गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः पारित गरेको छ ।
यसअघि गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी गत शुक्रबार सन्देशसहित पुर्नविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए ।
शुक्रबारको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी, फणिन्द्र देवकोटालगायत उक्त प्रस्तावमाथिको छलफलमा सहभागी थिए । प्रदेशसभा सदस्यहरुले प्रदेशसभाले आफ्नो स्वतन्त्र विधायकी अधिकार प्रयोग गरेर गरेर विधेयक निर्माण गरेको बताएका थिए ।
पुरानो सङ्घीय कानूनको व्यवस्था देखाएर विसं २०७२ को संविधान अनुसार गठित प्रदेश सरकारले बनाएका कानून रोक्न नहुनेमा उनीहरुको जोड थियो । मौजुदा विधेयकमाथिको छलफलपछि मन्त्री रिमालले उक्त विधेयकलाई प्रस्तुत रुपमै पारित गरियोस् भनी प्रस्ताव पेश गरेका हुन् ।
सभामुख कृष्णप्रसाद धितालले बैठकमा निर्णयर्था पेश भएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गरे । उक्त विधेयकलाई प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।
ताजा अपडेट
शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला
१५ साउन २०८३
