरी गाउँको बसाइलाई आकर्षित बनाउने।
• दक्षता/सीप विकास सम्बन्धी तालिमहरू सञ्चालन गरी स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने।
• वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको ज्ञान, सीप, पूँजीलाई गाउँमै उपयोग गर्ने वातावरण बनाउने।
• युवा पुस्तालाई सहर/विदेश पलायन हुनबाट रोक्न नयाँ तथा आधुनिक व्यावसायिक कृषि/प्रविधिमा आधारित उद्यमशीलतामा आकर्षित गर्ने।
• ग्रामीण पर्यटन (होमस्टे, पदयात्रा आदि) को प्रवर्द्धन गर्ने।
यसरी संघ,प्रदेश र स्थानीय तीनै तहको सरकारले रणनीतिक रुपमा  ग्रामीण क्षेत्रमा उपयुक्त पूर्वाधारको विकासका  क्षेत्रहरु  शिक्षा ,स्वास्थ्य,यातायात, जल विद्युत, पर्यटन, रोजगारी लगायतका सम्पूर्ण क्षेत्रहरुमा ग्रामिण क्षेत्रलाई प्राथमिकता दिन आवश्यक छ ।
गाउँ र शहरको सन्तुलित विकास हुने गरी  अवसर र सुविधाहरूको विस्तार गर्न सकेमा युवा पलायन रोकिने र  ग्रामीण विकासमा ठूलो योगदान पुग्नेछ।
(मीना अर्याल स्वास्थ्य वीमा कार्यालयमा कार्यरत हुनुहुन्छ)

सम्बन्धित खवर

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...