काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलका एक अमिनलाई जग्गा हालसाविक र जग्गाधनी पूर्जा बनाइदिने भनी सेवाग्राहीसँग एक लाख साठी हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार नापी कार्यालय चावहिलको २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीले आफ्नो पद र ओहदासम्बन्धी कामको सिलसिलामा जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने सहजीकरण गरेबापत सेवाग्राहीसँग एक लाख साठी हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको हो। उजुरीका आधारमा अख्तियारको टोलीले निजलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएको छ । त्यसैले बिगो एक लाख साठी हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३(१)(ग) बमोजिम कैद र बिगो बराबर जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति –


