काठमाडौँ । गुल्मीकी सम्झना क्षेत्रीको आत्महत्या मुद्दामा सर्वोच्च अदालतका अनुसार पतिले दिनहुँ रक्सी-गाँजा सेवन गरी कुटपिट र मानसिक यातना दिएको भन्ने आरोप मात्रले मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत ‘आत्महत्या दुरुत्साहन’ ठहर हुँदैन । निकटवर्ती पूर्व-कार्य (proximate prior act), स्पष्ट आपराधिक मनसाय (mens rea) र मृत्युबाहेक अर्को विकल्प नरहने गरी सक्रिय उक्साहट अनिवार्य छ। जिल्ला अदालतले दोषी ठहर्याएको फैसला उल्टी गरी उच्च अदालतले दिएको सफाइलाई सर्वोच्चले सदर गरेको छ ।
सम्झना क्षेत्री र विक्सन भन्ने विवेक महतबीच २०७९ असारमा विवाह भएको थियो । दुवैको दोस्रो विवाह थियो । उनीहरू सम्झनाको माइती घर गुल्मीदरबार-१, बलिथुम टारीमा बस्दै आएका थिए । २०७९ मंसिर ४ गते बिहान करिब १० बजे सम्झनाले घरको माथिल्लो तलाको धुरी बलोमा पासो लगाई झुन्डिएर आत्महत्या गरिन् । घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद भयो । जसमा पतिले सधैं दोषी ठहर्याउने, टर्चर दिने र अब सँगै बस्न नसक्ने व्यहोरा उल्लेख थियो ।
त्यसपछि सम्झनाका भाइ रामु क्षेत्रीले जाहेरीमा उल्लेख गरेअनुसार प्रतिवादीले दैनिक मादक पदार्थ र गाँजा सेवन गरी शारीरिक-मानसिक यातना दिई दिदीलाई आत्महत्या गर्न बाध्य बनाएका थिए ।
सो सम्बन्धमा जिल्ला अदालतले दफा १८५(१) को कसुर ठहर्याई ६ महिना कैद, ५ हजार जरिवाना र २५ हजार क्षतिपूर्ति तोक्यो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रमाण अपर्याप्त ठहर्याई सफाइ दियो ।
त्यसपश्चात मुद्दा सर्वोच्च अदालतमा पुग्यो। सर्वोच्च अदालतले गुल्मी जिल्ला अदालतको २०८० जेष्ठ २६ को फैसला उल्टी गरी प्रतिवादी विवेक महतले अभियोग दावीको कसूरबाट सफाई पाउने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट २०८१ असार ०५ मा भएको फैसलालाई सदर गर्दै वादीको पुनरावेदन जिकिर पुग्न नसकेको ठहर गर्यो ।
यस सम्बन्धमा सर्वोच्चले कस्ता कुरालाई आत्महत्या दुरुत्साहनको आधार मान्ने भनेर केहि महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरेको छ :
१. अभियुक्तले पीडितलाई मर्नका लागि उक्साउने, धम्की दिने, बाध्य पार्ने, मृतकलाई आत्महत्या गर्न सहज वातावरण वा परिस्थिति सृजना गर्ने कार्य (Actus Reus) गरेको देखिन्छ वा देखिदैन ।
२. अभियुक्तको कार्य वा आचरणबाट पीडितलाई आत्महत्या गर्न बाध्य बनाउने वा परिस्थिति सृजना गर्ने स्पष्ट मनसाय (Mens Rea) राखेको देखिन्छ वा देखिदैन ।
३. मृतकको मानसिक अवस्था, अभियुक्त र मृतक बीचको सम्बन्धको प्रकृति तथा आत्महत्याका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रोत्साहन गरिएको प्रमाण जस्ता विभिन्न पक्षहरूलाई विचार गर्नु पर्ने हुँदा अभियुक्तको कार्य र आत्महत्याको घटनाबीच स्पष्ट सम्बन्ध स्थापित छ वा छैन ।
४. मृतकले आत्महत्या गरेको कुराका सम्बन्धमा वारदातका तत्काल अघि प्रतिवादीले मृतकलाई आत्महत्याको परिस्थिति सृजना गर्ने कार्य भएको वा नभएको अर्थात Proximate-Trigger Doctrine वा निकटवर्ती पूर्व-कार्य (proximate prior act) को अवस्था छ वा छैन ।
५. मृतकलाई आत्महत्या गर्ने मनसायका (mens rea) साथ उक्साउने कार्य गरी सो कार्यको परिणाम स्वरुप मृतकलाई आत्महत्या गर्नुबाहेक अन्य कुनै विकल्प नरही सो उक्साहट र आत्महत्याको कार्यबीच निकटतम सम्बन्ध (close proximity) रहेको अवस्था छ वा छैन ।
६. शंका तथा मृतक र प्रतिवादीबीच रहेका कतिपय असहमति वा समस्याग्रस्त सम्बन्धका परिस्थितिका आधारमा मात्र आत्महत्याको दुरुत्साहन ठहर गर्न पर्याप्त नहुने भएकाले प्रत्यक्ष, भौतिक, लिखित, विद्युतीय, चिकित्सा तथा फरेन्सिक प्रमाण (Medical & Forensic Evidence) र परिस्थितिजन्य प्रमाणहरुको मालाकार कडीबाट दुरुत्साहनको कसूर पुष्टि हुने अवस्था छ वा छैन ।
७. मिसिल संलग्न प्रमाणबाट मृतकलाई प्रतिवादीले आत्महत्या गर्न बाध्य तुल्याउने सक्रिय र प्रत्यक्ष उक्साहट (Instigation) गरी मृत्यु भन्दा अर्को कुनै विकल्प नभएको अवस्था सिर्जना गराइएको पुष्टि/प्रमाणित हुन्छ वा हुँदैन र अभियोजन पक्षले शंकाका आधारमा नभई बस्तुनिष्ठ र निश्चयात्मक प्रमाणबाट अभियोग दावी पुष्टि गराउन सकेको छ वा छैन ।
हेर्नुहोस् फैसलाको पूर्णपाठ –

