मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जस नेपाल

९ साउन २०८३

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा १५ वटा मुद्दा फैसला गरेको छ । स्थापनाकालदेखि न्यून जनशक्ति, भौतिक संरचनाको अभावलगायत समस्या झेल्दै आएको आयोगले आव २०८२र८३ मा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी ५१ उजुरी दर्ता भएकामा १५ वटाको फैसला गरेको हो ।

आयोगका सूचना अधिकारी प्रसन्नराज कर्णका अनुसार दर्ता भएका उजुरीहरूको अध्ययन र छानबिन गरी १५ वटाको फैसला गरेर मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ पठाइएको छ । अन्य उजुरीउपर छानबिन भइरहेको उनले बताए ।

आयोगमा गत आव २०८१/८२ मा भ्रष्टाचार र अनियमिततासम्बन्धी ५६ उजुरी दर्ता भएकामा १० वटा फैसला गरेर मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ पठाएको थियो ।

आयोगमा सबैभन्दा बढी स्थानीय तह र प्रदेश सरकारका निकायहरूमा भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन, प्रशासनिक अनियमिततासम्बन्धी उजुरी आउने गरेका सूचना अधिकारी कर्णको भनाइ छ । उहाँका अनुसार अनलाइनमार्फत पनि आयोगमा उजुरी दर्ता हुने गरेका छन् ।

२०७८ भदौमा स्थापना भएको सो आयोगमा बर्सेनि अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरी बढ्दै गएपनि कार्यालयका लागि भौतिक संरचनाको अभाव, सुरक्षाकर्मीसहितको जनशक्ति आभावलगायत कारणले उजुरीको अध्ययन र छानबिन गर्न समस्या भइरहेको आयोगका अध्यक्ष रामसहायराय यादवले जानकारी दिए ।

प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थाहरूमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको उक्त आयोगले लामो समयसम्म नियमावली र कर्मचारी नपाउँदा परेको उजुरीमाथि छानबिन गरी फैसला गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

प्रदेशका धनुषा, महोत्तरी, रौतहटलगायत जिल्लामा स्थानीय तहबाट सञ्चालित विकासीय योजनामा भ्रष्टाचार हुने गरेको तथा नियुक्ति प्रक्रियामा अनियमितता भएको विषयमा बढी उजुरी दर्ता हुने गरेको अध्यक्ष यादवले जानकारी दिए ।

“आयोगमा ३३ जना कर्मचारीको दरबन्दी छ, तर अहिले कार्यालय प्रमुखसहित १५ कर्मचारी कार्यरत छन्”, आयोगका अध्यक्ष यादवले भने, “एकातिर उजुरी बढी आइरहेको छ भने अर्कोतिर कर्मचारी अभावका कारण दर्ता भएका उजुरी अध्ययन गर्न समस्या भइरहेको छ ।”

नियमावली र कर्मचारी पठाउन पटकपटक प्रदेश सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ । “मुद्दाको अनुसन्धान गर्न कानुनका कर्मचारी चाहिन्छ, छापामारी गर्न प्रहरी चाहिन्छ”, अध्यक्ष यादवले भने, “अहिले हामीसँग कानुनमा विज्ञता हासिल गरेका कर्मचारी र प्रहरीको अभाव छ । त्यसैले काम गर्न सकस भइरहेको छ ।”

प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई सुनिश्चित गरी आर्थिक सुशासन कायम गर्ने उद्देश्यले गठित उक्त आयोगको अध्यक्षमा यादव, सदस्यमा सुजाता विमल र सञ्जीव झा रहेका छन् ।

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...